नकलबन्दा, चैत २१ । युवालाई दुव्र्यशनबाट बचाउन र रचनात्मक काममा सक्रिय बनाउन मेचीनगरको नकलबन्दामा चैत २६ गतेदेखि नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । नकलबन्दा स्पोटिङ क्लवको आयोजनामा हुने तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाउने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र ट्रफि पाउने छ भने उपविजेताले ५१ हजार नगद र ट्रफि पाउने छ । त्यस्तै प्रत्येक खेलमा वितरण गरिने उत्कृष्ट खेलाडीले १५ सय नगद पाउने आयोजकले जनाएको छ । त्यस बाहेक पनि विभिन्न विधागत पुरस्कार विजेताले नगद ३१ सयका दरले पाउने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
करीब ६ लाख रकमको बजेटमा सम्पन्न हुने प्रतियोगितामा नगर खेलकुद विकास समितिको तर्फबाट ५० हजार उपलब्ध हुने छ भने अन्य रकम सहयोगी दाता र संघ संस्थाहरुबाट संकलन गरि प्रतियोगिता सम्पन्न गरिने आयोजक समितिका सचिव सुरज तामाङले जानकारी दिनुभयो ।
नकलबन्दा स्पोटिङ क्लवका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्लवका सल्लाहाकार संयोजक पर्शुराम पराजुलीले नकलबन्दालाई फुटबलको माध्यमबाट परिचित गराउन पनि प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । पत्रकार सम्मेलनमा सल्लाहाकार सदस्य मेघराज गेलाल, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ लगायतको उपस्थीति रहेको थियो ।
मेचीनगर ८ स्थीत विष्णुलक्ष्मी मन्दीरको खेल मैदानमा हुने प्रतियोगितमा आयोजक नकलबन्दा स्पोटिङ क्लव सहित ब्रदर्स एफसी दमक, पुर्णीमा युवा क्लव भद्रपुर, पुर्वेली युवा क्लव विर्तामोड, शनिश्चरे युवा क्लव, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डि एफसी बाहुनडाँगी, नेट जेनेरेशन र आदर्श युवा क्लव बुधबारे गरी १० वटा टिमले सहभागिता जनाउने छन । प्रतियोगिताको फाइनल खेल बैशाख ५ गते हुनेछ ।