झापा, फागुन १० । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा रूख चिन्हमा मतदान गरी कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गर्नु भएको छ ।
झापा निर्वाचन क्षेत्र नं. १ को बुद्धशान्ति–४ मा शनिवार आयोजित चुनावी कोणसभामा बोल्दै काँग्रेसले देश सम्हाल्ने भएकाले रूखमा मतदान गर्न आग्रह गर्नु भयो ।
यो चुनाव विषम परिस्थितिमा हुदैछ, शर्माले भन्नुभयो, `चुनावमा जितहार भन्दा पनि देश कसले सम्हाल्छ भन्ने मुख्य कुरा हो ।' `काँग्रेसलाई पहिलो दल बनाउनुहोस सबैपक्षलाई समेटेर देश सम्हाल्छौं,´ वहाँले भन्नुभयो ।

लहलहै र हल्लाको भरमा मतदान गर्दा २०६४ सालमा दिएको मतले संविधान बनाउन नसकेको बताउँदै हल्लाको पछि नलागी रूख चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो । `हल्लाको भरमा २०६४ मा मत हाल्दा माओवादी ठुलो पार्टी त भयो तर संविधान बनेन, शर्माले भन्नुभयो, `२०७० मा काँग्रेसलाई पहिलो दल बनाउदा संविधान बन्यो ।´
शर्माले जेनजीहरूलाई समेत विशेष आग्रह गर्दै हल्ला र अलमलमा नपरी देशको सहि नेतृत्वका लागि काँग्रेसलाई मत दिन आग्रह गर्नु भयो ।
“जेनजी तपाई हाम्रै छोराछोरी हुन्,” उपसभापति शर्माले भन्नुभयो– “उनीहरुले चाहेको मुख्य कुरा परिवर्तन हो । सरकार, दल, शासन, विकास र अर्थतन्त्रमा परिवर्तन खोजेका हुन् । यो परिवर्तनको सुरुवात नेपाली कांग्रेसले आफैबाट गरिसकेको छ ।”

कार्यक्रममा नेपाली कांग्रेसले झापा–१ को चुनावी घोषणा पत्र सार्वजनिक गरेको थियो । पार्टीका उपसभापति शर्मा, पार्टीका कोशी प्रदेश सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रत्यक्षतर्फका उम्मेद्वार केशवराज पाण्डे लगायतले घोषणा पत्र सार्वजनिक गर्नु भएको थियो ।
सो कोणसभामा उम्मेद्वार पाण्डेले क्षेत्रको विकास निर्माण र समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको जनाउँदै अमूल्य मतदान गरी बिजयी बनाउन मतदातासमक्ष अपिल गर्नु भएको थियो ।