धुलाबारी, जेठ १० । मेची उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष खेमराज प्रसाईले काकरभिट्टामा संघको सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । धुलाबारीमा आज आयोजित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण कार्यक्रममा स्वीकारोक्ति मन्तव्य राख्दै अध्यक्ष प्रसाईले भन्नुभयो, ‘यो कार्यकालमा उद्योगी व्यवशायीको सजिलोका लागि काकरभिट्टामा सम्पर्क कार्यालय सञ्चालन गर्छु ।’
दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएका अध्यक्ष प्रसाईले आफ्नो स्वीकारोक्ति मन्तव्यका क्रममा मेचीनगरका बजार क्षेत्रमा सडक बत्ती र सिसि क्यामेरा जडान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

पद हस्तान्तरण तथा सपथ ग्रहण समारोहकाबीच भर्खरै निर्वाचनबाट निर्वाचित अध्यक्ष सहित सबै पदाधिकारी र सदस्यहरुले सपथ खाएसंगै पदभार समेत ग्रहण गरेका हुन ।
नवनिर्वाचित अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा नेपाल उद्योण वाणिज्य महासंघका उपाध्यक्ष दिल सुन्दर श्रेष्ठ, मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेती, महासंघका केन्द्रीय सदस्यहरु रमेश रसाइली, गोकुल श्रेष्ठ, दिपक नेपाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई,मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल)ले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक पदम डाँगीले निर्वाचित हुनेहरुको घोषणा गर्नु भएको थियो । निर्वाचितहरुलाई प्रमुख अतिथि श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
पद हस्तान्तरण कार्यक्रम निवर्तमान महासचिव दिनेश शाक्य र नवनिर्वाचित महासचिव ध्रुव कनालले संयुक्त रुपमा सञ्चालन गर्नु भएको थियो ।

बैशाख २६ गते सम्पन्न संघको निर्वाचनबाट अध्यक्षमा प्रसाई सहित बरिष्ठ उपाध्यक्ष आनन्द खड्का, उद्योग उपाध्यक्षमा हरिप्रसाद कोइराला, वाणिज्य उपाध्यक्षमा सन्तोस खवास, महिला उपाध्यक्षमा उषा श्रेष्ठ, महासचिवमा ध्रुव कनाल निर्वाचित हुनु भएको थियो । त्यस्तै कार्यसमितिका सदस्यहरुमा अर्जुन तिवारी, आशिष संग्रौला, खिरोज बराल, सचिन निरौला, दिनेश पोखरेल, तारा श्रेष्ठ, राजेशकुमार बंशल र जय कुमार श्राफ निर्वाचित हुनु भएको थियो । संघको १६ सदस्यीय कार्यसमितिको महिला सदस्यमा कल्पना प्रसाई र चम्पा नेम्वाङ्ग विजयी हुनु भएको थियो ।