मेचीनगर, कार्तिक १९ । झापाको चारआली साना सहरी खानेपानी संस्थाले उपभोक्ताले तिर्दै आएको पानीको महशुल घटाएको छ । संस्थाको बिहिबार सम्पन्न १८ औं बार्षिक साधारण सभामा अध्यक्ष राजन चिमरियाले आफ्नो प्रतिवेदनमार्फत प्रस्तुत गर्नु भएको पानीको महशुल घटाउने प्रस्ताव बन्द सत्रले पारित गरेसंगै उपभोक्ताले तिर्ने पानीको महशुल मंसिर महिनादेखि घट्ने भएको हो ।

साधारण सभाले निर्णय गरे अनुसार १० हजार लिटरसम्म पानी उपयोग गर्ने उपभोक्ताले अहिले दुई सय तिर्दै आएकोमा अब १७५ रुपैयाँ मात्र तिर्नु पर्नेछ । त्यस्तै ११ हजार देखि २० हजार लिटर मासिक पानी खपत गर्ने उपभोक्ताले अहिले प्रति हजार लिटरमा ३२ रुपैयाँ तिर्दै आएकामा अब ३० रुपैयाँ मात्रै तिर्दा हुने भएको छ ।
त्यस्तै २१ हजारदेखि ३० हजार लिटर पानी खपत गर्ने उपभोक्ताले प्रति हजार लिटरमा ४२ रुपैयाँ तिर्नु परिरहेको थियो भने मंसिर महिनादेखि ४० रुपैयाँमात्रै तिर्नु पर्नेछ । त्यसैगरी ३१ हजार भन्दा धेरै पानी चलाउने उपभोक्ताहरुले अहिले प्रति हजारमा ६५ रुपैया महशुल तिर्नु परिरहेको थियो भने साधारण सभाको निर्णयका कारण अब ६० रुपैयाँ मात्रै महशुल बुझाउँनु पर्नेछ । आम उपभोक्तालाई मासिक शुल्कमा राहत दिने उद्देश्यले पानीको महशुल घटाएको चारआली साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजन चिमरियाले बताउनु भयो ।

संस्थाको साधारण सभाका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलचन पाठकले खानेपानी आयोजना बिस्तारका लागि प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने बताउनु भयो । साधारण सभाको उदघाटन सत्रमा खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख सुमन भट्टराई, काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा मेचीनगर १२ का वडा अध्यक्ष तथा संस्थाका पुर्व अध्यक्ष मधुसुधन निरौला, मेचीनगर ११ का वडा अध्यक्ष रुद्र डाँगी, धुलाबारी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष धनकाजी खत्री, संस्थाका पुर्व अध्यक्ष शरद शिवाकोटी लगायतको उपस्थीति रहेको थियो ।

संस्थाका अध्यक्ष चिमरियाको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्षको प्रतिवेदनसंगै आर्थिक प्रतिवेदन कोषाध्यक्ष साउन मेचे (बादल) ले प्रस्तुत गर्नु भएको थियो । खानेपानी संस्थाको आफ्नै सभाहलमा सम्पन्न साधारण सभामा संस्थाकी उपाध्यक्ष मैया कार्कीले स्वागत मन्तव्य गर्नु भएको थियो भने सचिव प्रेमराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।