“कुनै पनि समाजको उन्नति त्यस समाजमा भएका भवन वा भौतिक पूर्वाधारले होइन, त्यहाँका मानिसहरूको उच्च चरित्र र शुद्ध विचारले निर्धारण गर्छ ।” -स्वामी विवेकानन्द
देश फेरि स्थानीय तहको निर्वाचनको चरणमा प्रवेश गर्न लागेको छ । आफ्नो गाउँ, नगर र वडाको नेतृत्व गर्ने हुटहुटी र आकांक्षा बोकेका व्यक्तिहरू आन्तरिक तयारीमा जुट्न थालिसकेका छन् । नगर वा वडामा को मेयर, उपमेयर, वडाध्यक्ष वा सदस्य बन्ने भनेर चर्चा सुरु हुन थालिसकेको छ । आजको लेखको मूल विषयमा प्रवेश गर्नुअघि केही दिनअघि घटेका दुई घटना सम्झन चाहन्छु । ती घटनाले नै यो लेख लेख्न मलाई प्रेरित गरेका हुन् ।
नवरात्रको षष्ठीको बिहान म धुलाबारीदेखि मागुरमाडी हुँदै मंगलबारे जोडिने बाटोमा साइकल चलाउँदै थिएँ । मलाई यो बाटोमा साइकल चलाउन निकै मन पर्छ । यो बाटो साँच्चै सुन्दर बनेको छ । केही माथिसम्म साइकल चलाएपछि म साइकल डोर्याउँदै पैदल हिँडिरहेको थिएँ । अलिक पुरानो, इजार बाँधेको कालो हाफ पाइन्ट, खेतबारीको माटोमा लडिबुडी गर्दा माटाका कणले शृङ्गारिएको, टाँक खुलेको इस्टकोटभित्र कुच्चिएको आकासे रङको हाफ बाउले सर्ट, शिरमा ढाकाको टोपी र खुट्टामा फिते चप्पल लगाएर काँधमा कोदालो बोकी उमेरले मेरो बुबाको पुस्ताका एक जना व्यक्ति मेरो विपरित दिशाबाट आउँदै हुनुहुन्थ्यो । परिश्रम, अनुभव र परिपक्वताको झल्को दिने गालाका रेखाहरूमा मुस्कानले अझ गाढापन थप्दै ती अपरिचित बाले विनम्रतापूर्वक मलाई सोध्नुभयो, “के भयो बाबु, साइकल बिग्रियो कि” मैले जवाफ दिएँ, “होइन बा, साइकल ठीकै छ । मलाई यसै हिँड्न मन लागेर हिँडेको ।” “उसो भए ठीकै छ” भन्दै उहाँ आफ्नो बाटो लाग्नुभयो ।
अर्को दिन शनिबार थियो । प्रायः शनिबार हामी साथीभाइ चियागफमा भेला हुनेगर्छौँ । साथी श्याम र दाजु अनुज एउटा घटनाको चर्चा गर्दै हुनुहुन्थ्यो । उहाँहरूका अनुसार, १८–२० वर्ष उमेर समूहका १५–२० जना युवाहरूले झगडा नगर्न सम्झाउने बुबासमान व्यक्तिमाथि सामान्य निहुँमा योजनाबद्ध रूपमा सामूहिक कुटपिट गरेका थिए । अघिल्लो दिन ती बाले मप्रति देखाएको सद्भाव र भोलिपल्ट युवाहरूको घटनाबारेको चर्चाले मलाई हाम्रो वर्तमान सामाजिक अवस्थाबारे सोच्न बाध्य बनायो । ती दुई घटना मेरो मानसपटलमा केवल सामान्य घटक मात्र नभएरहिजो र आजको दुई फरक समाजको चित्रण जसरी घुमिरह्यो ।
अब विषय प्रवेश गरौँ । लामो राजनीतिक संक्रमण, व्यवस्था परिवर्तन र ठूलो बलिदानपछि नेपालमा संघीयता लागू हुँदा आम नागरिकमा एउटा बलियो भरोसा थियो कि अब विकासको परम्परागत ढाँचा भत्किनेछ र नागरिकको जीवनस्तरमा गुणात्मक परिवर्तन आउनेछ । तर, संघीयता कार्यान्वयन भएको करिब एक दशकको अनुभवलाई नियाल्दा स्थानीय तहहरूको विकाससम्बन्धी बुझाइ, बजेटको प्राथमिकता र कार्यशैलीमाथि एउटा गम्भीर प्रश्न उठ्छस् के विकास भनेको ढुङ्गा, माटो, सिमेन्ट, अलकत्रा र डोजरको प्रयोगबाट भौतिक संरचना निर्माण गर्नु मात्र हो र रु देशका अधिकांश स्थानीय तहमा विकासको अवधारणा संकुचित बनेको देखिन्छ । भौतिक संरचनाहरू विस्तार हुँदै गर्दा समाजको वास्तविक मेरुदण्ड मानिने मानवीय क्षमता, सामाजिक चेतना, सुशासन र नैतिक आदर्श भने कमजोर हुँदै गइरहेका छन् । यसतर्फ भने यथेष्ट ध्यान पुग्न नसकेको देखिन्छ ।आगामी स्थानीय निर्वाचन नजिकिँदै गर्दा मतदाता र उम्मेदवार दुवैले एउटा गम्भीर प्रश्नमा मन्थन गर्नुपर्ने बेला आएको छस् हामीलाई केवल “ढुङ्गाको विकास” चाहिएको हो कि “मान्छेको विकास ?”
नगरका कुना–कुनामा करोडौँ रुपैयाँ खर्चेर पक्की सडक, नाला र भ्यु–टावरहरू बनिरहेका छन् । तर विडम्बना, ती सडकले युवाहरूलाई स्थानीय स्तरमा अवसर र आत्मसम्मान दिलाउनुको सट्टा विमानस्थल हुँदै विदेश पलायनको बाटो देखाइरहेका छन् । योग्यताअनुसार अवसर र कदर नहुँदा ऊर्जावान् युवाहरूमा भविष्यप्रति चरम अन्योल, निराशा र कुण्ठा व्याप्त छ । रोजगारी र सिर्जनात्मक अवसरहरूको अभावमा उत्पादक उमेरका युवाहरू या त विदेश पलायन भइरहेका छन्, या घरमै बसेर मोबाइल, अनलाइन गेमिङ र सामाजिक सञ्जालको अत्यधिक अस्वस्थकर प्रयोगमा फसिरहेका छन् । अझ भयावह सामाजिक यथार्थ के छ भने सीमावर्ती क्षेत्रका कतिपय ठाउँमा युवा पुस्ता लागुऔषधको दुर्व्यसनमा समेत तीव्र रूपमा फस्दै गइरहेका छन् । यो सामाजिक संकटले हाम्रो सांस्कृतिक र पारिवारिक संरचनालाई समेत कमजोर बनाउँदै लगेको छ । स्थानीय सरकारहरूले युवा क्षमता र मानसिक स्वास्थ्य निर्माणमा लगानी गर्नुको सट्टा बजेटको ठूलो हिस्सा स्वागतद्वार र सिमेन्टेड संरचनामा खर्च गर्दा समाजमा गम्भीर “बौद्धिक खडेरी” स्पष्ट देखिन्छ । पुस्तकालयहरू सुनसान छन्, सिर्जनशीलता हराउँदै गएको छ र समसामयिक विषयमा बौद्धिक चिन्तन तथा स्वस्थ बहस गर्ने थलोहरू कमजोर हुँदै गएका छन् । सामाजिक व्यवहार र सामाजिक सद्भाव कमजोर बन्दै गइरहेको छ ।
यो संकटको पछाडि स्थानीय सुशासनको कमजोरी र संस्थागत क्षमताको अभाव रहेको देखिन्छ । विश्व बैंकको परिभाषाअनुसार, सुशासन भन्नाले विकासका लागि आर्थिक तथा सामाजिक स्रोतसाधनको व्यवस्थापनमा शक्ति प्रयोग गरिने तरिका बुझिन्छ । तर, हाम्रा स्थानीय तहहरूमा सार्वजनिक शक्तिको प्रयोग नागरिकको क्षमता विकासमा भन्दा ठेक्कापट्टा र कमिसनमुखी योजनाहरुमा बढी केन्द्रित भएको देखिन्छ । विकासका नाममा बिना योजना खनिएका सडकहरूले वातावरणीय क्षति र विनाश निम्त्याएका छन् । समाजमा सुशासनको अभाव र नीतिगत भ्रष्टाचार व्याप्त हुँदा योग्य युवाहरू पाखा लाग्छन् र पहुँचवालाहरूले मात्र अवसर पाउँछन् । सफलताको मापन केवल पैसा र भौतिक सम्पत्तिसँग जोडिँदा नैतिक तथा आदर्शवान् समाजको जग हल्लिएको छ । युवाहरूले समाजमा इमानदार र नैतिक व्यक्तिभन्दा पैसा र पहुँच भएका व्यक्तिहरूले बढी सम्मान पाएको देखिरहेका छन् । यसले छिटो धनी बन्ने होडबाजी, अपराध र लागुऔषध दुर्व्यसनलाई प्रश्रय मिलिरहेको छ । हामीले भौतिक संरचना त बनायौँ, तर ती संरचनाभित्र बस्ने नैतिक नागरिक र आदर्श समाज बनाउन पूर्ण रूपमा बिर्सियौँ ।
अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त अमर्त्य सेनको विकाससम्बन्धी दृष्टिकोणअनुसार, वास्तविक विकासले मानिसको छनोटको स्वतन्त्रता र क्षमता विस्तार गर्छ । यदि कुनै नगरमा करोडौँको सडक वा भवन बनेको छ, तर त्यहाँका युवाले आफ्नो क्षमताअनुसारको काम पाउँदैनन् वा नागरिकको स्वास्थ्य र चेतनाको स्तर खस्कँदो छ भने त्यो विकास होइन । त्यस्तै, ग्रीक दार्शनिक एरिस्टोटलको विचारमा राज्यको उद्देश्य नागरिकलाई ‘युडेमोनिया’ अर्थात् सद्गुणपूर्ण र समृद्ध जीवनतर्फ उन्मुख गराउनु हो । उत्कृष्ट जीवन भनेको पक्की भवनमा बस्नु मात्र होइन । स्वस्थ शरीर, सिर्जनशील सोच, कला र संस्कृतिप्रतिको अनुराग तथा नैतिक समाजको सदस्य बन्न पाउनु पनि उत्कृष्ट जीवनका आधार हुन् । हाम्रा स्थानीय तहहरूले भौतिक पूर्वाधारकेन्द्रित दृष्टिकोणबाट माथि उठेर यी मानवीय र दार्शनिक आयामलाई आत्मसात् गर्न ढिला भइसकेको छ ।
विश्वका र हाम्रै छिमेकी देशका सफल शहरहरूले पूर्वाधारलाई कला, संस्कृति र जनस्वास्थ्यसँग जोडेर नागरिकको जीवनस्तर बदल्ने प्रयास गरेका छन्, जुन हाम्रा लागि उत्कृष्ट पाठ हुन सक्छन् । आज जापानमा इकिगाईको अवधारणालाई अपनाएर सय वर्षभन्दा बढी उमेर बाँच्ने जनसंख्या सबैभन्दा धेरै पुगेको छ । डेनमार्कको कोपनहेगनले सुरक्षित साइकल पूर्वाधारलाई प्राथमिकता दिँदै साइकलमैत्री शहरको विकास गरेको छ । फ्रान्सको पेरिसले १५ मिनेटे शहर अवधारणालाई अघि बढाउँदै नागरिकले घरबाट पैदल वा साइकलमार्फत छोटो समयमै स्वास्थ्य, शिक्षा, पार्क र मनोरञ्जनका सुविधा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्ने प्रयास गरेको छ । यसले लामो ट्राफिक जामको मानसिक तनाव घटाउन र सामाजिक घुलमिल बढाउन सहयोग पुर्याएको छ । दक्षिण कोरियाको सियोल शहरले पुरानो राजमार्गको संरचना हटाएर छोङ्गेछोन खोलाको पुनर्स्थापना गरेको थियो । यसले शहरमा खुला सार्वजनिक क्षेत्र र प्राकृतिक वातावरण पुनर्जीवित गर्ने प्रयासलाई उदाहरणका रूपमा प्रस्तुत गर्छ । अझ, हाम्रै भौगोलिक र सांस्कृतिक परिवेशसँग मिल्ने छिमेकी राष्ट्र भारतको मेघालयस्थित मावलिनोङ गाउँले सामुदायिक सरसफाइ र वातावरण संरक्षणमा जोड दिँदै विश्वकै स्वच्छ गाउँको पहिचान बनाएको छ । त्यस्तै, राजस्थानको पिपलान्त्री गाउँमा पूर्व सरपञ्च श्यामसुन्दर पालीवालले आफ्नी स्वर्गीय छोरी किरणको सम्झनामा छोरी जन्मिँदा १११ वटा रूखका बिरुवा रोप्ने परम्परा सुरु गरेका थिए । यस अभ्यासलाई वातावरण संरक्षण र छोरीप्रतिको सकारात्मक सामाजिक दृष्टिकोणसँग जोडेर प्रस्तुत गर्न सकिन्छ ।
यी अभ्यासहरूले के देखाउँछन् भने अब नेतृत्व लिन चाहने उम्मेदवारहरूले आफ्नो चुनावी घोषणापत्रमा कालोपत्रे सडक, डोजर र कंक्रिटको हिसाब मात्र होइन, मानवीय तथा सामाजिक रूपान्तरणको ठोस खाका पनि प्रस्तुत गर्नुपर्छ । हामीलाई यस्तो नेतृत्व चाहिएको छ, जसले बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधारमा मात्र होइन, सामुदायिक चेतना अभिवृद्धि, युवा नवप्रवर्तन, रोजगारी सिर्जना, सामाजिक सद्भावको संरक्षण, नैतिक तथा बौद्धिक समाज निर्माण र आधुनिक सीप विकासमा पनि लगानी गरोस् । युवाहरू डिजिटल कुलत र लागुऔषधको दुर्व्यसनबाट टाढा रहँदै प्रविधिको सही प्रयोगमार्फत स्थानीय स्तरमै उद्यमशीलता, सूचना प्रविधि र बौद्धिक चिन्तनमा संलग्न हुन सक्ने वातावरण निर्माण गरिनुपर्छ । अबको समयमा मानसिक स्वास्थ्यको विषयलाई स्थानीय सरकारले आफ्नो प्राथमिकतामा राख्नैपर्छ ।
स्वास्थ्य नीति अस्पतालका शय्या संख्या बढाउनेमा मात्र सीमित हुनु हुँदैन । रोगको जोखिम घटाउने र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने रोकथाममुखी शहरी डिजाइनमा पनि आधारित हुनुपर्छ । खुला हरियाली पार्क, खेलमैदान, पैदलयात्रीमैत्री सडक, चिया बगानका छेउछाउ र नदी किनारहरूलाई हरित करिडोर तथा साइकल ट्र्याकका रूपमा विकास गरिनुपर्छ, ताकि नागरिकले स्वच्छ हावा लिन र शारीरिक व्यायाम गर्न पाऊन् । यसका साथै, पुराना सम्पदा तथा मेचे, सन्थाल र राजवंशीलगायत स्थानीय समुदायका मौलिक संस्कृति, परम्परा र वास्तुकलाको संरक्षण गर्दै स्थानीय सांस्कृतिक पर्यटनको आधार निर्माण गरिनुपर्छ । स्थानीय मौलिक परम्परा, कला, संस्कृतिसँग आउँदो पुस्तालाई परिचित गराउँदै थप खोज र संरक्षणका निम्ति प्रोत्साहन गर्नुपर्छ । यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन र युवामा आफ्नो सभ्यताप्रति गौरवबोध गराउन सहयोग पुर्याउन सक्छ ।
अन्त्यमा, आगामी स्थानीय निर्वाचन दल र उम्मेदवार परिवर्तन गर्ने भन्दै परम्परागत प्रक्रियामा मात्र केन्द्रित हुनु हुँदैन । यो विकाससम्बन्धी पुरानो सोच बदल्ने वैचारिक परिवर्तन र नागरिक चेतनाको परीक्षा पनि बन्नुपर्छ । मतदाताहरूले अब उम्मेदवारसँग कति किलोमिटर सडक कालोपत्रे भयो वा हुनेछ भनेर मात्र होइन, युवाहरूलाई दुर्व्यसनबाट जोगाउने, स्थानीय स्तरमै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने तथा उनीहरूलाई नगरमै बस्न प्रोत्साहित गर्ने कस्तो योजना छ भनेर पनि प्रश्न गर्न सक्नुपर्छ । डिजिटल निराशाबाट जोगाउने कस्ता सामाजिक–सांस्कृतिक मञ्चहरू छन् र स्थानीय प्रशासनमा पारदर्शिता तथा सुशासन कायम गर्न केकस्ता पहलको खाका छ भन्ने पनि सोध्नुपर्छ । विकासको अर्थ सडक चौडा हुनु मात्र होइन, नागरिकको सोच र चेतना पनि चौडा हुनु हो । पुल बलियो हुनु मात्र होइन, समाजका विभिन्न तप्काबीचको सम्बन्ध र सामाजिक सद्भावको पुल बलियो हुनुपनि हो ।
ढुङ्गाको विकासबाट मान्छेको विकासतर्फको यो यात्रा चुनौतीपूर्ण पक्कै छ । तर, एउटा जीवन्त, स्वस्थ र नैतिक समाज निर्माणका लागि यो अपरिहार्य छ । विकासको केन्द्रमा मानव जीवन, मानवीय क्षमता र नागरिकको खुसीलाई राख्न नसकिएसम्म हाम्रो विकास अपूर्ण रहनेछ । स्वामी विवेकानन्दको विचारमा व्यक्त भएजस्तै उन्नत समाज निर्माणका लागि विकासको केन्द्रमा ढुङ्गा होइन, मानव हुनुपर्छ । भौतिक पूर्वाधार विकास सामाजिक विकासका केवल साधन हुन् साध्य त मानव नै हो र मानव नै हुनुपर्छ । मानव जीवनको गुणस्तर र क्षमतामा सुधार ल्याउन नसक्ने विकास सदैव अपूर्ण हुन्छ ।