मेचीनगर । नेपालमा पछिल्ला केही वर्षदेखि अटिजम र बौद्धिक अपांगता भएका बालबालिकाको सवाल सामाजिक बहसको केन्द्रमा आउन थालेको छ । यस्ता बालबालिकाको अवस्था, उनीहरूको अधिकार, शिक्षा, स्वास्थ्य र समावेशी समाज निर्माणका विषय गम्भीरतापूर्वक उठ्न थालेका छन् । यस्तै सन्दर्भमा झापाको मेचीनगर नगरपालिकाले अटिजम र बौद्धिक अपांगता भएका बालबालिकाको क्षेत्रमा उदाहरणीय पहल गरेको छ, जसले स्थानीय सरकारको भूमिकालाई पुनः परिभाषित गर्न थालेको छ ।
अटिजम कुनै रोग होइन, यो दिमाखको विकाससँग सम्बन्धित अवस्था हो, जसमा व्यक्तिको सोच्ने, बुझ्ने, संवाद गर्ने र व्यवहार गर्ने तरिका अरूभन्दा केही फरक हुन्छ । यो अवस्था सामान्यतया बाल्यकालमै देखिन थाल्छ । अटिजम भएका बालबालिकाले सामाजिक अन्तरक्रिया गर्न, आँखामा आँखा मिलाएर बोल्न, भावना व्यक्त गर्न वा अरूको भावना बुझ्नमा कठिनाइ अनुभव गर्छन् ।
कतिपय अवस्थामा उनीहरूले दोहोरिने व्यवहारहरू देखाउने, विशेष कुरामा अत्यधिक रुचि देखाउने वा दैनिक जीवनका सामान्य कामहरू गर्न असहजता महसुस गर्न सक्छन् । अटिजमका लक्षणहरू व्यक्ति अनुसार फरक–फरक देखिन सक्छन्, त्यसैले यसलाई ‘स्पेक्ट्रम डिसअर्डर’ पनि भनिन्छ ।

बौद्धिक अपांगता भनेको व्यक्ति मानसिक रूपमा उमेर अनुसारको क्षमता अनुसार कार्य गर्न नसक्ने अवस्था हो, जसले उसको शिक्षा, आत्मनिर्भरता र सामाजिक सहभागितामा अवरोध पुर्याउँछ । नेपालमा अटिजम र बौद्धिक अपांगता भएका बालबालिकालाई अझै पनि धेरै हदसम्म पारिवारिक वा सामाजिक लाजको विषय बनाइन्छ । समाजमा यस विषयमा आवश्यक ज्ञान र संवेदनशीलताको अभाव छ । विशेष गरेर ग्रामीण र पिछडिएका क्षेत्रका परिवारहरूले अटिजमको बारेमा थाहा पाउने अवसर नै पाउँदैनन्, जसका कारण समयमा पहिचान, उपचार र सहजीकरण हुन सक्दैन ।
साथै, विशेष विद्यालयको न्यून पहुँच, थेरापी सेवा र आवश्यक उपकरणको अभाव, तालिमप्राप्त शिक्षकको कमी र सरकारी प्राथमिकतामा यस्ता बालबालिका नपर्नु समस्या अझ जटिल बनाउँछ । यस्तै, चुनौतीपूर्ण पृष्ठभूमिमा मेचीनगर नगरपालिका अटिजम र बौद्धिक अपांगता भएका बालबालिकाको क्षेत्रमा विशेष ध्यान दिँदै अगाडि बढेको छ । नगरपालिकाका अनुसार हाल मेचीनगरमा करिब १ सय जना यस्ता बालबालिका छन्, जसको जीवनलाई सहज बनाउने उद्देश्यले मेचीनगर नगरपालिकाले अहिले यस मुद्दामाथि गम्भीर बहस र पहल थालेको छ ।
महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलका अनुसार, अटिजम भएका बालबालिकाका लागि विशेष योजनासहित काम अघि बढाइएको छ । हालसम्म नगरपालिकाले अभिभावकहरूसँग अन्तरक्रिया, समस्या सुन्ने र उनीहरूको गुनासो तथा अनुभवलाई नीतिगत तहमा समावेश गर्ने प्रयास गरेको छ ।
अटिजम भएका बालबालिकाको लागि अभिभावकहरुका लागि सीप विकास तालिम, त्यस्ता बालबालिकाहरुका लागि स्याहार योजना तयार, वडा स्तरमा मिलीजुली समुह गठन लगायतका महत्वपूर्ण कार्यहरुको थालनी यो बर्ष गरिएको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख खरेलले बताउनुभयो ।
अटिजम र बौद्धिक अपांगता भएका बालबालिकाहरुको हितका लागि बिशेष प्रकारको योजना बनाएर कार्य गरिरहेको नगरपालिकाले अटिजम र बौद्धिक अपांगता भएका बालबालिकाहरुको अभिभावकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अटिजम भएका बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ने कुराको बारेमा कतिपय अवस्थामा अभिभावकहरु नै पनि अनभिज्ञ रहेकाले सुरुवात अभिभावकहरुको कुरा सुन्नबाट गरिएको खरेलले बताउनुभयो ।

सो कार्यक्रममा अभिभावकहरुले अटिजम र बौद्धिक अपांगता भएका बालबालिकाहरुको हेरचाह र शिक्षाको व्यवस्थापनमा आफुहरुले भोग्नुपरेको समस्याहरुको बारेमा अवगत गराएका थिए । विशेष विद्यालय र साधनस्रोतको अभाव हुँदा अभिभावकहरू निकै सास्ती खेप्न बाध्य भएको गुनासो गर्दै अभिभावकहरुले समस्या सुन्ने मात्रै नभई समाधान गर्ने जिम्मेवारी मेचीनगर नगरपालिकाले लिनुपर्ने बताएका थिए ।
गत बैशाख १६ र १७ गते भएको अभिभावकहरुसँगको अन्तरक्रिया पछि गत जेठ २६ गते अटिजम तथा बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि समावेशी शिक्षा प्रवद्र्धन सम्बन्धी प्यानल छलफल कार्यक्रम सम्पन्न गरिएको थियो ।नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, बाल विकास विशेषज्ञ तथा मनोविद प्रिसिमा थापा र नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर रुपक आचार्य सहभागी रहेको प्यानल छलफल कार्यक्रममा महत्वपूर्ण बिषयहरु उठान भएका छन् ।
छलफलका क्रममा अटिजम भएका बालबालिकाहरूको लागि थेरापी केन्द्र र विशेष विद्यालयको आवश्यकताको बिषय उठेको छ । त्यस्तै, समावेशी शिक्षा र सीप विकासका लागि शिक्षकहरूलाई विशेष तालिमको आवश्यकता र अभिभावक–विद्यालय समन्वय अपरिहार्य रहेको निस्कर्ष निकालिएको थियो ।
यसरी चालु आर्थिक बर्ष २०८१–८२ मा मेचीनगर नगरपालिकाले अटिजम भएका बालबालिकाहरूका लागि महत्वपूर्ण कार्यक्रमहरुको थालनी गरेको छ । सुन्दा सामान्य लाग्ने तर सरोकार राख्ने परिवारहरुका लागि अत्यन्तै उपयोगी कार्यक्रमहरु गरिएको स्वयम् अभिभावकहरुले नै बताएका छन् ।
नगरपालिकाको प्रयासले सकारात्मक गति लिएपछि नगरपालिकाले आगामी बर्ष यसलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ । अटिजम भएका बालबालिकाहरुका लागि आगामी आर्थिक बर्ष नयाँ कार्यक्रम ल्याउनुका साथै पुराना कार्यक्रमहरुलाई पनि निरन्तरता दिने तयारी छ ।
अटिजम भएका बालबालिकाका अभिभावकहरुको मुख्य माग भनेकै थेरापी केन्द्र सञ्चालन रहेको छ । हाल नगर बाहिर लगेर थेरापी गर्नु परिरहेको बाध्यात्मक अवस्थालाई हेर्दै नगरले पनि आगामी दिनमा थेरापी केन्द्र सञ्चालन गर्ने लक्ष्य अनुरुप काम गरिरहेको महिला विभाग प्रमुख खरेलको भनाई छ । त्यसका लागि प्रदेश र संघीय सरकारसँग पनि पहल गरिरहेको उहाँको भनाई छ ।
अटिजमका विषयमा खुला बहस गर्नु, सरकारी तहमा नीतिगत निर्णय गर्नु र अभिभावकलाई सहभागी बनाउनु आफैमा एक सकारात्मक अभ्यास हो । मेचीनगरको उदाहरणले देखाउँछ कि यदि स्थानीय सरकार गम्भीर भए, थोरै स्रोतसाधनमै पनि फरक पार्न सकिन्छ । मेचीनगर नगरपालिकाको पहल एउटा अभ्यास हो, जसले नीतिगत प्रतिबद्धता, जनप्रतिनिधिको इच्छा शक्ति र समुदायको सहभागिता भए यस्ता संवेदनशील विषयमा पनि गहिरो परिवर्तन ल्याउन सकिन्छ भन्ने देखाउँछ ।
अटिजम र बौद्धिक अपांगता भएका बालबालिकाहरूलाई सामाजिक मूलधारमा ल्याउन परिवार, समुदाय र राज्यको साझा जिम्मेवारी आवश्यक छ । मेचीनगर नगरपालिका र यस्ता अन्य पालिकाहरूले समावेशी नीति अवलम्बन गरी विशेष विद्यालय, उपचार केन्द्र र सीप विकासका कार्यक्रमहरूलाई प्राथमिकतासहित अगाडि बढाउनु जरूरी छ ।
समयमै पहिचान, उपचार र सहजीकरणका उपायहरू अवलम्बन गर्ने हो भने अटिजम भएका बालबालिकाहरू पनि सक्षम र आत्मनिर्भर नागरिक बन्न सक्छन् । यसका लागि सबै पक्षहरू समन्वय र सहकार्यका साथ अघि बढ्नुपर्छ ।