धुलाबारी, जेठ १६ । मेचीनगर लेडी जेसीजको आयोजनामा आज धुलाबारीका ट्याम्पो तथा सिटि रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । झापाको धुलाबारी चोकमा आयोजित उक्त कार्यक्रममा धुलाबारी क्षेत्र भएर सञ्चालन भइरहेका ट्याम्पो तथा सिटि रिक्सा चालकहरुका लागि ट्राफिक नियमसहित सवारी कागजात, दुर्घट्ना हुन नदिन गरिने सजगता लगायतका बिषयमा जानकारी गराइएको मेचीनगर लेडी जेसीजकी अध्यक्ष रिता प्रधान श्रेष्ठले बताउनु भयो ।
झापा ट्राफिकका बरिष्ठ सई नारायण राईले ट्याम्पो तथा सिटि रिक्सा चालकहरुलाई बढ्दो दुर्घट्ना न्यूनीकरण गर्न कसरी सवारी चलाउने, सडक मर्मत भइरहेकाले त्यसमा कसरी ध्यान दिन सकिन्छ, ट्रयाम्पो तथा सिटि रिक्साको कागजात कसरी सुरक्षित राख्ने, कानूनी प्रक्रिया पुरा गरेर कागजात कसरी बनाउने जस्ता बिषयमा अभिमूखिकरण गर्नु भएको थियो ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष श्रेष्ठको सभापतित्व तथा मेचीनगर १० का पुर्व वडाअध्यक्ष सुवेशकुमार पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेची सामुदायिक सेवा केन्द्र काकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल, अभिवक्ता अजय घिमिरे, पत्रकार ज्ञानेन्द्र निरौला लगायतले मन्तव्य राख्दै ट्राफिक नियम पालना गर्नले सम्भावित दुर्घटनाबाट हुने क्षती कम गर्न सहयोग पुग्ने बताउनु भयो ।
जेसीज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रमका रुपमा रहेको ट्राफिक नियम सचेतना कार्यक्रममा लेडी जेसीजका पुर्व अध्यक्षहरु टिका सुवेदी, शोभा श्रेष्ठ नेम्वाङ, सुनिता पनेरुसहित जेसीजका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको कार्यक्रमकी संयोजक सोनिका भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।
लेडी जेसीजकी उपाध्यक्ष सरिता अधिकारीले आस्था वाचन गर्नु भएको कार्यक्रम श्रृजना घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । जेसीज सप्ताहको पहिलो कार्यक्रमका रुपमा लेडी जेसीजले शुक्रबार बिहान मेचीनगर ६ को नकलबन्दादेखि भट्टराई चोकसम्मको महिला तथा पुरुष दौड प्रतियोगिता सम्पन्न गरेको थियो ।