धुलाबारी, बैशाख २० । मेची उद्योग वाणिज्य संघको निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । किशोर क्षेत्री (कपिल) नेतृत्वको समूह र खेमराज प्रसाई नेतृत्वको समूहले आज प्यानल बनाएरै उम्मेद्वारी दर्ता गरेका छन ।
संघको १६ सदस्यीय कार्यसमितिका लागि दुई प्यानलका गरी ३२ जनाले उम्मेद्वारी दर्ता गराएका हुन । आज दिउँसो १२ बजेदेखि अपरान्ह ४ बजेसम्म रहेको उम्मेद्वारी दर्ताको समयमा दुई प्यानलका उम्मेद्वारले मात्रै उम्मेद्वारी दर्ता गराएका छन । १६ पदका लागि ३२ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिका सदस्य अजय घिमिरेले जानकारी दिनुभयो ।
खेमराज प्रसाई नेतृत्वको प्यानल उम्मेद्वारी दर्ता गराउँदै ।
समावेशी व्यवशायिक प्यानल नाम दिएको क्षेत्री नेतृत्वको समूहबाट अध्यक्षमा क्षेत्री, वरिष्ठ उपाध्यक्षमा भूमी पौडेल, उद्योग उपाध्यक्षमा हरिप्रसाद कोइराला, बाणिज्य उपाध्यक्षमा सन्तोष खवास, महिला उपाध्यक्षमा सुन्दरीकुमारी श्रेष्ठ र महासचिवमा ध्रुव कनालले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
यस्तै, महिला सदस्यहरूमा कृष्णकुमारी प्रसाईं (कल्पना) र चम्पा नेम्बाङको उम्मेदवारी दर्ता भएको छ । खुला सदस्यमा जयकुमार श्राप (सुनार), विनोदकुमार बानियाँ, अर्जुन तिवारी, गोपिकृष्ण गौतम, प्रबुल केसी क्षेत्री, आशिष संग्रौला, तारा श्रेष्ठ र राजेशकुमार बंशलले उम्मेदवारी दर्ता गराएका छन ।

यता प्रसाई नेतृत्वको साझा व्यवशायिक समूहबाट अध्यक्षमा प्रसाई सहित बरिष्ठ उपाध्यक्षमा आनन्द खड्का, उद्योग उपाध्यक्षमा भीमबहादुर कुँवर, बाणिज्य उपाध्यक्षमा नरबहादुर (तिलक) थापा, महिला उपाध्यक्षमा उषा नेपाली श्रेष्ठ र महासचिवमा दिनेश शाक्यले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

त्यसैगरी महिला सदस्यमा मीरा कार्की र रमा आचार्य (राधा) को उम्मेदवारी परेको छ । खुला सदस्यमा दिनेश पोखरेल, मानबहादुर कटुवाल, सुरज चौधरी, सचिन निरौला, ललित अग्रवाल, विजय गुप्ता, खिरोज बराल (फिरोज) र चन्द्रबहादुर घोर्साईले उम्मेद्वारी दर्ता गराएका छन ।
२११५ मतदाता सदस्य रहेको मेची उद्योग वाणिज्य संघको आगामी कार्यसमिति चयनका लागि बैशाख २६ गते शनिवार मतदान हुने भएको छ ।