झापा, फागुन १४ । झापा मेचीनगर ६ काकरभिट्टामा मुख्य कार्यालय रहेर कोशी प्रदेशका विभिन्न जिल्लामा सेवा केन्द्र सञ्चालन गरिरहेको नेपाल बहुउद्देशीय सहकारी संस्था (एनएमसी) लाई नेकपा एमालेले चुनावी अभियानमा प्रयोग गरेको पाइएको छ ।
एनएमसीका संस्थापक अध्यक्ष समेत रहनु भएका झापा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेद्वार रामचन्द्र उप्रेतीले सहकारीको नाम लिएर भोट माग्नेदेखि सहकारीका सदस्यहरुले संस्थाको प्रयोजनका लागि दिएको मोबाइल नम्बर समेत दुरुपयोग गरेको खुल्न आएको छ ।
एनएमसी सहकारीका सदस्यहरुलाई उप्रेतीले पठाएको मेसेज यस्तो छ, ‘NMC सदस्य ज्यू, भ्रष्टचार नियन्त्रण र सुशाशनका लागि झापा १ बाट मलाई सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्दछु । रामचन्द्र उप्रेती ।’

सहकारी सदस्य हुनका लागि उपलब्ध गराइएको मोबाईल नम्बर राजनितिक रुपमा दुरुपयोग भएको एनएमसीका सदस्यहरुले गुनासो गरेका छन । एनएमसीका सदस्यहरुले आफु सहकारीको सदस्य भएको तर राजनितिक रुपमा आफ्नो मोबाईल नम्बर दुरुपयोग गरिएको बिषयमा सामाजिक सञ्जालमा आक्रोस पोख्न थालेका हुन ।
एनएमसीका एक जना सदस्य दिपक राया आफ्नो फेसबुकमा लेख्नु हुन्छ, ‘सहकारीको सदस्य भएको हुँ, कुनै दलको कार्यकर्ता होइन । मेरो मोबाइलको इनबक्सलाई राजनितिक पर्चा नबनाइदिनुहोला ।’ राया जस्ता थुप्रै अन्य एनएमसीका सदस्यले पनि सामाजिक सञ्जालमा गुनासो पोखेका छन ।

एमाले उम्मेद्वार उप्रेतीले घरदैलो कार्यक्रममा समेत एनएमसी कै नाम लिएर भोट माग्ने गरेको पाइएको छ । उप्रेतीले मतदातासंग भन्ने गरेको पहिलो वाक्य यस्तो छ, ‘म रामचन्द्र उप्रेती, एनएमसी जान्नु हुन्छ नि हो म त्यसको पुर्व अध्यक्ष हुँ ।’ उप्रेतीले त्यती मात्रै भन्नु हुन्न वहाँले सहकारी संस्थाको साखलाई चुनावमा दलिय हिसाबले समेत प्रयोग गर्दै भोट मागिरहनु भएको छ । फागुन ९ गते मेचीनगर १० को घरदैलो कार्यक्रममा एमाले उम्मेद्वार उप्रेतीले एक जना मतदातासंग भन्नुभयो, ‘एनएमसीलाई सम्झिने सुर्य चिन्हमा मतदान गर्ने ।’
यस बिषयमा एमाले उम्मेद्वार उप्रेतीसंग कुरा गर्दा आफुले एनएमसीको नाम लिएर भोट मागेको र सदस्यहरुको मोबाइल नम्बरमा मेसेज पठाएको स्वीकार गर्नु भयो । ‘कुनै ठाउँ बिशेष र जाति बिशेषलाई सम्बोधन गरेर भोट माग्नु हुन्छ भने एनएमसी सदस्य भएर भोट माग्नु किन नहुने ?’ उप्रेतीले भन्नुभयो, ‘यसलाई बहसको बिषय बनाउँदा पनि म तयार छु र कानूनी रुपमा दण्डित गर्ने बिषय रहेछ भने पनि म त्यसका लागि तयार छु ।’
निर्वाचन आचारसंहिताले सहकारी संस्थालाई संगठित रुपमा चुनाव प्रचारमा प्रयोग गर्न नपाईने झापाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले बताउनु भयो । ‘सामाजिक वा सार्वजनिक संस्थाहरुलाई निर्वाचनमा कुनै पनि प्रकारले प्रयोग गर्न पाइदैंन,’ प्रसाईले भन्नुभयो, ‘यसले आचारसंहिता उल्लघंन हुन्छ ।’ दलका नेता र उम्मेद्वारहरुले कति कुरा थाहा पाएर पनि जबरजस्ती गर्ने प्रबृत्ति बढ्दै गएको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईले बताउनु भयो । ‘यस्ता बिषय नियालिरहेका छौं र नियन्त्रण गर्छौ,’ वहाँले भन्नुभयो ।
कोशी प्रदेश कार्यक्षेत्र रहेको एनएमसी सहकारी संस्था देशकै ठुलो सहकारीहरु मध्येमा पर्दछ । २०८२ माघ मसान्तसम्म यसका एक लाख ७० हजार २२० शेयर सदस्य छन ।