चारआली, बैशाख १७ । झापाको मेचीनगर १३ स्थीत हातेमालो सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले संस्थामाथी लागेको अनियमितताको आरोप प्रति गम्भिर आपत्ती जनाएका छन । केही अनलाईन समाचार पत्रमा वनका अध्यक्षले मनोमानि गरेर करोडौं अनियमितता गरेको भनेर समाचार आएको प्रति आपत्ती जनाउँदै वन समूहका पदाधिकारी तथा सदस्यहरुले त्यस्तो तथ्य हिन समाचार प्रकाशन गर्ने बिरुद्ध कानूनी उपचार खोज्ने बताएका छन ।
वन समूहका तर्फबाट बुधबार पत्रकार सम्मेलन गर्दै समूहका अध्यक्ष चन्दप्र्रसाद सिग्देलले अनियमितताको समाचार प्रति गम्भिर सहसमति राख्दै त्यस बिरुद्ध कानूनी उपचार खोज्ने बताउनु भयो । ‘हाम्रो वन समूहको बजेट नै नभएको रकम अनियमितता भयो भनेर समाचार आयो,’ अध्यक्ष सिग्देलले भन्नुभयो, ‘यस्तो गलत समाचारमा व्यक्तिको फोटो समेत राखेर प्रकाशन गरियो, त्यस बिरुद्ध कानूनी उपचारमा जान्छौं ।’
‘प्रत्येक बर्ष साधारण सभाले कार्यसमिति र विभिन्न उपसमितिले गरेका कामको प्रतिवेदन सहित लेखा परीक्षकको प्रतिवेदन अध्ययन गरी छलफलबाटा पारित गरिएको हुन्छ,’ अध्यक्ष सिग्देलले भन्नुभयो, ‘यो पटक पनि भर्खरै साधारण सभा सकिएको छ, साधारण सभाले सबै हिसाब किताबका बिषयमा बिस्तृत छलफल गरेर पारित गरेको छ ।’

पत्रकारले सम्झौता नगरी विज्ञापन छापेर संस्थाले दिन नसक्ने मोटो रकमको बिल ल्याएको र उक्त रकम तिर्न नसक्ने भने पछि पत्रकारले धम्क्याएको समेत अध्यक्ष सिग्देलले पत्रकार सम्मेलनमा बताउनु भयो । ‘पत्रकारले मागेको पैसा संस्थाले दिन सक्दैन भने पछि गलत समाचार छापिएको हो,’ अध्यक्ष सिग्देलले भन्नुभयो ।
समाचारमा भनिए जस्तो कुनै पनि खालको आर्थिक अनियमितता भएको पुष्टि भए आफुहरु जस्तोसुकै सजाय भोग्न तयार रहेको अध्यक्ष सिग्देल सहित उपाध्यक्ष राधिका सुब्बा, सचिव यामकान्त प्याकुरेल, कोषाध्यक्ष कुसुम कटुवाल र सहसचिव सन्तोस लिम्बुले पत्रकार सम्मेलनमा बताउनु भयो । पत्रकार सम्मेलनमा उपस्थीत उपसमितिका सदस्यहरुले समेत आर्थिक अनियमितताको आरोपको खण्डन गरेका थिए ।
‘हामी भित्रको छलफल कम हुनु र काम बाँडफाँडको कुरा नमिल्दा हामीले असहमति जनाएको हो,’ उपसमितिका सदस्य चन्द्रकला राईले भन्नुभयो, ‘तर भ्रष्टाचार गरेको कुरा गलत हो, यस्तो कुरा हाम्रो समूहको कसैले पनि गरेको छैन ।’
अध्यक्ष सिग्देलका अनुसार कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट आर्थिक वर्ष २०८०/८१ मा २५ लाख रुपैयाँ निकासा भएर सोझै मन्त्रालयबाटै ठेक्का लागेर पानी फोहोरा निर्माण भएको,सोहि आर्थिक वर्षमै १८ लाख रुपैयाँमा खेल मैदान निर्माणका लागि विनियोजित भएर हातेमालो सामुदायिक वनको कार्यालय भवन नजीकै खेल मैदान निर्माण गरिएको, त्यसमा चार लाख ५० हजार रुपैयाँ संस्थाका तर्फबाट थप गरी कुल २२ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
त्यस्तै जलाधार इकाई कोशी प्रदेशबाट जलासय निर्माण तथा बाँध निर्माणका लागि २५ लाख तीन हजार ८७ रुपैयाँ प्राप्त भएको साथै आर्थिक वर्ष २०८१/८२ मा ओभरफ्लो निर्माण तथा जलासाय विस्तारमा ४३ लाख पाँच सय १० रुपैयाँ अनुदान आएको र बाँध तथा ओभरफ्लो निर्माणमा यस समूहको थप १० लाख आठ हजार दुई सय ९० रुपैयाँ समावेश गरी बाँध र ओभरफ्लो निर्माण गरिएको अध्यक्ष सिग्देलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाइएको छ ।
हात्ती तारवार निर्माण गर्न ५८ हजार नौ सय १८ रुपैयाँ डिभिजन बन कार्यालयबाट अनुदान प्राप्त भएको गत आर्थिक वर्ष कोशी प्रदेश पर्यटन कार्यालयबाट ठेक्का लागेर कोशी प्रदेश सभा सदस्य सविना बजगाईँको पहलमा २५ लाख रुपैयाँ विनियोजन भएर चिल्ड्रेन पार्क र सिमसार प्रवेशद्वारनिर्माणाक लागि मन्त्रालयबाटै ठेक्का लागेको समेत विज्ञप्तिमा उल्लेख छ । उक्त कामका लागि ८६ लाख ६२ हजार पाँच सय १५ रुपैयाँ समूहको खातामा प्राप्त भएको अनुदान रकम र ५० लाख मन्त्रालयबाटै ठेक्का लागेको पत्रकार सम्मेलनमा बताइएको छ ।
मेचीनगर वडा नं. १३ र १४ कार्यक्षेत्र रहेको हातेमालो सामुदायिक वनका क र ख बर्ग गरी करीब ३ हजार उपभोक्ता रहेका छन ।