आलोचना गर्न जति सहज हुन्छ, कसैको समर्थन गर्न त्योभन्दा हजार गुणा असहज हुन्छ । विरोधमा स्वर उराल्न निमेष लाग्दैन तर समर्थनको पक्षमा उभिन जुनीले पुग्दैन । समर्थनका लागि जुनीभर प्रयास गरेपनि असफल भएरै धेरैको इहलीला समाप्त हुन्छ । मानौँ, कतिपय मानिस कसैको समर्थन नै नगरी मर्छ, मरिन्छ । त्यसकारण म यो बेला पूर्ण समर्थनको कुरा गरिरहेको छु, विरोधको होइन ।
विरोध गर्नु भनेको विधि, प्रक्रिया र पद्धतिलाई अस्वीकार गर्नु हो । समर्थन निस्वार्थ हो, न त्यहाँ कुनै लोभ हुन्छ न प्राप्तिको आस नै । मलाई प्राप्तिको लोभ छैन । समर्थन गरे बापत स्वार्थको व्याज असुल्नु पनि छैन । त्यहीँ निस्वार्थ समर्थन गगनलाई ! यथार्थ नै हो, समर्थन गर्नेलाई आलोचना गर्ने अधिकार पनि हुन्छ । समर्थन नगर्नेलाई आलोचना गर्ने अधिकार हुन्न त भन्न सकिन्न । तर, त्यो आलोचना फगत आलोचनाका लागि मात्रै हुन्छ । यो चाहिँ स्थापित अभ्यास र प्रचलन नै हो ।
खुल्ला समर्थन गगनलाई भन्ने बित्तिकै मूर्त प्रसंग ! मेरो समर्थनको मूर्त पात्र हुन् - गगन थापा । मैले माथिनै भनिसकेँ मलाई प्राप्ति गर्नु छैन । कहिल्यै केही प्राप्त नगरेको र प्राप्तिको लोभनै नराखेपछि समर्थन गर्न कुनै आइतबार पर्खनु पर्दैन । बिना पर्खाई म गगनको पक्षमा दृढतापूर्वक उभिएको छु । भन्न चाहेको आइतबारको पर्खाइ मलाई आवश्यक नै छैन । गगन, त्यसमानेमा मेरो समर्थनका पात्र हुन् - उनीमा प्रष्ट भिजन छ । गल्ती स्वीकार्छन्, बिना हिच्किचाहट माफी माग्छन्, जो उनको सबैभन्दा ठूलो गुण हो । यही गुणले उनी अग्रणी छन् । गगन मात्र होइन, त्यति गर्ने ल्याकत राख्ने प्रत्येक व्यक्तिलाई कसैनकसैको खुल्ला समर्थन हुन्छ । सबैले भन्न नसक्नु बेग्लै कुरा हो । तर, गगन कांग्रेस भित्र अधीक समर्थनका पात्र हुन् ।
पवित्रताको जप भझाएर स्वार्थको पोखरीमा नुहाउने, त्यही पोखरीको पानी पिउने र त्यहीँ विष्टा गर्नेलाई के थाहा निस्वार्थ समर्थन कस्तो हुन्छ ? भजन मण्डलीहरुको स्वार्थभक्तिले अहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई कहाँ पुर्यायो । लोभको भाँडो नभरिएकाहरु समीक्षा गर्दै गर्नुस् । पापीहरुको समीक्षा पापमोचनका लागि हुन्छ, नवीन प्राप्तिका लागि हुन्न । म नवीन प्राप्तिका लागि समर्थन गरिरहेको छु, त्यो मेरा लागि होइन, मुलुक खातिर हो । मुलुकले पाउँछ भने मैले पित्को नपाउनु पर्नेले अर्थ राख्दैन । मुलुकका अघि म को नै हुँ र !
अब प्रश्न उठ्छ, गगनको समर्थन गर्दा मुलुकले के पाउँछ ? बितेका दुई दशकको समीक्षा गरौँ, जहाँ स्पातिलो जवाफ छ । जसलाई धार लगाउनै पर्दैन । धार भुत्तेलाई लगाउने हो, लाग्नेलाई होइन । स्पातिलो हतियारको धार नछामेकै बेस । हतियारसँग जिस्कन खोज्यो भने काट्छ, क्षति हुन्छ । गगन त्यही स्पात हुन् , उनलाई भुत्ते बनाउन नखोजौँ। उनी लडेर उठ्न सक्छन्, धुलो टक्टक्याएर अघि बढ्न सक्छन् । त्यो उनको विगतले पुष्टि गरेको छ । त्यसको चित्र दुनियाँ सामु छ । छायाँकपी खोज्नै पर्दैन ।
सामान्य परिवारको एउटा फुच्चे कुनै दिन सडकमा ढुंगा हान्दै थियो । त्यहीँ फोटो सबैले भँजाए र "भङ्जाहा" भने । नो मतलब ! गगन उनकै सुरमा थिए, अघि बढिरहे । पटकपटक राजद्रोहको मुद्दा ! कति गज्जब छ । हुने त्यही हो, गगन निरास भएनन् । अनेकन हन्डर खेपे , बेहोरे, तर झुकेनन् । इमानपूर्वक संघर्ष गरिरहे । हार उनका लागि होइन, हारलाई लल्कार्न उनी हुन् । नेविसंघको राजनीति गरे । महामन्त्री भए, सभापति हुने आकांक्षा पूरा भएन । प्रत्येक कांग्रेसलाई थाहा छ, उनी किन नेविसंघको सभापति भएनन् । कसले रोक्यो । नेविसंघको सभापति हुन रोकियो तर उनी रोक्नेकै ठाउँमा पुग्ने सपना सझाएर संघर्ष गरिरहे । दुईपटकको प्रयासमा लोकप्रिय मात्र होइन, सानदार मतका साथ पार्टी महामन्त्री भने । अब त्यो पदको वैधानिक आयु समाप्ति रेखामा छ ।
सडकमा ढुंगा हान्दै गरेको फुच्चेले नारायणहिटी हेर्यो, राजतन्त्र मूर्दावादको नारा लगायो । के पायो ? माउ पार्टीले उललाई हतोत्साहित बनायो । हतोत्साहित हुन मानिस अरुले बनाएर हुँदैन, आफैं हुनुपर्छ । गगन हतोत्साहित बनेनन् । आफ्नो मिसनमा लागिरहे , निरन्तर लागिरहे र लागिरहे । भाग्यभन्दा पनि गगन भरोसाको बिम्ब हो । अहिले त्यही बिम्ब गगनका सामु अग्नीपरीक्षाको रुप धारण गरेर स्वयं उनकै सामु ठिङ्ग उभिएको छ ।