लेखकीय सत्ता स्थापना गर्ने प्रवृत्त नाम हो, विश्वेश्वरप्रसाद कोइराला । राजनीतिमा विपी कोइरालाको छवि प्रजातान्त्रिक समाजवादको प्रवर्तक हो । लेखन र राजनीतिलाई एकसाथ पर्गेल्ने सामर्थ्य नै विपी विविधता हो । विपी बिचार हो, विपी चिन्तन र चेतनाको पुञ्ज हो । नकि, कसैको भजन गाउने यन्त्रमानव । यी विपी कोइरालाका कर्मका कुरा हुन् । हरेक मानिसको जन्म, नाम र कर्म आपसमा जोडिएर आउने विषय हुन् । उसोभए उहाँको नाम कसरी विश्वेश्वर रह्यो ।
यो आलेखमा उहाँको नाम कसरी विश्वेश्वर रह्यो ज्योतिषशास्त्रको आधारमा केलाउने सामान्य प्रयास गरिएको छ । विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं.१९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको हो। एक शब्दमा भन्ने हो भने, वनारसमा जन्मिएकोले उहाँको नाम विश्वेश्वर रह्यो । यो पूर्ण तर्क होइन । यसलाई सिद्द गर्ने केही आधार छन् । ज्योतिषशास्त्रीय मत अनुसार ग्रहनक्षत्रहरूको गतिअनुसार उहाँको जन्म २७ नक्षत्रहरुमध्ये पहिलो नक्षत्र अश्विनी (चू, चे, चो, ला)को पहिलो पाउमा भएको मानिन्छ । जसअनुसार उहाँको नाम ‘चू’ अक्षरबाट सुरू हुने मध्ये एक चूडामणि राखिएको थियो । वनारसमा शिवको प्रसिद्ध मध्येको एक ( संसारको प्रसिद्ध ) विश्वनाथको मन्दिर छ ।
विश्वनाथको मन्दिर नजिक वनारसमा जन्मिएका बालक विश्वनाथ वा विश्वनाथका प्रसाद हुन् भन्ने ठानेर उहाँको नाम विश्वेश्वर राखिएको हो भन्ने मत छ । विश्वेश्वर स्वयं विश्वनाथ हुन् । विश्व जोडिएकैले उहाँ यही नामले (विश्वेश्वरप्रसाद कोइराला ) विश्वमै प्रसिद्ध हुनुभयो । पहिलो नक्षत्रमा जन्मिएको मानिस विश्वमा प्रसिद्ध हुन्छ भन्ने शास्त्रीय मत पनि छ । यद्यपि, यो सर्वस्वीकार्य मत होइन र यसमा मताऐक्यता छैन । नाम जसरी र जे रहेपनि उहाँका अनुयायीले थुप्रै उपमा दिएका छन् र पुकार्छ्न् । त्यही मध्येका हुन् - जननायक र महामानव । जन , जनताको अगुवा वा अग्रणी भएकोले जननायक भन्न सकिन्छ तर महामानव भन्न सकिन्न , मिल्दैन । यसका केही आधार छन्, केही मध्येको एक आधार यहाँ प्रस्तुत गरिएको छ ।
आज अग्रणी समाज सुधारक विपी कोइरालाको ४३ औं स्मृति दिवस । यही सन्दर्भ जोडेर बहस गर्न वाञ्छनीय हुन्छ । आज विपीका हजारौँ अनुयायीले उहाँलाई महामानव भनेर पुकार्छन्, पुकारिन्छ । सामान्य चेतले नै भन्छ - यो सरासर गलत छ । मानव महामानव हुँदैन, महान् पुरुष हुनसक्छ । पुज्यव्यक्ति हुनसक्छ । त्यसैले विपीलाई "सुपरम्यान" बनाउने गल्ती नगरौँ । जर्मन दार्शनिक नित्सेको दर्शन अनुसार विकासात्मक संघर्षका निम्ति उत्सर्जित एक उच्चमानव ( सुपरम्यान ) हुन्छ । त्यसैलाई आधार मान्ने हो भने पनि विपीलाई महामानव भन्न हुन्न, सकिन्न । उत्सर्जितको अर्थ नै त्यागिएको, उत्सर्जन गरिएको हुन्छ । त्यसैले नित्सेको दर्शन विपीलाई सुपरम्यान बनाउनु हुन्न । नेपाली शब्दकोषलाई आधार मान्ने हो भने पनि विपी महान् पुरुष, अवश्य नै पुज्यव्यक्ती हो । वैचारिक मतका आधारमा ठुला मानिस भन्नेमा सहमत हुन सकिन्छ । तर परमात्म र विष्णुका रूपमा लिन हुन्न, स्वीकार्ने गल्ती गर्नु हुन्न ।
विपी सामान्य मानिस हो, उहाँ कर्मले महान् बन्नु भएको हो, महामानव बन्नु भएको होइन । अब पनि विपीलाई महामानव भन्ने चेतसँगै ल्याप्प हुने हो भने त्यो मर्दवाद हो । समर्थन गरेजस्तो गर्ने, यथार्थ कुरा बाहिर नल्याउने, विरोध नगर्ने , अलौकिक भन्ने चेतले विपीलाई महामानव भनिएको हो, यो नगर्नु नै राम्रो । वनारसमा जन्मिएको र विश्वनाथ मन्दिरसँग नामको प्रसंग जोडिएकैले मानवलाई देवत्करण पनि गरिनु हुन्न । राजनीतिसँगै साहित्यको कोणबाट हेर्ने हो भने पनि विपी हरदृष्टिले अग्रणी समाज सुधारक हो । विपीका हरकृतिमा परिवर्तनको चेत छ । अन्तस्करणको चेत प्रत्येक कृतिमा छ । जहाँ मनोविज्ञानको पाटो उत्तिकै सशक्त र बेजोड छ । त्यसकारण पनि विपी अग्रणी सुधारक हो, महामानव होइन ।
विकासात्मक संघर्षका निम्ति उत्सर्जित एक उच्चमानव ( सुपरम्यान ) किमार्थ होइन । विपीलाई महामानव भन्ने गम्भीर भुललाई सच्याऊ ! यो नै विपीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । प्रजातान्त्रिक समाजवादको प्रवर्तक र प्रतिपादकलाई आत्मरतिका खातिर महामानवको पगरी जरुरत हुन्न । उ कर्मले जन्मान्तर जीवित रहन्छ । मुलुकमा प्रजातन्त्रको स्थापनार्थ कठोर संघर्ष गर्ने कोही छ भने विपी कोइराला हुनुहुन्थ्यो । प्रथम निर्वाचित प्रधानमन्त्री बनेर पनि सर्वस्वहरण सहित निर्वासन, वर्षौंसम्मको नजरबन्द र काराबास सहज पचाउनु फराकिलो चेतको उपज हो । विसं २०१५ संसदीय निर्वाचनपछि २०१६ जेठमा प्रधानमन्त्री बन्नु भएको विपी ६८ वर्षमा २०३९ साउन ६ यो धराबाट भौतिक रूपमा विलुप्त हुनुभएको हो । महामानव होइन, अग्रणी समाज सुधारक विपीप्रति श्रद्धासुमन !