धुलाबारी, कार्तिक ७ । अन्तराष्ट्रिय पोलियो दिवसको अवसर पारेर रोटरी क्लव अफ मेचीनगर र रोट्रयाक्ट क्लव अफ मेचीनगरले संयुक्त रूपमा झापाको धुलाबारी चौकमा दीप प्रज्वलन गरेको छ । धुलाबारी चौकमा रहेको ट्राफिक आईल्याण्डमा दीप प्रज्वलन गरी अन्तराष्ट्रिय पोलियो दिवस मनाएको रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष शर्मिला पाठकले जानकारी दिनु भयो ।
`आज हामी विश्व पोलियो दिवस मनाउँदैछौं´ अध्यक्ष पाठकले भन्नुभयो, `एक ऐतिहासिक दिन जसले हामीलाई हाम्रो उपलब्धि र जिम्मेवारी दुबै सम्झाउँछ। पोलियो उन्मूलनको यात्रामा रोटरीले ३५ वर्षभन्दा बढी समयदेखि “End Polio Now” अभियानमार्फत मानवताका लागि अतुलनीय सेवा प्रदान गर्दै आएको छ ।
अझै पनि केही देशहरूमा पोलियोको जोखिम कायम छ। त्यसैले, हामी सबैको निरन्तर सहयोग र सतर्कता आवश्यक छ।´

पाठकका अनुसार विश्वभरीका रोटरी क्लवहरूले स्थानीय समुदायमा जनचेतना फैलाउने, खोप कार्यक्रमलाई सहयोग गर्ने, र पोलियो विरूद्धको संघर्षलाई अन्तिम विजयी क्षणसम्म साथ दिने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पोलियो उन्मुलनका लागि काम गर्नु हरेक रोटरीका सदस्यहरूले आफ्नो कर्तव्य सम्झिने गरेको रोटरी क्लव अफ मेचीनगर संस्थापक अध्यक्ष कपिल क्षेत्रीले बताउनु भयो ।

अन्तराष्ट्रिय रोटरीले सञ्चालन गरेको पोलियो उन्मुलन कार्यक्रममा साथ दिन रोटरीसंगै रोट्रयाक्ट क्लवमा आवद्ध सदस्यहरूले समेत सक्रिय योगदान गरिरहेको रोट्रयाक्ट क्लव अफ मेचीनगरका कोषाध्यक्ष शिशिर भट्टराईले बताउनु भयो ।
धुलाबारी चौकमा पोलियो रोग बिरूद्ध सचेतना मुलक पोष्टर समेत राखिएको तथा दीप प्रज्वलन कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरका पदाधिकारी तथा सदस्यहरू, रोट्रयाक्ट क्लव अफ मेचीनगरका पदाधिकारी तथा सदस्यहरू, ट्राफिक प्रहरी, स्थानीयहरू लगायतको सहभागिता रहेको रोटरी क्लव अफ मेचीनगरका सचिव पवित्रा बिमली प्रसाईले जानकारी दिनु भयो ।