धुलाबारी, कार्तिक ३ । कुकुर तिहारको अवसरमा रोटरी क्लव अफ मेचीनगर र रोक्ट्रयाक्ट क्लव अफ मेचीनगरले धुलाबारी बजार र त्यस आसपासका सामुदायिक कुकुरहरुलाई खोप, खाना र रिफ्ल्याक्टिभ कलर (चम्किलो फित्ता) कुकर तिहार पर्व मनाएको छ ।
मानिसको नजिकको साथीका रुपमा कुकुरलाई सम्मान गर्दै उनीहरुका लागि दुर्घट्नाबाट बच्न रिफ्ल्याक्टिभ कलर (चम्किलो फित्ता) लगाएको रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष शर्मिला पाठकले बताउनु भयो । करीब एक सय वटा सामुदायिक कुकुरलाई रिफ्ल्याक्टिभ कलर, रेविज तथा छाला सम्बन्धी रोगको खोप लगाएर र खानेकुरा दिएर कुकुर तिहार मनाएको अध्यक्ष पाठकले बताउनु भयो ।

आज बिहान धुलाबारी चोकबाट सुरु गरिएको कार्यक्रममा धुलाबारी बजार, शान्ति समाज क्षेत्र, र ज्यामिरगढीको क्षेत्रसम्म पशु प्राविधिक सहितको समूहले सामुदायिक कुकुरलाई खोप लगाउने र खाना खुवाएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । कुकुर तिहारको दिनलाई कुकुरहरुकै हितमा काम गर्ने योजना अनुसार यो कार्यक्रम राखिएको रोक्ट्याक्ट
क्लव अफ मेचीनगरका अध्यक्ष राज अग्रवालले बताउनु भयो ।

बजारमा कुदिरहने कुकुरहरुका कारण दुर्घट्ना हुने र रेविजको समेत जोखिम हुने भएकाले त्यसको नियन्त्रणका लागि यो कार्यक्रम राखिएको कार्यक्रम संयोजक शिशिर भट्टराईले जानकारी दिनुभयो । सामुदायिक कुकुरहरुलाई उपचार र चम्किलो फित्ता लगादिँदा आम मानिसलाई त्यसबाट हुने जोखिम कम हुने अर्का संयोजक आयुष्मान निरौलाले बताउनु भयो ।

शहर बजार तथा गाउँमा डुलिहिडिरहेका सामुदायिक कुकुरहरुलाई रेविजको खोप नलगाउने गरेका कारण त्यसबाट स्थानीय समुदाय जहिले पनि जोखिममा पर्ने भएकाले यस्तो कार्यक्रमले स्थानीय समुदायका लागि सकरात्मक प्रभाव पार्ने कार्यक्रममा प्राविधिक सहयोग गरेको संस्था मेचीनगर कृषि तथा पशु स्वास्थ्य प्राविधिक संघका अध्यक्ष थिरेन्द्र शिवाकोटीले बताउनु भयो । वहाँका अनुसार रोटरी क्लवको कार्यक्रमलाई सहयोग गर्न संघका सदस्य रहेका प्राविधिकहरुले शहर तथा मुख्य सडकमा भेटिएका सामुदायिक कुकुरहरुलाई रेविज र छालाको खोप लगाउने र रिफ्ल्याक्टिभ कलर लगाउन सहयोग गरेका थिए ।

रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष कपिल क्षेत्री, पुर्व अध्यक्ष कमल कोइराला, सदस्यहरु गोपाल चुडाल, ध्रव ओली, प्रेसिडेन्ड इलेक्ट दिनेश शाक्यको सक्रिय सहभागिता रहेको थियो । त्यस्तै रोक्ट्रयाक्ट क्लव अफ मेचीनगरका अध्यक्ष राज अग्रवाल, पुर्व अध्यक्ष प्रज्वल कार्की, कोषाध्यक्ष शिशिर भट्टराई लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको उदघाट्न सत्र रोटरी क्लव अफ मेचीनगरकी सचिव पवित्रा विमली प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।