काकरभिट्टा, जेठ ११ । मेचीनगर लेडी जेसीजले गणतन्त्र दिवसको अवसर पारेर जेसीज सप्ताहको सुरुवात गर्ने भएको छ । लेडी जेसीजले सोमवार गरेको पत्रकार सम्मेलनमा जानकारी दिदैं अध्यक्ष रिता श्रेष्ठले जेठ १५ गते दौड प्रतियोगितासंगै जेसीज सप्ताह सुरु हुने बताउनु भयो ।
‘गणतन्त्र दिवसको अवसर पारेर जेसीज सप्ताह सुरु गर्दैछौं,’ पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘पहिलो कार्यक्रम खुुला महिला र पूरुष दौड प्रतियोगिता राखेका छौं ।’ वहाँका अनुसार मेचीनगर ६ को नकलबन्दाबाट काकरभिट्टास्थीत भट्टराई चौकसम्म साढे तीन किलोमिटर दुरीमा दौड प्रतियोगिता सञ्चालन हुनेछ । दौड प्रतियोगितामा मेचीनगर क्षेत्रका युवाहरुले मात्रै सहभागिता जनाउने पाउने छन भने विभागिय टिम नेपाल प्रहरी, नेपाल आर्मी र शसस्त्र प्रहरीका जवानहरुले भाग लिन नपाउने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
जेसीज सप्ताह अन्तर्गत मेचीनगर १० स्थीत जेसीज गाउँमा अचार बनाउने तालिम, ट्राफिक नियम पालना गर्ने सम्बन्धी सचेतना कार्यक्रम, झापाका प्रहरी प्रमुख बसुन्धरा खड्काको सहजिकरणमा साइबर सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम लगायतका सात वटा कार्यक्रम गरिने अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
काकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा झापा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष शंकर थापा, लाइन्स क्लव अफ मेचीनगरका अध्यक्ष दिपक कार्की, जिल्ला फुटबल संघ झापाका महासचिव सुन्दर बस्नेत, मेचीनगर लेडी जेसीजकी पूर्व अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष उषा श्रेष्ठ सहित स्थानीय अगुवाहरु समेतको उपस्थीति रहेको पत्रकार सम्मेलन मेचीनगर लेडी जेसीजकी महासचिव कल्पना प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।