धुलाबारी, भदौ ११ । रोटरी क्लव अफ मेचीनगरले सर्पदशं सम्बन्धी एक दिवशीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर १० स्थीत धुलाबारी माद्यमिक विद्यालयका विद्यार्थीहरुलाई लक्षीत गरी आयोजना गरिएको कार्यक्रममा सर्पको टोकाईबाट बच्ने, टोकी हालेमा कसरी जीवन बचाउने लगायतका सर्पदशं सम्बन्धी अन्य प्राविधिक बिषयमा समेत जानकारी गराइएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले जानकारी दिनुभयो ।
नेपाली सेनाको सर्पदशं केन्द्र श्री नं. २१ फिल्ड एम्बुलेन्स गुल्म चारआली व्यारेकको प्राविधिक सहयोगमा आयोजना गरिएको सचेतना कार्यक्रममा धुलाबारी माविका ९ र १० माअध्ययनरत २५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष पाठकको सभापतित्वमा सम्पन्न सचेतना कार्यक्रममा नेपाली सेनाकी टेक्निकल लेफ्टीनेन्ट डा आस्मा डंगोलको प्रमुख आतिथ्यता रहेको थियो ।

डा आस्मा डंगोलसहित नेपाली सेनाका वारेन्ट अफिसर ज्ञान बहादुर दाहाल, पारामेडिसका राधिका श्रेष्ठ र अमरेश यादबले सर्पदशं र त्यसबाट बच्ने उपायका बारेमा विद्यार्थीहरुलाई सचेतना फैलाउने प्रस्तुती दिनु भएको थियो ।
सर्पदंशका कारण नेपालमा बर्षेनी ठुलो संख्यामा मानिसहरुको मृत्यु हुने गरेकाले पनि त्यस सम्बन्धी सचेतना जनाउन जरुरी रहेकाले यो कार्यक्रम आयोजना गरिएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष पाठकले बताउनु भयो । ‘सर्पदंशबाट हरेक बर्ष मृत्यु हुने नेपालीको संख्या उच्च छ,’ पाठकले भन्नुभयो, ‘त्यसैले विद्यार्थीहरु मार्फत एकै पटक समाजको ठुलो हिस्सामा सचेतना फैलाउन सकिन्छ भनेर यो कार्यक्रम विद्यालय केन्द्रीत गरेका हौं ।’
सामाजिक सचेतना अभियानका रुपमा यो बर्ष रोटरी क्लव अफ मेचीनगरले विभिन्न कार्यक्रम गर्ने योजना अनुसार धुलाबारी माविमा यस भन्दा अघि पनि स्वास्थ सम्बन्धी विभिन्न चिकित्सकरुको टोली नै ल्याएर सचेतना फैलाएको र त्यो पनि त्यसैको निरन्तरताको रुपमा सचेतना कार्यक्रम रहेको अध्यक्ष पाठकले बताउनु भयो ।
धुलाबारी माविको सभाहलमा सम्पन्न कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरका पदाधिकारी र विद्यालयका शिक्षकहरुको समेत सहभागिता रहेको कार्यक्रम क्लवका सचिव पवित्रा विमली प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।