२०७९ चैत २२ गते अर्थात सन २०२३ अप्रिल ५ तारीक । त्यो दिन धुलाबारी जेसीजको जन्मोउत्सव थियो । त्यही कार्यक्रमका बिच धुलाबारी जेसीज पुर्व अध्यक्षीय क्लबको समेत नयाँ अध्यक्ष चयन हुने दिन थियो । कार्यक्रमको निम्तालु भएकाले कार्यक्रमस्थल पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठान (टाउन हल) पुग्दा अब पुर्व अध्यक्षीय क्लबको अध्यक्षमा तेजप्रसाद चौलागाई चयन हुने थाहा भयो । मैले तेजु सर (तेजप्रसाद चौलागाई) को छेउमा नै पुगेर बधाई दिएँ । बधाई थाप्दै वहाँले भन्नु भयो, ‘दिपकको पालो हो, भरेसम्ममा दिपक टुप्लुक्क आईहाल्छ की ।’ तेजु सरले यसो भनिरहँदा दिपक भण्डारी दाईका कान्छा छोरा सुलभ भण्डारी पनि मेरो छेउमा थिए । सुलभ धुलाबारी जेसीजका वर्तमान उपाध्यक्ष पनि हुन । तेजु सरको कुराले म झल्याँस्स भएँ । ‘ओहो ! दिपक दाई त हराएको धेरै भयो, किन हामीले दिपक दाईलाई अझै खोजी गर्न सकेका छैनौं ।’ यस्तै यस्तै कुरा मनमा आयो । प्राय भेटमा ‘के छ ज्ञानेन्द्र’ भनेर चासो लिने दिपक दाई आज काँहा हुनुहुन्छ हामी कसैलाई थाहा छैन ।
मेरा लागि एउटा प्रेरणाका स्रोतका रुपमा रहनु भएका झापा धुलाबारीका सामाजिक तथा राजनितिक व्यक्तित्व दिपक भण्डारी २०७५ साल पुष ४ गते बिहान करीब १० बजेतिर घरकै छेउमा नै रहेको हिमालयन क्याम्पस जान्छु भनेर हिड्नु भएको थियो र आजसम्म सम्पर्क बिहिन हुनुहुन्छ । अहिलेसम्म वहाँको अवस्थाको बारेमा केही जानकारी आउन सकेको छैन । राज्यले पनि वहाँको बारेमा केही तथ्य सार्वजनिक गरेको छैन ।
नेकपा एमाले मेचीनगरका पुर्व अध्यक्ष, धुलाबारी जेसीजका पुर्व अध्यक्ष, धुलाबारी खानेपानी उपभोक्ता समूहका पुर्व सचिव तथा हिमालयन क्याम्पस धुलाबारीका सञ्चालक तथा तत्कालिन निर्देशक भण्डारी हराएको यति लामो समय हुँदा पनि अहिलेसम्म वहाँका बारेमा सत्यतथ्य सार्वजनिक नहुनु दुःखद कुरा हो ।
राजनितिक र सामाजिक अगुवा सम्पर्क बिहिन भएको लामो समय बितिक्दा समेत पनि वहाँको अवस्थाको बारेमा जानकारी बाहिर नआउनुको पछाडी के छ ? आफ्नै पार्टीको एउटा जिम्मेवार स्थानीय नेतृत्व हराएको यति लामो समयसम्म उसको अवस्थाका बारेमा थाहा पाउने गरी नेकपा एमालेले चासो किन नराखेको होला ? समाजको एउटा चलायमान सदस्य लामो समयसम्म कुनै जानकारी बिना एकाएक हराउँदा पनि समाजका अन्य व्यक्तिहरुबाट दिपक भण्डारीको खोजीका बारेमा किन चासो नलिएको होला ? परिवारको मुख्य अभिभावक अचानक हराएर लामो समयसम्म सम्पर्कमा नआउँदा पनि उनकै परिवारले खोजीका बारेमा गम्भिरता पुर्वक चासो किन नदेखाएको होला जस्तो लागिरह्यो । हुन त दिपक दाई हराएको केही समय यो समाज जुरुक्क उचालिएर वहाँको खोजीमा लागेकै हो । एउटा फोटोका कारण दिपक दाई भारतको सिक्किममा हुने अनुमान सहित एउटा समूह सिक्किमका विभिन्न स्थानमा पुगेर पनि दिपक दाईको खोजी नगरेको होईन ।
तर पनि दिपक दाई हराउनु पर्ने कारण अहिलेसम्म थाहा नभएको वा थाहा नदिइएको बिषयले आजसम्म पनि किन किन मन पिरोलिरहेको छ । मेचीनगर क्षेत्रमा हुने सबैखाले समाजिक तथा राजनितिक गतिविधिमा नछुट्ने नाम या भनौं छुटाउनै नहुने एउटा मान्छे आफ्नै घर आँगनबाट एकाएक हराउँछ र केही दिन हामी चल्मलाउँछौं अनि चुपचाप बस्छौं के यतिले मात्रै दिपक भण्डारीको खोजीले सार्थकता पाउला र ?
दिपक भण्डारी किन हराए भन्ने कारणसम्म आजका दिनमा यो समाजले थाहा पाउन सकेको छैन । हराउनुको कारण मात्रै थाहा पाउँदा पनि सायद वहाँको खोजी कार्यले सार्थकता पाउने थियो । समाजको एउटा अत्यन्तै सम्भावना बोकेको व्यक्तित्व हराउँदा प्रहरी प्रशासनले गर्नु पर्ने खोजी कार्यमा के कति काम गर्यो ? त्यो बारेमा प्रशासनको तर्फबाट अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन । के दिपक भण्डारीको खोजी कार्य बन्द गरिएको हो वा बन्द गराइएको हो ? यो बारेमा गम्भिर बहस गर्नु पर्ने देख्छु ।
यस्ता अन्य घट्नाहरुमा एउटा निश्चित समय पछि प्रहरी प्रशासनले घट्नाका बारेमा प्राप्त तथ्यहरुको बारेमा सार्वजनिक गर्ने गरेको पाईन्छ तर दिपक भण्डारी दाई हराएको बिषयमा त्यो काम पनि अहिलेसम्म स्थानीय प्रशासनले गरेको छैन ।
दिपक दाई पुर्वी नाका काकरभिट्टाबाट पैदलै हिडेर पुर्व भारततर्फ जाँदै गरेको वहाँ हराएकै दिनको सिसि क्यामेराको भिडियो सार्वजनिक भएको थियो । मैले बुझेसम्म सायद त्यही भिडियोको कारण वहाँको खोजी कार्य बन्द भएको हुुनु पर्छ । त्यो भिडियो सार्वजनिक भए पछि ‘दिपक दाईलाई कसैले जबरजस्ती लगेको होईन वा अपहरण गरेको होईन वहाँ आफैं हिड्नु भएको हो’ भन्ने एक खाले हल्ला चल्यो । तत्कालिन समयमा हेर्दा त्यो बुझाई ठिकै पनि हो जस्तो लाग्यो । तर दिपक दाई एकाएक सम्पर्क बिहिन हुनु पर्ने कारण चैं के हो त ? यस बारेमा सोच्दै जाँदा त्यो भिडियो कतै नियोजित तवरबाट सार्वजनिक गराईएको त थिएन ? भन्ने पनि कता कता मनले सोचीरहेको छ । कुनै चिने जानेकै व्यक्तिले वहाँलाई पानीटेंकी तिर आउनु भनेर बोलाएको त थिएन ? वहाँलाई हिडेर आउन बाध्य त पारिएको थिएन ? अनि त्यो भिडियो सार्वजनिक गरेर दिपक दाईको खोजीलाई बन्द गराईएको त होईन भन्ने तर्फ पनि किन किन मेरो मन कुद्न थालेको छ । आखिर विभिन्न समस्यामा पनि चट्टान झैं उभिन सक्ने मान्छे एकाएक किन हराउनु पर्यो ? दिपक दाई हराए पछि प्रहरी प्रशासनले अनुसन्धान गर्ने क्रममा के के काम गर्यो ? वहाँ हराउँदा को को व्यक्ति वहाँको नियमित सम्पर्कमा थिए र कस कसलाई अनुसन्धानका क्रममा जानकारी लिने काम भयो ? काहाँसम्म पुर्याएर वहाँको फाइल बन्द गर्यो वा गराइयो यस बिषयमा प्रहरी प्रशासनले आजसम्म केही बिषय सार्वजनिक गरिसकेको छैन ।
यो समाजमा बस्नै नसक्ने दिपक दाईबाट के त्यस्तो काम भएको थियो र वहाँ हराउनु पर्यो ? यी प्रश्नको उत्तर नखोजी यो समाजले दिपक भण्डारी दाईलाई यसै बिर्सिनु हुँदैन र बिर्सन पाउँदैन । वहाँको खोजीमा अझै पनि स्थानीय प्रशासनले चासो दिन आग्रह गर्दछु । साथै दिपक भण्डारी दाईको खोजीमा आजका दिनसम्म भएका प्रगति विवरण सार्वजनिक गर्न पनि प्रहरी प्रशासनसंग अनुरोध छ ।