।। किशोर क्षेत्री (कपिल) ।।
‘पर्यटन, कृषि र व्यापार : समृद्ध मेचीनगरको मुख्य आधार’ भन्ने मूल भावना जगाउन साना पसल सञ्चालकदेखि ठूला आयात–निर्यातकर्तासम्म सबैलाई एउटै टेबुलमा राखेर उनीहरूको समस्या सुन्नु पर्छ । जब तल्लो तहको व्यवसायीले आफू सुरक्षित महसुस गर्छ, तब मात्र सिंगो क्षेत्रको आर्थिक विकास सम्भव हुन्छ । नयाँ कार्यसमितिको नेतृत्वमा हामीले उठाएका बिषयहरु मेची उद्योग वाणिज्य संघलाई केवल एउटा संस्थामात्र नभई पूर्वी नेपालको ‘आर्थिक मेरुदण्ड’बनाउने निश्चित छ ।
मेचीनगर र काँकडभिट्टा क्षेत्र नेपालको अनुहार हो । यस क्षेत्र नेपालको पूर्वी ढोका मात्र नभई बंगलादेश र भुटानसँगको निकटताका कारण त्रिदेशीय व्यापारको मुख्य केन्द्र पनि हो । साना व्यवसायीदेखि ठूला उद्योगीसम्म सबैलाई समेट्न र सन्तुष्ट पार्न हामी प्रतिबद्ध छौं ।
नियमित सेमिनारः कर व्यवस्थापन, डिजिटल मार्केटिङ र निर्यात प्रक्रियाका बारेमा साना तथा ठूला व्यवसायीहरूका लागि महिनामा कम्तिमा एक पटक तालिम सञ्चालन गर्ने । जब सडकको व्यापारी सुरक्षित हुन्छ, तब मात्र सहरको अर्थतन्त्र बलियो हुन्छ । साना तथा मझौला व्यवसायीको संरक्षणको निमित्त साना व्यापारीहरूका लागि बैंकहरूसँग समन्वय गरी सहुलियतपूर्ण ब्याजदरमा कर्जाको व्यवस्था गर्ने । व्यवसाय दर्ता र कर सम्बन्धी प्रक्रियालाई सरल बनाउन सहजीकरण डेस्क स्थापना गर्ने ।
वार्षिक रूपमा एउटा ‘अन्तराष्ट्रिय मेची व्यापार मेला’आयोजना गर्ने, जहाँ बंगलादेश, भुटान र भारतका उद्योगीहरूलाई निम्त्याएर स्थानीय उत्पादनको व्यापार सम्झौता (B2B) गराउने । हस्तकला, घरेलु अचार, कृषि उत्पादन तथा प्रदर्शन गर्न ‘स्थानीय मेला’नियमित आयोजना गर्ने । मेचीनगर र सिंगो झापाको आर्थिक मुहार फेर्ने एउटा अठोट लिएर व्यवसायीहरूले भोग्नु पर्ने प्रशासनिक झन्झट हटाउन मेची उद्योग वाणिज्य संघले बलियो मध्यस्थकर्ताको भूमिका खेल्नु पर्छ ।
भन्सार र कर सहजीकरण : भन्सार, आन्तरिक राजस्व कार्यालय र स्थानीय सरकारसँग नियमित समन्वय गरी व्यवसायीका समस्यालाई नीतिगत तहमा संघले पुलको काम गर्नेछ, जसले नीतिगत समस्याहरूलाई सरकारसँग संवाद गरी तुरुन्त समाधान गर्नेछ ।
पालिका कर : मेचीनगर नगरपलिकाले व्यवसायीको कारोबारका आधारमा कर निर्धारण गरिरहेको छ । त्यसले व्यवसायिहरु अत्यन्तै मारमा परिरहेका छन । तसर्थ व्यवसायीले गरेको आम्दानीमा मात्रै कर लगाउने व्यवस्था गर्न हाम्रो समूहले अधिकतम पहल गर्नेछ ।
कानुनी सहायता : नयाँ कर नीति वा भन्सार नियमावली परिवर्तन हुँदा व्यवसायीहरूलाई तत्काल जानकारी दिने र आवश्यक पर्दा कानुनी परामर्श उपलब्ध गराउने ।
गुनासो सुन्ने संयन्त्रः व्यापारीहरूका समस्या तुरुन्त सुन्न र समाधान गर्न २४/७ टोल–फ्री नम्बर वा डिजिटल माध्यमको व्यवस्था गर्ने ।
बंगलादेश र भुटानसँगको समन्वय : काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध कोरिडोरलाई अझ प्रभावकारी बनाउन पहल गर्ने । बंगलादेश र भुटानका उद्योग वाणिज्य संघहरूसँग “Business-to-Business (B2B)” बैठकहरू गरी सिधा व्यापारिक सम्बन्ध विस्तार गर्ने ।
सुख्खा बन्दरगाह (Dry Port) को स्तरोन्नति : भन्सार प्रक्रियामा हुने ढिलासुस्ती हटाउन र पूर्वाधार सुधारका लागि सरकारसँग बलियो पहलकदमी लिने र भारतको सिमावती क्षेत्र पानीटेंकीमा पनि वेयर हाउस तथा क्वारेन्टाइन स्टेशन र परीक्षण प्रयोगशाला राख्नका लागि नेपाल सरकार वा भारतिय व्यवशायीहरु संघ संस्था मार्फत पहल गर्ने ।
चिया, सुपारी र अदुवा प्रशोधन : यस क्षेत्रको मुख्यबाली चिया र सुपारी हो । यसको उचितमूल्य र अन्तराष्ट्रिय बजार सुनिश्चित गर्न ‘ग्रेडिङ र ुप्याकेजिङ’ उद्योगहरू स्थापना गर्न प्रोत्साह नदिने ।
मूल्य निर्धारण बिचौलियाको प्रभावकम गरी किसानले सिधै उचित मूल्य पाउने संयन्त्र निर्माण गर्ने ।
नेपालको चिया, अलैंची, र हस्तकलालाई ‘पूर्वी नेपालका गहनाका रूपमा ब्रान्डिङ गरी काँकडभिट्टा नाकामा एउटा अत्याधुनिक प्रदर्शनी कक्ष (Showroom) स्थापना गर्ने ।
पूर्वी नेपालका ‘रत्न’हरूको ब्रान्डिङ र मेची करिडोरको मुख्य पर्यटकीय आकर्षण नै कन्याम, इलामका डाँडाहरूलगायत हुन । हामीसँग कन्याम र इलामका मनमोहक डाँडाहरू छन, जसलाई हामीले ‘नेपालको रत्न’ (Gems of Nepal) का रूपमा विश्वबजारमा चिनाउनु पर्छ ।
नेपाल छिर्ने विदेशी पर्यटकहरू काँकडभिट्टाबाट सिधै काठमाडौं वा पोखरा जाने गर्छन । उनीहरूलाई कम्तिमा एक रात मेचीनगर क्षेत्रमा बस्ने वातावरण बनाउनकालागि स्थानीय पर्यटकीय स्थलहरू (बाँसबारी, कालिका सिमसार, पतालगंगा क्षेत्र, मिनि माउन्टेन मेची नदी किनार, नन्दा कोरिडोर, आदि) को विकास र प्याकेज निर्माण गर्ने ।
पर्यटकीय रत्नहरूको प्रर्वद्धन हिल स्टेसन प्याकेज : झापाको गर्मीबाट बच्न आउने आन्तरिक र बाह्य पर्यटकहरूलाई कन्याम, फिक्कल र इलाम बजारसम्म पुर्याउन ‘मेची टुरिजम सर्किट’को अवधारणा ल्याउने । हामी भारत, भुटान र बंगलादेशका पर्यटकहरूलाई कन्याम र इलामसम्म पुर्याउन ‘ट्रान्जिट टुरिजम’को विकास गर्नेछौँ ।
हस्पिटालिटी क्षेत्रको सुधार :
होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूको सेवाको स्तर बढाउन हामी नियमित रूपमा व्यावसायिक तालिम र सेमिनारहरू आयोजना गर्नेछौँ, जसले हाम्रा युवा उद्यमीहरूलाई प्रविधिसँग जोड्नेछ ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना :
नेपालको पूर्वी प्रवेशद्वारमा अवस्थीत भएकाले हाम्रो भूगोलमा पर्यटकीय सम्भावना धेरै छन । त्यसमा पनि धार्मिक पर्यटनको प्रचुर सम्भावना छ । हाम्रो क्षेत्रमा रहेको पाउ पाथिभरा मन्दीरहुँदै इलाममा रहेको सानो पाथिभरा माताको मन्दीर देखि ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथिभारा मन्दीर, खोटाङमा रहेको हलेसी महादेव, इलामकै गजुरमुखी माताको मन्दीर, लारुम्बा क्षेत्र लागयतका धार्मिक क्षेत्रमा जानेहरुको ठुलो संख्या भारततर्फबाट पुर्वी नाका हुँदै आउने गरेका छन । त्यस्ता धार्मिक पर्यटकहरुलाई मेची उद्योग वाणिज्य संघले सहजिकरण गरी उनीहरुको बसाई लम्बाउन विभिन्न प्याकेज टुरको व्यवस्थापन गरी यस क्षेत्रको आर्थिक चलायमानमा योगदान दिन सक्छ ।
व्यवसायिक हितकोष र सामाजिक उत्तरदायित्व
प्राकृतिक विपत्ति वा आकस्मिक संकटमा व्यवसायीहरूलाई आर्थिक सहयोग पुर्याउन एउटा विशेष कोष खडा गरेका छौं । यसलाई अझै फराकिलो बनाउने छौं । काकरभिट्टामा सेवा केन्द्र सञ्चालन गर्ने र चारआलीमा भएको संघको जमिनमा समेत सेवा केन्द्र सञ्चालन गर्नेछौं ।
[लेखक क्षेत्री, मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्छ ।]