धुलाबारी, बैशाख १९ । नेपाल उद्योग वाणिज्य संघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्योग स्थापनामा जोड दिएर रोजगारी श्रृजना गर्नु पर्ने बताउनु भयो । मेची उद्योग वाणिज्य संघको २१ औं साधारण सभामा प्रमुख अतिथिका रुपमा बोल्दै राउतले कोशी प्रदेशमा कृषि, पर्यटन र शिक्षासंग सम्बन्धित उद्योग स्थापना गरेर रोजगारी बढाउन सकिने बताउनु भयो ।
‘जबसम्म उद्योग स्थापना हुँदैन, तबसम्म रोजगारी बृद्धि हुँदैन,’ अध्यक्ष राउतले भन्नुभयो, ‘कोशी प्रदेशमा कृषि र पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना छ ।’ वहाँले राज्यको स्रोत परिचालनमा समेत वाणिज्य संघहरुले अग्रसरता लिनु पर्ने बताउनु भयो ।
प्रतिवेदन वाचन गर्दै अध्यक्ष प्रसाई ।
कार्यक्रममा मेची उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष पन्नालाल जैन, पुर्व अध्यक्ष केशवराज पाण्डे, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्रकुमार शाह, मेचीनगरका पुर्व नगरप्रमुख बिमल आचार्य लगायतले उद्योगी व्यवशायीहरुलाई अप्ठ्यारो परेका बेला राहतका लागि वाणिज्य संघले व्यवस्थापन गर्नु पर्नेमा ध्यानाकर्षण गराउनु भएको थियो ।
संघको साधारण सभामा आर्थिक पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका झापा सम्बाददाता गणेशमान मुखियालाई सम्मान गरिएको थियो । मुखियालाई प्रमुख अतिथि राउतले नगद २१ हजार र सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो । साधारण सभाकै अवसरमा संघमा आबद्ध विभिन्न व्यवशायहरुमा विभिन्न कारणले भएको क्षतीको राहत पनि वितरण गरिएको थियो ।
सम्मान ग्रहण गर्दै पत्रकार मुखिया ।
संघका अध्यक्ष खेमराज प्रसाईको सभापतित्वमा सम्पन्न साधारण सभामा बरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल) ले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाको बार्षिक गतिविधि महासचिव दिनेश शाक्यले प्रतिवेदनमार्फत प्रस्तुत गर्नु भएको थियो ।
धन्यवाद मन्तव्य राख्दै बरिष्ठ उपाध्यक्ष क्षेत्री ।
पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठान धुलाबारीमा सम्पन्न साधारण सभाको उदघाटन सत्रमा बरिष्ठ उपाध्यक्ष क्षेत्रीले सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने महासचिव शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । साधारण सभाको बन्द सत्रले सभामा प्रस्तुत भएका अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिवको प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।
