मेचीनगर, कार्तिक १३ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौटको चरणमा प्रवेश गरेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापाको मेचीनगर नगरपालिकामा उपप्रमुखको उम्मेद्वार बन्ने व्यक्तिको खोजी भइरहेको रास्वपा नेताहरुले बताएका छन ।
नगरप्रमुखका लागि थुप्रै आकांक्षी भए पनि उपप्रमुखलागि अहिले भएका आकाँक्षी भन्दा फरक व्यक्ति ल्याउने सोचमा पार्टी नेतृत्व लागिरहेको रास्वपास्रोतले बताएको छ । ‘नगरप्रमुखमा थुप्रै नेताहरुले उम्मेद्वारी दिने तयारी गर्नु भएको छ,’ रास्वापाका एक नेताले सेतोपत्रसंग भन्नुभयो, ‘तर उपप्रमुखमा उपयुक्त व्यक्तिको अझै खोजी भइरहेको छ ।’ ति नेताका अनुसार उपप्रमुखमा पनि पार्टीका केही नेताहरुले आकाँक्षा राखेको भए पनि नयाँ अनुहारको खोजी भइरहेको छ ।
मेचीनगरको उपप्रमुखमा उम्मेद्वारी दिने व्यक्तिका बारेमा पार्टीले बिषेश चासो राखिरहेको रास्वपाका अर्का नेताले पनि पुष्टि गर्नु भयो । रास्वपाबाट मेचीनगरको प्रमुखमा पुरुष नै उम्मेद्वार हुने लगभग निश्चित जस्तै भएकाले उपप्रमुखमा महिला नेतृत्वको खोजी भइरहेको रास्वपास्रोतले बताएको छ ।
पार्टीमा सक्रिय भुमिका निर्वाह गरिरहेका मेचीनगरका केही महिला नेतृहरुले उपप्रमुखको उम्मेद्वारका रुपमा आकाँक्षा राखेको रास्वपा स्रोतले जनाएको छ । अहिले आकाँक्षा राखेका भन्दा फरक अनुहारलाई उम्मेद्वारका रुपमा अगाडी बढाउने हो की भन्ने रास्वपा भित्र छलफल चलिरहेको बुझिएको छ । उपप्रमुखको उम्मेद्वार बनाउने बिषयमा केही राजनितिक तथा सामाजिक अगुवा महिलाहरुसंग समेत रास्वपाका नेताहरुले गोप्य रुपमा छलफल चलाइरहेको स्रोतले बताएको छ ।
नगरप्रमुखका लागि भने रास्वपाका केही नेताहरु आकाँक्षी देखिएका छन । रास्वपा झापाका सभापति ओम भण्डारी मेचीनगरको प्रमुखको उम्मेद्वार बन्ने दौडमा सबैभन्दा अगाडी देखिनु भएको छ भने रास्वपा झापा क्षेत्र नं. १ का संयोजक तथा सांसद निशा डाँगीका सचिवालय प्रमुख कमल गौतम नगरप्रमुखको उम्मेद्वारको दौडमा दोस्रो नम्बरमा रहेको बुझिएको छ । संगठन भित्र बलियो पकड बनाएका भण्डारी र गौतमबीच समझदारी भएर दुई मध्ये एक जना मात्रै उम्मेद्वारीको दौडमा अगाडी बढ्ने सम्भावना पनि रहेको रास्वपास्रोतले बताएको छ । नगरप्रमुखकै लागि रास्वपा मेचीनगरका सभापति सन्तोस राजबंशी, पुर्व क्षेत्रीय संयोजक असिम दाहाल र युवा व्यवशायी ऋषि तिम्सिनाले समेत आकाँक्षा राखेको ती नेताहरुले बताएका छन ।
रास्वपाले उम्मेद्वार छनौटका लागि क्यानिडेट क्लवमा आवेदन खुला गरेको छ । कार्तिक मसान्तसम्म स्थानीय तहका सबै पदमा उम्मेद्वार हुन चाहनेले उक्त क्लवमा आवेदन दिनु पर्नेछ । क्यानिडेट क्लवमा आवेदन दिएकाहरु मध्येबाट उम्मेद्वार छनौट गरिने रास्वपाले जनाएको छ । क्यानिडेट क्लवमा सहभागि नभएका तर स्थानीय समितिले उम्मेद्वारका लागि सिफारिस गरेमा १५ प्रतिशत उम्मेद्वार केन्द्रीय समितिको निर्णयबाट तोक्न सक्ने रास्वपाको उम्मेद्वार छनौट कार्यविधिमा व्यवस्था गरिएको छ । एउटै राजनितिक दलबाट स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेद्वार बनाउँदा एक जना महिला हुनै पर्ने कानूनी व्यवस्था रहेको छ ।