झापा,भदौ १९ । नारी सञ्चार गृह झापाले भोटेकोशी क्षेत्रका बाढी प्रभावित परिवारको राहतका लागि १५ हजार रुपैयाँ सहयोग गरेको छ। गृहले आफ्नो १५औँ स्थापना दिवस तथा १४औँ वार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको हो।
बिर्तामोडस्थित जयन्द्र प्रसाईं साहित्य सेवा कोषको सभा हलमा बिहिबार आयोजित कार्यक्रममा संस्थाले बाढीपीडितलाई राहत सहयोगका साथै आफ्ना सदस्यहरूलाई लेखन वृत्ति तथा सम्मान प्रदान गरेको छ। संस्थाका चार जना सदस्यहरूलाई जनही ५ हजार नगद र सम्मानपत्रसहित पुरस्कृत तथा सम्मानित गरिएको छ ।
“सामुदायिक विद्यालयहरूमा खानेपानी, शौचालय तथा सेनेटरी प्याड भेन्डिङ मेसिनको अवस्था “ सम्बन्धी लेखन वृत्ति सृजना परियार र “जलवायु परिवर्तन र मानव जीवनमा प्रभाव’ सम्बन्धी लेखन वृत्ति सविना लिम्बूलाई प्रदान गरिएको थियो।
यसैगरी पूर्व अध्यक्ष भिमा शिवाकोटी द्वारा स्थापित “तीजको सामाजिक सांस्कृतिक महत्व “’ सम्बन्धी लेखनवृत्ति किरण हुमागाईं लाई प्रदान गरियो भने संस्थापक अध्यक्ष सावित्रा दाहाल द्वारा स्थापित “वर्ष उत्कृष्ट सदस्य“पुरस्कार रञ्जिता खड्कालाई प्रदान गरिएको थियो।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा संस्थाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल, पूर्व अध्यक्ष भिमा शिवाकोटी, निवर्तमान अध्यक्ष रेजिना गौतम तथा संस्थापक सदस्यहरू भवानी क्षेत्री, सुशिला सङ्ग्रौला र इन्दु पूर्वेलीको आतिथ्य रहेको थियो भने स्वागत उपाध्यक्ष जोश्ना श्रेष्ठले गर्नु भएको थियो।
साधारण सभामा सचिव दीपा पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुनिरा मैनालीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन आवश्यक सुझावहरूसहित सर्वसम्मतिले पारित भएको छ। सोही अवसरमा गृहले संस्थामा आबद्ध भएका नयाँ १३ जना सदस्यहरूलाई स्वागत समेत गरेको छ।
