झापा, कार्तिक ४ । बैङ्क केवल मुद्रा राख्ने थलो मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हो । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्कको इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ ।
मोरङ पथरी शनिश्चरे १ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले उक्त पुस्तक लेख्नु भएको हो । यस पुस्तककमा नेपालको मुद्रा निष्कासन को इतिहास, राणाकालीन देखि वर्तमानसम्मको बैङ्किङ इतिहास समेटेर तिम्सिनाले ‘नेपालको बैङ्किङ इतिहास’ नामक पुस्तक बजारमा ल्याउनु भएको हो । यो पुस्तकमा नेपालका क र ख श्रेणीका बैङ्कहरुको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसम्मकै १८ जना गभर्नरको फोटो सहितको जीवनी, द्वन्द्वकालमा बैङ्कमा भएको आक्रमण, नेपाली बैङ्क मर्जरको इतिहास, राणाकालमा वेलायतबाट फर्केका नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैङ्क भित्र्याउने डा. प्रकाशचन्द्र लोहनी सहितको इतिहास मिहीन गरि खोजेर पुस्तकमा राखिएको छ ।
नेपाली बैङ्ले पाएको राष्ट्रिय, अन्तर्राष्ट्रिय अवार्डहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागीता, विपत्तमा बैङ्कको सहयोग, बैङ्क तथा वित्तीय संस्था सम्बन्धि ऐन, कानुनहरू, खारेज भएका बैङ्कहरु, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकाल देखिका मुद्रा खोज गरि लेखिएको छ । तत्कालीन कुन कुन बैङ्क कहिले स्थापना भए, समस्या ग्रस्त बैङ्कहरू, भोजपुरको टक्सारको इतिहास, पुर्वमा खुलेका बैङ्कहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागीता, कार्यवाहक गभर्नर डा निलम ढुङ्गाना तिमिल्सिना, बैङ्किङ अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु लगायतका विभिन्न ५१ बटा विषय समेटेर लेखिएको पुस्तक २७२ पेजको छ ।
नेपालमा जेनजी आन्दोलनको समयमा नेपाली बैङ्कमा भएको क्षतिको बिषयमा पनि खोज गरि लेखिएकोछ । झापा दमकको स्रष्टा छापाखानाले छापेको लिला निरौला प्रकाशक रहेको यो पुस्तक तिम्सिनाको १४ ओै पुस्तक हो । लेखक तिम्सिना विगत एक दशकदेखि निरन्तर खोजमुलक पुस्तक लेखन गर्दै आउनु भएको छ । नेपाली बैङ्किङ इतिहास बुझ्न यो पुस्तक सहयोगी बन्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले समेत शुभकामना दिदै वताउनु भएको छ ।
तिम्सिनाका प्रकाशित कृतिहरुमा टेलिफोन डायरी (२०६८), मोरङको सामुदायिक वन एक चिनारी (२०६९), मोरङको क्षेत्र नं २ एक चिनारी (२०७०), पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७), जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७), जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण (२०७८), धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म (२०७८), इतिहासमा पथरी शनिश्चरे (२०७८), मोरङका जनप्रतिनिधि संङगालो (२०७९), माइखोलादेखि पुनर्वाससम्म (२०८०), तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म (२०८०), गुमनाम एक इतिहास बिसे नगर्ची पहिलो संस्करण (२०८१) र गुमनाम एक इतिहास बिसे नगर्ची दोस्रो संस्करण (२०८१) रहेका छन ।
पृथ्वीनारायण शाहको सल्लाहकार विसे नगर्चीको इतिहास गोरखा सम्मनै पुगेर गहन खोज गरी लेखिएको थियोे भने नेपाली भाषी भुटानी शरणार्थीको कथा व्यथा समेटिएको कृति ‘माईखोलादेखि पुनर्वाससम्म’, ‘तराईका आदिवासी धिमाल जातिको इतिहास’, ‘इतिहासमा पथरी शनिश्चरे’ र ‘जेसीज दस्तावेज, विगतदेखि वर्तमानसम्म’ तिम्सिनाका चर्चित पुस्तकहरु हुन ।