झापा,भदौ ३१ । करिब चार महिना पछि सार्वजनिक सवारी साधनको दर्ता खुला भएको छ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि लागू हुने गरी सर्तसहित नयाँ सवारी दर्ता खुला गरेको हो ।
विभागले सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सम्पूर्ण स्थानीय तहलाई पत्राचार गर्दै काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि छुट्टाछुट्टै मापदण्ड तोकेर दर्ता खुला गरिएको जानकारी गराएको छ ।
नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय (ईभी) सार्वजनिक यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिई दर्ता खुला गरिएको छ ।
त्यसैगरी, काठमाडौँ उपत्यकाभित्रको बढ्दो सवारी चाप र रुट व्यवस्थापनलाई ध्यानमा राख्दै उपत्यकामा भने सीमित सवारीलाई मात्र दर्ता अनुमति दिइएको छ । विभागको सूचना अनुसार काठमाडौँ उपत्यकाभित्र हाललाई ‘स्कुल बस’ र ‘सट्टाभर्ना’ (पुराना सवारी साधन विस्थापित गरी त्यसको सट्टामा नयाँ दर्ता गर्ने) को हकमा मात्र सार्वजनिक सवारी साधनको दर्ता खुला गरिएको छ ।
यसअघि विभागले २०८३ जेठ ७ गते एक सूचना जारी गर्दै नेपालमा भित्रिने सम्पूर्ण सार्वजनिक सवारी साधनको दर्ता रोक्का गरेको थियो । त्यसपछि गत साउन १८ गते सार्वजनिक मालवाहक सवारी साधनको दर्ता खुला गरिएको थियो भने अहिले आएर यात्रुवाहक सवारीको दर्ता पनि सर्तसहित खुला गरिएको हो ।
यो निर्णय कार्यान्वयन गर्न विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय र देशैभरका स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।
