धुलाबारी, बैशाख २६ । मेचीनगरका उद्योगी व्यवशायीहरुको छाता संस्था मेची उद्योग वाणिज्य संघको कार्यसमिति चयनका लागि आज मतदान सकिएको छ । पासाङ ल्हामू स्मृति प्रतिष्ठान (टाउन हल) धुलाबारीमा आज विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा ७७.२९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत अजय घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार संघका २०७४ मतदाता मध्ये १६०३ जनाले मतदान गरेका हुन । मगगणना भोलि बैशाख २७ गते बिहान ८ बजेदेखि टाउन हलमा नै सुरु गर्ने मुख्य निर्वाचन अधिकृत पदम डाँगीले बताउनु भयो ।

आज सम्पन्न मतदान दिनभरि नै शान्तिपूर्ण रुपमा सञ्चालन भएको निर्वाचन अधिकृत सिताराम मिश्रले बताउनु भयो । मिश्रका अनुसार असक्त, जेष्ठ नागरिकहरुका लागि लाईनमा नराखी मतदान गर्न दिइएको थियो ।
मेची उद्योग वाणिज्य संघको अध्यक्षमा किशोर क्षेत्री (कपिल) र खेमराज प्रसाईबीच चुनावी प्रतिस्पर्धा छ । क्षेत्रीको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा भुमी पौडेल, उद्योग उपाध्यक्षमा हरिप्रसाद कोइराला, बाणिज्य उपाध्यक्षमा सन्तोस खवास, महिला उपाध्यक्षमा सुन्दरी श्रेष्ठ र महासचिवमा ध्रुव कनाल चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै प्रसाईको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा आनन्द खड्का, उद्योग उपाध्यक्षमा भिम कुवँर, बाणिज्य उपाध्यक्ष तिलक थापा, महिला उपाध्यक्षमा उषा श्रेष्ठ र महासचिवमा दिनेश शाक्य चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । सदस्यहरु समेत प्यानलबाटै उठाइएकाले नजिकको चुनावी टक्कर हुने देखिन्छ ।