मेचीनगर, फागुन २६ । झापाको मेचीनगर नगरपालिकाले आज दिउँसो १ बजेका लागि निम्तो गरेको थियो । बिषय थियो धुलाबारीस्थीत आम्दा मेची अस्पताल सञ्चालनका लागि तयार गरिएको निर्देशिकामा त्रिपक्षीय हस्ताक्षर गरी जारी गर्ने । १ बज्न केही मिनेट बाँकी छँदै म नगरपालिका प्रवेश गरें । केही बेर नगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीको कार्यकक्षमा उहाँसंग सामान्य कुराकानी भइरहेको थियो । त्यतिकैमा नगरप्रमुखका स्वकीय सचिव आशिस पौडेलजी आएर समय भयो भन्दै हाकिमसाबलाई भने पछि उहाँसंगै पत्रकार साथीहरु प्रकाश पौडेल र युवराज आचार्यको साथमा म पनि नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्यौं ।
नगरप्रमुखको कार्यकक्षमा हामी प्रवेश गर्दा त्याहाँ मानिसहरुको ठुलै उपस्थीति भइसकेको रैछ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी आफ्नै कुर्सीमा हुनुहुन्थ्यो भने उहाँको छेवैमा उपप्रमुख मिना पोखरेल उप्रेती बस्नु भएको थियो । नगरप्रमुखको दायाँ तिर आम्दा नेपालका प्रतिनिधिहरु बस्नु भएको थियो भने वायाँ तिर नगरका जनप्रतिनिधि, कर्मचारी, मेची उद्योग वाणिज्य संघका पदाधिकारी र कर्मचारी हुनुहुन्थ्यो । केही पत्रकार साथीहरु पनि पहिला नै पुगिसक्नु भएको थियो ।
म पनि नगरप्रमुखको बाँया तर्फ मेची उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विजय डालमिया र आम्दा मेची अस्पताल धुलाबारीका प्रशासकीय अधिकृत किरण निरौलाकोबीचमा गएर बसें । म पुगेको केही मिनेट सामान्य विषयहरुमा खुला कुराकानी भइरहेको थियो । केही बेरमै पत्रकार मोहन काजी र अम्बिका भण्डारी पनि कोठामा प्रवेश गर्नु भयो । उहाँहरु दुवै जना नगरप्रमुखको दायाँ तर्फको अन्तिमतिर बस्नु भयो ।
नगरप्रमुख र उपप्रमुखसंग नगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती ।
केही बेरमा नै आम्दा मेची अस्पताल व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०८१ का तीन प्रति ल्याएर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दिइयो । केही हेरे जस्तो गरे पछि वहाँले धमाधम हस्ताक्षर गर्न थाल्नु भयो । छेउमा बस्नु भएकी उपप्रमुख मिना उप्रेतीले निर्देशिकाको एउटा प्रति हेर्दै हुनुहुन्थ्यो । लगत्तै उहाँले नगरप्रमुख तिर इशारा गर्नु भयो । नगरप्रमुखले केही कुरा उहाँलाई भन्नुभयो र आफु भने हस्ताक्षर गर्न मै लाग्नु भयो ।
उपप्रमुखले छेउमै रहनु भएका नगरका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीसंग कुरा गर्दै गरेको देखियो । त्यसको लगत्तै मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत र नगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीसंग उपप्रमुखको पनि कुराकानी भएको देखिन्थ्यो । तर त्यो कुराकानी अलि पर बसेका म सहित अरुले सुन्ने र थाहा पाउने अवस्थाको थिएन । त्यस लगत्तै कोठाको वल्लो छेउमा बस्नु भएको नगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती तिर इशारा गर्दै वाणिज्य संघका कार्यकारी निर्देशकले तपाई त्याहा जानु पर्यो भनेर उपप्रमुख तिर देखाउनु भयो । त्यसबीचमा उपप्रमुखले केही असन्तुष्टी पोखिरहेको स्पष्ट देख्न सकिन्थ्यो ।
नगरप्रमुखले ‘पहिला त त्यस्तो थिएन त, के भयो ?’ भनेर नगरका अधिकृत वस्ती तिर फर्केर भनेको सुनियो । त्यस पछि उपप्रमुखले अलि सुन्ने गरी ‘यस्तो त कसरी हुन्छ ?’ भन्नुभयो । त्यसबेलासम्म नगरप्रमुखको कार्यकक्षमा भएका आम्दा नेपालका पदाधिकारीहरु सहित अन्य उपस्थीत सबै नै अन्योलमा परिरहेका थिए । के भएको हो भन्ने थाहा भएन । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी तथा वाणिज्य संघका कार्यकारी निर्देशकले सायद त्यो कोठा भित्र अरु थुप्रै मानिसले हाम्रो गतिविधि नियालिरहेका छन भन्ने कुरा थाहै पाउनु भएन ।
एकै छिन पछि नगरप्रमुख, उपप्रमुख, नगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत वस्ती र वाणिज्य संघका कार्यकारी निर्देशक बस्नेत नगरप्रमुखको कार्यकक्षसंगै रहेको गोप्य कक्षतिर प्रवेश गर्नु भयो । केही बेरमा गोप्य कोठाबाट बाहिर निस्केर वाणिज्य संघका कार्यकारी बस्नेतले मेरै दुई छेउमा बसिरहनु भएका वाणिज्य संघका पुर्व अध्यक्ष विजय डालमिया र अस्पतालका प्रशासकीय अधिकृत किरण निरौलालाई बोलाउनु भयो । दुवै जना गोप्य कोठामा प्रवेश गर्नुभयो ।
निर्देशिकामा हस्ताक्षर गरी जारी गर्नकै लागि भनेर काठमाण्डौबाट आम्दा नेपालका अध्यक्ष प्रा.डा सुनु दुलाल, सदस्यद्वय डा.यज्ञराज पाठक, डा. दुर्गा प्रसाद भण्डारी सहित दमकबाट आउनु भएका आम्दा नेपालका सहसचिव डा.नविन ढकाल, आम्दा मेची अस्पताल धुलाबारीका मेडिकल सुपेरीटेन्डेन्ट डा. पोषण रमण त्रिपाठी र आम्दा अस्पताल दमकका मेडिकल सुपेरीटेन्डेन्ट डा. शिखर कट्टेल सबैमा अन्योलता देखिएको आभास भइसकेको थियो । त्यतिकैमा आम्दा नेपालका सहसचिव डा नविनलाई पनि गोप्य कोठामा बोलाइयो ।
त्यसको केही बेरमै आम्दा नेपालका अध्यक्ष प्रा डा दुलाललाई पनि गोप्य कोठामा लगियो । त्यसबेलासम्म के भइरहेको छ भन्ने बाहिर बस्ने कसैलाई थाहा भएको थिएन । अलि पछि आइपुग्नु भएका पत्रकारमध्ये एक जना साथीले म तिर फर्केर सोध्नु भयो । ‘दाई के भाको हो ?’ मैले सामान्य रुपमा उत्तर दिएँ, ‘मेचीनगर हो के के त भइरहन्छ ।’
त्यसबीचमा एउटा कुरा सञ्चार भयो । कि निर्देशिकामा भएको केही व्यवस्थाका बारेमा नगरपालिकाको असहमति छ भन्ने । अनि मैले चासो राखेर खुला रुपमा सोधे । नगरपालिकाका मान्छेलाई निर्देशिका देखाइएको थिएन कि क्यो हो ? त्यतिकैमा गोप्य कोठामा रहनु भएका सबै जना बाहिर निस्कनु भयो । माहोल शान्त थियो । मलाई लाग्यो अब कुरा मिल्यो निर्देशिकामा हस्ताक्षर हुन्छ । जे कामको लागि नगरपालिकाले बोलाएको थियो त्यो हुने भयो भन्ने लागेर स्वास्थ्य क्षेत्रमा राम्रै काम हुने भयो भन्ने मनमनै सोचिरहेको थिएं ।
नगरप्रमुखको कार्यकक्षमा आम्दा नेपालका पदाधिकारीहरु ।
नगरप्रमुखले आफ्नो आशनबाट सबै तिर हेरेर सामान्य भुमिका बान्दै भन्नुभयो । यो निर्देशिका पटक पटक हेरिएकै हो । आज तिनै पक्षले हस्ताक्षर गरेर जारी गर्ने भनेर हामीले नै समय तय गरेर उहाँहरुलाई (आम्दा नेपालका पदाधिकारीहरु तिर हेर्दै) पनि बोलाएकै हो । अघिसम्म आज निर्देशिका जारी गर्ने भनेर नै पत्रकार साथीहरु र जनप्रतिनिधिहरुलाई पनि बोलाइएको हो । तर अझै केही बाँकी देखियो । हामी त्यसलाई अझ बलियो र व्यवस्थीत गर्छौ । अनि फेरि अर्को दिन भेला हुनु पर्ने भयो । भनेर उहाँले त्यो महत्वपूर्ण कामका लागि भएको भेला सामान्य ढंगले सम्पन्न गर्नुभयो । हामी पनि छक्क पर्दै बाहिर निस्क्यौं । तर जिज्ञासा भने बाँकी नै थियो । त्यो जिज्ञासा नमेटिकन मन शान्त भएन । र विभिन्न सम्पर्क सुत्र मार्फत किन यस्तो भयो भन्ने कुराको उत्तर खोज्न तिर लागें ।
स्रोतले दिएको जानकारी अनुसार आम्दा नेपालका पदाधिकारी तथा कर्मचारी, मेची उद्योग वाणिज्य संघका पदाधिकारी र कर्मचारी तथा मेचीनगर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले त्यो निर्देशिका पटक पटक पढिएको थियो । केही व्यवस्थाहरु थपघट गरिएको थियो । आज विहान मात्रै पनि नगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले पुन एक पटक निर्देशिका पुरै पढेको समेत थाहा भयो । तर अन्तिम अवस्थामा हस्ताक्षर हुन किन रोकियो त भन्ने कुरा खोतल्दैं जादाँ निर्देशिकामा भएको एक दुई प्रावधानमा नगर उपप्रमुखको आपत्ती रहे पछि निर्देशिका जारी हुन सकेन ।
निर्देशिकामा भएको आम्दा मेची अस्पताल सञ्चालनका लागि मेची उद्योग वाणिज्य संघ र आम्दा नेपालले ‘पहल गर्ने’ भन्ने र ‘नगरपालिकाले गर्नेछ’ भन्ने शब्दको प्रयोगमा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आपत्ती जनाउनु भयो । छलफलका क्रममा ‘नगरपालिकाले चंै गर्नु पर्ने अनि अरु दुई वटासंस्थाले पहल मात्रै गर्ने भनेर काहाँ हुन्छ ।’ भन्ने कुरा उपप्रमुखले राखिसके पछि आज त्रिपक्षीय हस्ताक्षर गरेर निर्देशिका जारी हुन सकेन ।
नगरपालिकाबाट बाहिरिदैं गर्दा आम्दा नेपालका बोर्ड सदस्य डा दुर्गा प्रसाद भण्डारीले आफ्ना समूहबीचमा यसो भन्दै हुनुहुन्थ्यो, ‘आज जेलेन्स्की भइयो हैन त ।’