झापा । बाढी प्रभावित क्षेत्रका लागि अत्यन्तै उपयोगी मानिएको उच्च सतही चापाकल झापा गाउँपालिकाका विभिन्न स्थानमा निर्माण गरी आइतबार स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ मेचीनगरको नेतृत्वमा विभिन्न संघ संस्थासंगको सहकार्यमा झापा गाउँपालिकाको १२ स्थानमा निर्माण गरिएको चापाकल सम्बन्धीत समुदायलाई हस्तान्तरण गरिएको हो ।
गतबर्ष रोटरी क्लव अफ मेचीनगरको बाढी प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले तयार गरिएको परियोजना अन्तर्गत तत्कालिन अध्यक्ष शर्मिला पाठकको नेतृत्वमा झापा गाउँपालिकाको १२ स्थानमा १२ वटा उच्च सतही चापाकल निर्माण गर्ने कार्य सुरुवात गरिएको थियो । निर्माण सम्पन्न भए पछि आइतबार रोटरी क्लवका पदाधिकारी र सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थीतिमा चापाकल स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।

झापा गाउँपालिकाको कार्यपालिकाले तोकिएको स्थानहरु सिमलबाढी मावि, नमूना प्राविको परिसर, पन्थपाडा, कुवाडी देवी मावि परिषर, सालमारा बजार क्षेत्र, बालुवाटार सन्थाल बस्ती, टप्पु, राधाबस्ती लगायतका १२ स्थानमा एक एक वटा उच्च सतही चापाकल निर्माण गरेर हस्तान्तरण गरिएको रोटरी क्लव अफ मेचीनगरका निवर्तमान संस्थापक अध्यक्ष किशोर क्षेत्री (कपिल)ले बताउनु भयो । चापाकल निर्माणले बाढीको समयमा स्थानीय समुदायलाई शुद्ध पानी पिउन अत्यन्तै उपयोगी हुने सिमलबाढी आधारभूत विद्यालयका शिक्षक सानमती राजबंशीले बताउनु भयो । ‘रोटरी क्लवले हाम्रा लागि धेरै काम गरिदिनु भयो,’ राजबंशीले भन्नुभयो ।
उच्च सतही चापाकल निर्माण गरिदिएर स्थानीय बासिन्दालाई पानीको सहजता भएको झापा गाउँपालिका ३ का स्थानीय सुरज गनगाईले बताउनु भयो । ‘बाढीको समयमा कम्मरदेखि माथी पानी आउँछ,’ वहाँले भन्नुभयो, ‘त्यो बेला अरु तिर सबै ढुबानले पानी खान पाइदैन तर यो चापाकल अग्लो तरिकाले बनाएकाले हामीलाई पानी खान सजिलो हुन्छ ।’ चापाकल निर्माणले गाउँमा पानीको अभावलाई पुरा गरेको स्थानीय उर्मिला यादबले बताउनु भयो । ‘मान्छे र गाइबस्तुलाई पानी खान सजिलो भएको छ,’ यादबले भन्नुभयो, ‘बिरिङ्ग खोला बाढी आएको बेला त गाउँ नै डुबान हुन्छ त्यो बेला यो कलले काम गर्छ ।’

समुदाय केन्द्रीत कार्यमा सहयोग गर्न पाउँदा आफुहरुलाई खुसी लागेको सहयोगी संस्था एलडिएससीका प्रतिनिधि लिण्डा जोनसोनले बताउनु भयो । ‘गाउँका मानिसलाई पानी खुवाउने काममा सहयोग गर्न पाउनु हाम्रो लागि पनि गर्वको बिषय हो,’ लिण्डाले भन्नुभयो, ‘परोपकारी काममा नै हाम्रो संस्थाले सहयोग गरिरहेको छ ।’ एलडिएससीका अर्का प्रतिनिधि कार्ल जोनसोनले पनि मानिसको आधारभूत कुराका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । वहाँले भन्नुभयो,‘सही काम गर्नका लागि हामीलाई मौका दिएकोमा रोटरी क्लवलाई धन्यवाद छ ।’
रोटरी क्लव अफ मेचीनगरले वास्तविक रुपमा सहयोग गर्नै पर्ने ठाउँमा काम गरेको रोटरीयन तथा विपत विज्ञ सन्तोस ज्ञवालीले बताउनु भयो । यो काममा सहयोगी हुन पाउँदा खुसी लागेको रोटरी क्लव अफ काठमाण्डौ मेट्रोका किरण न्यौपानेको प्रतिक्रिया थियो ।
झापा गाउँपालिकामा विद्यालय भवनदेखि शौचालय र चापाकल निर्माण गरिदिएर रोटरी क्लव अफ मेचीनगरले यस क्षेत्रलाई ठुलो राहत दिएको कुवाडी देवी माविका प्रधानाध्यापक मुकेश कुमार कर्णले बताउनु भयो । ‘झापा गाउँपालिकाको लागि धेरै गरिदिनु भयो,’ वहाँले भन्नुभयो, ‘रोटरीले यस क्षेत्रका स्थानीय त्यसमा पनि वालवालिकाहरुलागि पुर्याउनु भएको योगदान प्रशंसनिय छ ।’

यस अघि पनि रोटरी क्लव अफ मेचीनगरले झापा गाउँपालिका वडा नं. २ मा रहेको कुवाडी देवि माविको चारकोठाको भवन पुर्ननिर्माण गरिदिएको थियो भने वडा नंं ३ को सिमलबाढी आधारभूत विद्यालयमा शौचालय निर्माणसमेत गरिदिएको छ । त्यस्तै विद्यार्थीहरुका लागि अध्ययन सामग्री वितरण गरेको छ । झापा गाउँपालिकामा मात्रै रोटरी क्लवले करीब ७५ लाख खर्च गरेको रोटरी क्लव अफ मेचीनगरकी निवर्तमान अध्यक्ष शर्मिला पाठकले बताउनु भयो । वहाँका अनुसार एलडिएससी, रोटरी इन्टरनेशनल, रोटरी क्लव अफ काठमाण्डौ मेट्रोबाट प्राप्त सहयोग र नपुगेको रकम रोटरी क्लव अफ मेचीनगरले हालेर बाढी प्रभावित क्षेत्रका लागि परियोजना सम्पन्न गरिएको हो । झापा गाउँपालिका कार्यालयको तर्फबाट केही रकम उपलब्ध गराउने सहमति भए पनि अन्तिम अवस्थामा आएर विभिन्न प्रशासनिक जटिलता देखाएर पालिकाले रकम दिन नसक्ने जनाएको पाठकले जानकारी दिनुभयो ।
उच्च सतही चापाकल हस्तान्तरण कार्यक्रम अन्तर्गत आइतबार रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष किशोर क्षेत्री, वर्तमान अध्यक्ष दिनेश शाक्य, निर्वतमान अध्यक्ष शर्मिला पाठक, रोटरी क्लवका सदस्यहरु, सहयोगी संस्था एलडिएससीका प्रतिनिधिद्वय कार्ल जोनसोन र लिण्डा जोनसोन, विपद विज्ञ सन्तोस ज्ञवाली, रोटरी क्लव अफ काठमाण्डौ मेट्रोका किरण न्यौपाने लगायत सम्मिलित प्रतिनिधि मण्डलले झापा गाउँपालिकाको विभिन्न स्थानको स्थलगत अवलोकलन समेत गरेको थियो ।