अहिले कांग्रेसमा एउटा जबर्जस्त भाष्य स्थापित गरिंदै छ, विशेष महाधिवेशन भए पार्टी फुट्छ । यो शिखण्डी कुरा हो । यसमा न कुनै आधार छ, न कुनै कारण नै । केवल पद लोलुपहरुले उत्पातसाथ मच्चाएको हल्ला मात्र हो । बिना कारण र आधारको तर्क हुँदैन । तर्क हुन तथ्य जरुरी हुन्छ । तथ्य बिनाको कुरा हावादारी प्रचार हो । पार्टी फुट,विरासत गुम्ने फगत हल्ला हो । जहाँ बिना लगानी स्वार्थले महल ठडिएको छ । त्यो महलको जग हल्लिएपछि पार्टी फुटको नियोजित हल्ला फिँजाइएको हो । सिबाय अरु केही पनि होइन ।
यति मानौँ,कांग्रेस फुट्ने अहिलेको हल्ला, कुनै दिन मुलुकको कतै, कुनै कुनाकन्दरामा साक्षत देउता ( देवता ), भगवान प्रकट भए भने जस्तै हो । मानिसले विश्वास गरुञ्जेल यस्तो ठाउँमा भीड लाग्छ । यथार्थ ( तथ्य ) खुलेपछि देउता उत्पत्ति भएको ठाउँमा जानेको भीड घट्छ । जानेहरू मध्येकै ठूलो जमातले भन्न थाल्छ, हामीलाई बेकुफ बनाएछन् । कांग्रेस फुट्छ भन्ने बहुप्रचारित भाष्य पनि तथ्य खुलेपछि फगत त्यस्तै हल्ला निश्चित बन्ने छ । यसमा अलमलिनु पर्ने कुनै कारण नै छैन ।
यति भएपछि कांग्रेस नेता, कार्यकर्ताले बुझ्नु पर्छ, उसोभए यो हल्ला कसले चलाइरहेको छ ? कांग्रेसको कोही नेता,कार्यकर्ता दुविधामा पर्नै पर्दैन । यो जनाधार नभएका मानिसहरूको "सैतान" दिमागको उपज हो । दिमाग खाली भएका "ठूला मानिस" ले गर्ने हल्ला यस्तै हुन्छन् । वरिपरि आसेपासे राख्यो, अनि चलायो हल्ला । उनीहरूको खास धन्दा नै त्यही हो, हल्लाको खेती गरेर, सपनाको महलमा राज गर्ने । जो स्वसिद्ध विषय हो । यसमा इमानदार, निष्ठा र आदर्शवान कार्यकर्ता भुलिने भुल गर्ने भने सैतानहरुको स्वार्थी सपनाले साकार रुप लिन्छ, आकार ग्रहण गर्छ । बिना अलमल यो चाहिँ सच्चा कांग्रेस र कांग्रेसीले बुझ्ने विषय हो । बाँकी कुरा कागले कान लगेको कथा मात्रै हो । कान छाम्ने कि कागको छाँयालाई लखेट्ने त्यो चाहिँ कांग्रेस नेता, कार्यकर्ताको निर्णय हो ।
विधानमा व्यवस्था भएको विशेष महाधिवेशन गर्दा पार्टी फुट्छ भने किन दफा १७ ( २ ) राखेको ? यो प्रश्न फुटको हौवा फिँजाउनेहरुलाई इमानदार कांग्रेस कार्यकर्ताले गर्न निक्कै ढिलो भइसकेको छ । स्वार्थी समूहले चलाएको हल्लाको पछि कामयावी पंक्ति दौडियो भने चाहिँ कांग्रेस फुट्न सक्छ । किनकि, यसबेला कांग्रेसमा स्वार्थी समूह हाबी भएको छ । त्यसको आकार, प्रकार, रुप र स्वरुप मात्रै फरक हो । त्यो आकार, प्रकार, रुप र स्वरुपको अनुमान गर्ने, ठम्याउने र निर्क्यौल गर्ने काम इतर पार्टीका नेता, कार्यकर्ताको होइन, स्वयं कांग्रेस नेता, कार्यकर्ताको हो । पार्टी फुटेको प्रायोजित हल्ला, भ्रम र यथार्थ बुझ्न नसक्नु चाहिँ कांग्रेस नेता, कार्यकर्ताको अक्षम्य गल्ती हो ।
यति बुझ्ने कांग्रेसीले यो वा त्यो बाहानामा कांग्रेस फुट्छ भन्दैन । त्यो भन्दा बढी चाहिँ उसलाई थाहा छ, जो बुझेर कांग्रेस भएको छ । "मालिक" कांग्रेस भएपछि कांग्रेस बनेको कोही छ भने, त्यो उसको कुरा हो । जो माकिक दुख्दा दुख्छ र मालिक हाँस्दा हाँस्छ । बुझ्ने कुरा चाहिँ के हो भने कांग्रेसको इतिहास विवाद रहित र सग्लो कहिल्यै छैन । प्रजा परिषद , राष्ट्रिय कांग्रेसदेखि यहाँसम्म ( शेरबहादुर, सिटौला, शेखर, गगन, विश्व ) आइपुग्दा कांग्रेस कहिल्यै विवाद रहित छैन । इतिहास साक्षी छ, टंकप्रसाद आचार्य, मातृकाप्रसाद कोइराला, बिपी कोइराला, सुवर्ण सम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको जीवनको आखिरी क्षण कस्तो रह्यो, सचित्र अगाडि छ । बुझ्ने, पढ्ने कुरा त आआफ्नै हो । कसले कुन कुरा कसरी बुझ्छ, त्यो उसको सोक्ने र स्मरण शक्तिमा भर पर्छ ।
मातृकाप्रसाद कोइरालालाई कसले हटायो, सन्तनेता कृष्णप्रसाद भट्टराई कसले चुनाव हरायो ? लौहपुरुष गणेशमान सिंहले जीवनका आखिर दिनमा के भन्नुभयो, के सहनुभयो, "संविधान पिता " सुशील कोइरालाको कुरा के थियोे ? कालान्तरमा शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाको सम्बन्ध बन्यो ? इतिहासका पन्नापन्नामा सुरक्षित तथ्यसँग साक्षत्कार कांग्रेसलाई थाहा छ । कोही कतै बहकियो भने पनि कांग्रेसलाई मजबुत बनाउन सकिन्छ । हिजो बनाइयो, भोलि पनि बनाउने नै हो । कांग्रेस व्यक्तिको भरमा मात्रै होइन, विधिले चल्छ । त्यसैले कांग्रेस बुझेका कांग्रेस नेता, कार्यकर्ताका लागि टुटफुट र जुट यति सामान्य विषय हो । कांग्रेस फुट्दैमा आकाश खस्दैन, धर्ती भाँसिदिन र कुनै उधुम र उत्पात भएको छैन र हुँदैन पनि । तर, अहिलेकै विवादले चाहिँ कांग्रेस फुट्दैन । किनकि, अहिलेको बहस सच्चिने कि सक्किने बीचको हो ।
यो इतिहास बुझेको कांग्रेस नेता, कार्यकर्तालाई पार्टी फुट्ला कि भन्ने चिन्ताले किन सताएको ? जसले यो बुझेको छ, उसलाई खास पीर छैन । पीर उसलाई छ, जो मालिकको वरिपरि घुमेर गणेश बनेकै भरमा सांगठनिक सत्ता र संसदीय फाँटको सत्तामा विराजमान भयो । चाकडीकै भरमा पद हत्यायो, प्रतिष्ठा कमायो। त्यो गुमाउनु पर्छ र पर्नेभो भन्ने भयले पार्टी फुटको हौवा फिँजाइएको हो । त्यसमा सबैभन्दा बढी डर नेता पुत्रपुत्री र "धर्मपुत्रपुत्री" लाई छ । जेसुकै भएपनि र आएपनि कांग्रेसको रुखमा भोट हालेका हात र मस्तिष्कलाई कांग्रेस फुट्ने रत्तिभर डर र किन्चित भ्रम छैन ।
कांग्रेसमा कहिँ गल्ती छ भने विधान नमान्ने गल्ती छ । विधानको दफा १७ ( २ ) नमान्ने अनि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने ? यस्तो गल्ती गर्ने अनि आफैँ र आसेपासेलाई मनमौजी बोल्न लगाउने सोच नै कांग्रेस विभाजन गराउने सुप्त तर डरलाग्दो खेल हो । नियम मिचेर यो खेल जसले खेलिरहेको छ, त्यही तह र तप्का कांग्रेस फुट्छ भनेर एकोहोरो कराइरहेको छ । यो ज्योतिषी राजनीति सिङ्गो कांग्रेसका लागि सर्वथा अहितकर छ । नेपाली राजनीति सिद्धान्तबाट कम चल्छ, त्यो बाटोबाट कम हिँड्छ । सही मार्ग गुमाएर अगाडि बढ्ने ज्योतिषी मार्ग नै नेपाल राजनीतिको लय नै हो । यो स्थापित संस्कार पनि हो ।पार्टी फुट्छ भनेर बलजफ्ती चिच्याइरहेको कांग्रेसको धार त्यही लयमा छ । खास कांग्रेसले खास बुझ्ने थुप्रै मध्येको खास बुझ्ने विषय चाहिँ यो नै हो ।
कांग्रेसलाई अहिलेको रुग्ण अवस्था पूर्वहरुको नचाहिँदो सम्मान र अनावश्यक रूपमा दिइएको स्पेसले सिर्जना गरेको हो । सँगै चुनाव लडेर उपविजेता बनेको व्यक्तिलाई दोस्रो मर्यादा क्रममा राक्न नसक्ने र चुक्ने कांग्रेस पूर्वपदाधिकारी बैठक गर्छ । अनि नन्ठासन्ठा निर्णय लिइन्छ र भनिन्छ, विशेष महाधिवेशन भयो भने, पार्टी फुट्छ । कांग्रेसले प्रयोग गर्दै आएको यो प्रयोग सदाका लागि विधिवत रुपमै अन्त्य गरिनुपर्छ । पार्टीले अव्यस्त रूपमा अभ्यास गरिरहेको केन्द्रीय कार्यसम्पादन समिति बैठक र पूर्वपदाधिकारीको बैठकको निर्णयलाई सर्वेसर्वा ठान्नु र मान्ने भयङ्कर कमजोरी गर्नु हुँदैन । यही कमजोरीका कारण कांग्रेसमा कलह झाँगिएको हो ।
पार्टीका ५४ प्रतिसत बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहितको माग र भावनालाई आत्मसात नगर्ने, केन्द्रीय कार्यसम्पादन समिति र पूर्वपदाधिकारीको निर्णय अकाट्य हुने भ्रम नै हो भने कांग्रेस विभाजनको प्रमुख कारक हो । विधान सम्मत विशेष महाधिवेशनको माग कांग्रेस विभाजनको कारण होइन र हुन सक्दैन । यो त अनुहारमा हिलो लाग्यो भने अनुहार धुन छाडेर ऐना पुस्ने अकर्म मात्रै हो । यही अकर्मले कांग्रेसमा अकर्मण्यताको पहाड खडा गरेको छ । कांग्रेसलाई सग्लो र सबल बनाउने हो भने कस्तुरीले बिना शरीरमा होइन, अन्यत्र खोजे जस्तो गर्न हुँदैन । कांग्रेसको रुपान्तरण र नेतृत्व हस्तान्तरण गर्ने हो भने ५४ प्रतिसतभन्दा बढीको आत्मनिर्णय सहितको हस्ताक्षरलाई बेवास्ता गर्न मिल्दैन ।
थरीथरी कांग्रेसले वर्तमानको प्रतिनिधित्व र भविष्यको नेतृत्व गर्न सक्दैन । मेरो "एक थोपो" नै पार्टी नेतृत्वका लागि काफी छ, अरुको खुन र पसिना दुर्गन्ध हो भने संक्रीर्ण सोच कांग्रेस रुपान्तरणको प्रमुख बाधक हो । फुटेको हल्ला पनि नेतृत्व हत्याउन त्यही कुनै जमातको प्रायोजित प्रपोगण्डा नहोला भन्न सकिन्न । पार्टी पद्धतिले चल्छ, प्रायोजित प्रपोगण्डाले चल्दैन ।बोलीमा कांग्रेसको सुन्दर भविष्यको सपना सजाएर मात्र हुँदैन, व्यवहार तदअनुरुप हुनु पर्छ । अन्यथा अहिले टालटुल पारेर चलाएको कांग्रेस निरन्तर चुहिनै रहन्छ । निरन्तर चुहेपछि भ्वाङ ठूलो पर्छ र एकदिन कांग्रेस फ्याट्ट हुन्छ । बगेको खोलो फर्कदैन, मौका आउँछ पर्खदैन भने झैँ अहिले अवसर छ , कांग्रेस सुधार्ने। कार्यकर्ताको भावनाको सम्मान गर्न र पार्टी सुधार्न नेतृत्व चुक्नु हुँदैन ।