झापा, कार्तिक १२ । भारतमा बिकसित भएको अर्नव चक्रवादको असर आजदेखि नेपालमा पर्ने देखिएको मौषम पुर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौषम बुलेटिन अनुसार बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
कोशी प्रदेशको हिमाली भूभाग र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ । देशका अधिकांश स्थानमा बादल लाग्ने र केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
बिहीबार राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बदली रहने पूर्वानुमान छ । देशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
शुक्रबार र शनिबार पनि देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा समेत मौषम बदली भई केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने अनुमान छ ।
महाशाखाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण, पर्यटक र पर्वतारोहीलाई मौषमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । त्यस्तै अन्य स्थानमा पनि अत्यावश्यक नपरी यात्रा नगर्न महाशाखाले सबैमा आग्रह गरेको छ ।