मेचीनगर, कार्तिक ३ । झापाको मेचीनगर नगरपालिकाले कार्तिक १ गतेदेखि हाजिर नगराउने निर्णय गरेका कम्तिमा १३८ जना कर्मचारीहरुलाई नगरका केही वडाअध्यक्ष र स्थायी कर्मचारीहरुले साथ दिने घोषणा गरेका छन । नगरबाट जागिर गुमाएका कर्मचारीहरुलाई लक्षीत गरेर आज नगरको राजश्व शाखाद्वारा आयोजित तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगरपालिकाका वडा अध्यक्षहरुले आफुहरुको हस्ताक्षर दुरुपयोग गरी कार्यपालिकामा निर्णय नै नभएको बिषय लेखेर सार्वजनिक गरिएको खुलासा गरेका छन ।
मेचीनगर वडा नंं ७ का वडाअध्यक्ष प्रल्हादमणी ओलीले कार्यपालिकाको बैठकको उपस्थितिका लागि गरिएको हस्ताक्षरलाई दुरुपयोग गरी कर्मचारी निकाल्ने निर्णय लेखेर सार्वजनिक गरेको प्रति आपत्ति जनाउनु भएको छ । वहाँले भन्नुभयो, ‘कार्यपालिका बैठकमा कर्मचारी हटाउने भन्ने बिषयमा सामान्य कुराकानी मात्रै भएको तर थप छलफल गरेर निर्णयमा पुग्ने भनेर नगरप्रमुखले बताए पछि त्यो बिषय निर्णय गरिएको थिएन तर त्यही बैठकको उपस्थितिलाई दुरुपयोग गरेर निर्णय लेखेर सार्वजनिक भए पछि मात्रै थाहा पाइयो ।’ यो बिषयका बारेमा कोशी प्रदेशका मुख्यमन्त्री देखि प्रधानमन्त्री शुशिला कार्कीसम्मलाई जानकारी गराइसकिएको समेत ओलीले बताउनु भयो । ओलीले कर्मचारी हटाउने निर्णय तत्काल नसच्चिए अब आफैं वडा कार्यालयमा ताला लगाउने बताउनु भयो ।
भेलामा आफ्ना भनाई राख्दै मेचीनगर १३ का वडा अध्यक्ष कृष्ण सिग्देल ।
भेलामा बोल्दै मेचीनगर वडा नं. ६ का वडा अध्यक्ष ललितबहादुर तामाङले कर्मचारी हटाएर वडा कार्यालय सञ्चालन नै गर्न सकिने अवस्था नभएको बताउनु भयो । ‘यो गलत निर्णय भयो,’ वहाँले भन्नुभयो, ‘म त्यो बैठकमा उपस्थित थिईन तर यस्तो महत्वपूर्ण निर्णय गर्दा नगरपालिका नेतृत्वले एक पटक पनि सल्लाहा नगरेकाले सबै कर्मचारीको पुर्नवहालीका लागि मेरो साथ रहन्छ ।’
वडा नंं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले यो निर्णय तुरुन्तै सच्याउनु पर्ने बताउनु भयो । यस्तो गलत निर्णयलाई बोकेर अगाडी जान नसक्ने सिग्देलले बताउनु भयो । ‘तपाईहरुलाई अन्यायपूर्ण रुपमा निकालिएको छ,‘सिग्देलले भन्नुभयो, ‘तपाईहरु न्यायको लडाई लड्नुहोस तपाईहरुको अगुवाई म गर्छु ।’ सिग्देलले कर्मचारीको जागिर खोस्ने कार्यपालिका बैठकमा आफु उपस्थित नभएको बताउनु भयो ।
भेलामा बोल्दै मेचीनगर ८ का वडा अध्यक्ष गिरीराज धमला ।
त्यसैगरी वडा नं. ८ का वडा अध्यक्ष गिरीराज धमलाले पनि कार्यपालिका बैठकले कर्मचारी निकाल्ने बिषयमा निर्णय नै नगरेको तर झुक्याएर निर्णय लेखिएको बताउनु भयो । ‘कार्यपालिका बैठकमा यो बिषय एजेण्डाको रुपमा आएकै थिएन’ धमलाले भन्नुभयो, ‘तर बैठकको उपस्थितिको हस्ताक्षरलाई दुरुपयोग गरी एजेण्डा नै नभएको बिषयको निर्णय लेखेर सार्वजनिक गरियो ।’ यो निर्णय लागू हुनै नसक्ने धमलाले बताउनु भयो । ‘यो निर्णयले वडा कार्यालय सञ्चालन नै गर्न सकिंदैन,’ धमलाले भन्नुभयो ।
कार्यक्रममा सहभागि वडा नं. १४ का वडा अध्यक्ष बाबुलाल सुब्बाले पनि हटात कर्मचारी निकाल्ने निर्णय जनप्रतिनिधिले गरेको नभई षणयन्त्र मुलक रुपमा निर्णय लेखेर सार्वजनिक गरिएको आरोप लगाउनु भयो । यस्तो निर्णयको बिरोध गर्ने र कर्मचारीको पुर्नबहालीका लागि लाग्ने बताउनु भयो ।
आफ्नो धारणा राख्दै नगरका आर्थिक प्रशासन शाखा प्रमुख पदम कार्की ।
मेचीनगर नगरपालिका कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा नगरका आर्थिक प्रशासन शाखा प्रमुख पदम बहादुर कार्कीले संघीय सरकारले पठाएको परिपत्र भन्दा बिपरित गएर कर्मचारी हटाउने कार्य गरेको बताउनु भयो । वहाँले प्रशासन शाखाबाट आएको टिप्पणीमा कानून बमोजिम मात्रै गर्नु पर्ने भन्ने धरणा राखेको बताउनु भयो । जागिर गुमाएका कर्मचारीहरुको मागमा आफुले समर्थन गर्ने कार्कीले बताउनु भयो ।
राजश्व शाखा प्रमुख प्रेम प्रसाद पराजुलीले सहजिकरण गर्नु भएको भेलामा पीडित कर्मचारीहरुले कार्यपालिकाबाट निर्णय सच्याउन उपस्थिति वडा अध्यक्षहरुसमक्ष माग गर्नु भएको थियो । भेलामा नगरका अन्य स्थायी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
मेचीनगर नगरपालिकाको असोज २७ गते बसेको कार्यपालिका बैठकले संघीय सरकारको परिपत्र कार्यान्वयन गर्ने भन्दै नगरका अत्यावश्यक सेवा र सशर्त अनुदानका बाहेक करार, अस्थाई र ज्यालादारी गरी कम्तिमा १३८ जना कर्मचारीको कार्तिक १ गतेदेखि लागू हुने गरी करार सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।