–जमुना भट्टराई ।।
अरबेली र फारसेली हुँदै भारतमा उर्दू र हिन्दी भाषाको माध्यमबाट नेपाली साहित्यको माध्यमिक कालमा प्रवेश गरेको गजल विधाले पछिल्लो समय उल्लेखनीय परिपक्वता हासिल गरिरहेको सन्दर्भमा गजलकार बालकुमारी घिमिरे ‘गजलिका’ द्वारा लिखित गजल सङ्ग्रह ‘तलतल’ एक सशक्त र भावनात्मक कृतिका रूपमा देखा परेको छ ।भुँडीपुराण प्रकाशनबाट वि.सं. २०८२ माघमा प्रकाशित यस सङेग्रहले समकालीन नेपाली गजल साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउने प्रयास गरेको देखिन्छ ।
अमेरिकाको क्यालिफोर्निया निवासी गजलिकाले मातृवियोगको पीडालाई कलमको सहाराले आत्मसात् गर्दै आफ्ना भावनाहरू गजलमार्फत प्रस्तुत गरेकी छन्। शीर्षक ‘तलतल’ स्वयम्ले नै मनको गहिरो तह, दबिएका अनुभूति, मानवीय चरित्रका विसङ्गति, प्रकृतिप्रेम, राजनीतिप्रतिको वितृष्णा तथा अधुरा चाहनाहरूको सङ्केत गर्दछ।
प्रस्तुत गजल सङ्ग्रहको पृष्ठ एकमा गजलिकाले नारी सौन्दर्यलाई यसरी व्यक्त गरेकी छन् :–
लाली मात्र लगायौ प्रियतम के नपुगेझैँ लाग्यो
थोरै गाजल थप्दा मेटिन्थ्यो आँखाको तलतल ।
आठ पृष्ठकोअर्को गजलमा गजलिकाले प्रेम पोख्दै लेख्छिन :–
सुन्दर थिए बिहानी, प्रेमी थिए सफरमा
जितहार सँगसँगै प्रत्येक भर अभरमा ।
मुस्कान फर्किएला भन्ने थियो अधरमा
पाएँ खबर पर्यो रे मेरो हियो बदरमा ।
यस्तैयस्तै भावनात्मक गहिराइलाई आधार बनाएर यस सङ्ग्रहका गजलहरूले प्रेम, विछोडसँगै सामाजिक विसङ्गति तथा जीवनका विविध यथार्थलाई मार्मिक रूपमा अभिव्यक्त गरेका छन् । ‘तलतल’ गजल संग्रहको पृष्ठ एकाउन्नमा गजलिका लेख्छिन :–
सुने कसले बुझे कसले हृदयको वेदना मेरो
अचेल आफ्नै बनी भित्तो छ सुन्दै अर्चना मेरो ।
कथाजस्तो भयो जीवन कथाकै सारमा डुल्छ
बन्यो घर कल्पना नित्य छु चुम्दै कल्पना मेरो ।
गजलिकाको लेखनीमा व्यक्तिगत अनुभूति र सामाजिक चेतनाबीच सन्तुलित समन्वय पाइन्छ, जसले कृतिलाई केवल भावनात्मक मात्र होइन, वैचारिक रूपमा पनि सशक्त बनाएको छ ।भाषा र शैलीका दृष्टिले ‘तलतल’ सरल, प्रवाहपूर्ण र प्रभावशाली देखिन्छ । गजलका सेरहरूमा अर्थ गहिराइयुक्त छन्, जसले पाठकलाई भावनात्मक मात्र होइन, चिन्तनशील रूपमा पनि आकर्षित गर्छन् ।
शासक छन् पुरानै व्यवस्था नयाँ छन्
मेरो देश गाँज्ने समस्या नयाँ छन्
जोगी जुनसुकै हुन् बुझौँ यत्ति सबले
झोली छन् पुराना सिँगौरा नयाँ छन् ।
पृष्ठ चौहत्तरका यी दुई गजल सेरमा मातृभूमिको चिन्ता पोखिएको पनि बुझ्न सकिन्छ ।
जुनसुकै विधामा कलम चलाउनेका लागि प्रायः प्रेम र विछोड नै सहज विषयवस्तु हुने भए तापनि गजलिकाको ‘तलतल’ गजल सङ्ग्रहमा विशेषगरी मानवीय व्यवहारिक प्रसङ्गहरूमा संवेदनशील अभिव्यक्ति अत्यन्त मार्मिक रूपमा प्रस्तुत भएको पाइन्छ ।
यद्यपि, केही स्थानमा विषयवस्तुको पुनरावृत्ति देखिएका छन् । जसले कृतिमा हल्का एकरूपता ल्याउने सम्भावना रहन्छ, तथापि यसलाई गजलकारको निरन्तर भावनात्मक प्रवाह र अनुभवको विस्तारका रूपमा पनि बुझ्न सकिन्छ । जसले समग्र प्रभावलाई कमजोर बनाउँदैन । परदेशमा बस्नेको जीवनलाई पृष्ठ चौरासीको गजलमा यसरी पोखेकी छिन् गजलिकाले :–
म किन्दैछु पसिना भो प्यासी नभन्नु
परे बाध्यतामा प्रवासी नभन्नू ।
मुलुकको छ चिन्ता गरेको छु चिन्तन
मलाई कसैले निराशी नभन्नू ।
समग्रमा ‘तलतल’ समकालीन नेपाली गजल साहित्यमा एक महत्वपूर्ण योगदान हो। यसले पाठकलाई केवल मनोरञ्जन होइन, आत्मचिन्तन र भावनात्मक गहिराइको यात्रामा समेत डोहोर्याउने क्षमता राख्छ । गजलप्रेमी पाठकका लागि यो कृति निस्सन्देह पठनीय, सङ्ग्रहणीय र स्मरणीय छ ।
गजलकार आपैmँ एक सशक्त कवि हुनुको नाताले पनि प्रस्तुत गजल सङ्ग्रहमा प्रयुक्त काव्यिक भाषाशैलीबाट प्राप्त गजलानन्दले सबैलाई प्रफुल्ल बनाउने चेष्टा गर्छन् । पहिलेपहिले गजल प्रणय भावनाको अभिव्यक्तिका रूपमा मात्र विकसित भएको पाइन्थ्यो । आजकल आधुनिक गजलमा व्रmमशः प्रणय भवनाको मात्र नभएर युगबोधका साथै समसामयिक संचेतना र संवेदनाको पनि समावेशीकरण गरिन्छ । यो समयसापेक्ष सिर्जनाचेतमा गजलिका सचेत छिन् ।
अन्तमाः नेपाली साहित्यले पछिल्लो समय सशक्त रूपमा अङ्गीकार गर्दै आएको गजल विधामार्फत आफ्नो बलियो उपस्थिति जनाउँदै गजल पारखीहरूको मनको तलतल मेटाउन सफल गजलिकाकृत गजल सङ्ग्रह ‘तलतल’ लाई सम्पूर्ण सफलताको शुभकामना ।