झापा, मंसिर ३ । आसन्न स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापाको मेचीनगर नगरपालिकाको नगर प्रमुखका पदका लागि ११ जनाले उम्मेद्वारी दाबी गरेका छन । रास्वपा उच्चस्रोतले दिएको जानकारी अनुसार मेचीनगरको नगरप्रमुख पदका लागि नगरका विभिन्न वडाबाट नेता कार्याकर्ताले पार्टीको ‘क्यानिडेट क्लव’मा उम्मेद्वारी दर्ता गराएका छन ।
सेतोपत्रलाई प्राप्त जानकारी अनुसार नगरप्रमुख पदका लागि वडा नं. २ बाट दुई जना, वडा नं. ६ बाट एक जना, वडा नं. ७ बाट एक जना, वडा नं. ८ बाट एक जना, वडा नं. ९ बाट एक जना, वडा नं. १० बाट दुई जना, वडा नं. ११ बाट दुई जना, र वडा नंं १३ बाट एक जनाले क्यानिडेट क्लवमा उम्मेद्वारी दर्ता गराएका छन ।
त्यसैगरी उपप्रमुख पदमा तीन जनाले रास्वपाको क्यानिडेट क्लवमा उम्मेद्वारी दर्ता गराएको रास्वपा उच्चस्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उपप्रमुखमा उम्मेद्वारी दर्ता गराउनेहरुमा वडा नं. ६ बाट एक जना, वडा नंं १० बाट एक जना र वडा नं. १३ बाट एक जना रहेका छन । प्रमुखमा उम्मेद्वारी दाबी गर्ने सबै पूरुष हुनुहुन्छ भने उपप्रमुखको दाबी गर्ने सबै महिला रहेको रास्वपा स्रोतले जानकारी दिएको छ ।
मेचीनगरको प्रमुख पदका लागि रास्वपा झापाका सभापति ओमनाथ भण्डारी, झापा १ का क्षेत्रीय संयोजक तथा सांसद निशा डाँगीका सचिवालय प्रमुख कमल गौतम, रास्वपा मेचीनगरका सभापति सन्तोस राजबंशी, रास्वपा प्रदेश समिति सदस्य प्रेमसागर घिमिरे, पार्टीका झापा १ का पुर्व संयोजक असिम दाहाल, रास्वपाका नेता ऋषिराज तिम्सिना लगायतको उम्मेद्वारीमा चर्चा छ । चर्चामा रहेका नेताहरुले क्यानिडेट क्लवमा उम्मेद्वारी दर्ता गराइसकेको बुझिएको छ ।
त्यस बाहेक पनि मेचीनगरको प्रमुख पदका लागि अन्य केही रास्वपा नेताहरुले आकाक्षाँ राखेको बुझिएको छ । क्यानिडेट क्लवमा उम्मेद्वारी दर्ता गराएकाहरुको नामावली सार्वजनिक गर्न पार्टीले रोक लगाएको रास्वपाका नेताहरु बताउँछन ।