झापा, भदौ ११ । झापाको मेचीनगर लेडी जेसीजले मेचीनगरका पाहान समुदायलाई बाद्यबादन सामग्री हस्तान्तरण गरेको छ । देशकै लोपोन्मुख जातिमा पर्ने पाहान समुदायको संस्कृति संरक्षणका लागि बाद्यबादन उपलब्ध गराईएको मेचीनगर लेडी जेसीजकी अध्यक्ष रिता श्रेष्ठ प्रधानले बताउनु भयो ।
मेचीनगर १५ स्थीत पाहान बस्तीमा बिहिबार आयोजित संक्षिप्त कार्यक्रममा लेडि जेसीजका तर्फबाट पाहान समुदायलाई ढोलक, झ्याम्टा लगायतका बाद्यबादन सामग्री उपलब्ध गराईएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर १५ का वडाअध्यक्ष गुणराज भट्टराई र लेडी जेसीजका अध्यक्ष प्रधानले पाहान समुदायका अगुवा कुमेद पाहानलाई बाद्यबादनका सामग्री हस्तान्तरण गरिएको थियो ।

सोही कार्यक्रमको अवसर पारेर मेची नदिभन्दा पारी पट्टि रहेको विद्यालय मेची प्राविलाई समेत तीन थान सिलिङ फेन हस्तान्तरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलियालाई फेन हस्तान्तरण गरिएको हो ।
देशकै पहिचानका रुपमा रहेको मेची पारीको नेपालमा रहेको विद्यालयका विद्यार्थीहरुको अध्ययन सहज बनाउन फेन वितरण गरिएको लेडी जेसीजका अध्यक्ष प्रधानले बताउनु भयो ।

लेडी जेसीजका अध्यक्ष प्रधानको सभापतित्वमा सम्पन्न सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष भट्टराईले पाहान समुदायलाई राज्यले अझैसम्म आदिवासी जनजातिको सूचीमा समावेश नगरेका कारण समस्या भइरहेको बताउनु भयो । पाहान समुदायका अगुवा कुमेद पाहानले कार्यक्रममा बोल्दै राज्यले अझै हामीलाई हाम्रो समुदायको पहिचानका आधारमा चिन्दैन, हामीले धेरै पहल गर्दा पनि सूचीकरण भएको छैन । सूचीकरण नहुदाँ आफुहरुले पाउने सुविधाबाट बन्चित भएको कुमेदले बताउनु भयो ।
कार्यक्रममा लेडी जेसीजका पुर्व अध्यक्ष उषा श्रेष्ठ र मेची प्राविका प्रधानाध्याप थपलियाले बोल्दै पाहान समुदायको सामाजिक उत्थानका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । लेडी जेसीजका सरिता अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रम रेजिना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।