झापा, माघ २८ । आसन्न फागनु २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले निर्वाचन परिचालन निर्देशिका जारी गरेको छ । उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले तयार गरेको निर्देशिकामा चुनावी मैदानलाई स्वस्थ प्रतिस्पर्धाका रुपमा लिनु पर्ने उल्लेख गरिएको छ । काँग्रेसको निर्वाचन परिचालन निर्देशिकामा लेखिएको छ, ‘निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो ।’
काँग्रेसले अन्य राजनितिक दल र उम्मेद्वारहरुलाई गाली नगर्ने निति अघि सारेको छ । काँग्रेसको निर्देशिकामा भनिएको छ, ‘नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ ।’
काँग्रेसले आफ्ना उम्मेद्वार र प्रचारकहरु घृणास्पद अभिव्यक्तिबाट टाढा रहने उल्लेख गर्दै व्यवहारबाटै असल व्यवहारको सन्देश प्रवाह गर्ने बताएको छ । ‘घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन, सामान्य र स्वस्थ प्रकृतिको व्यङ्ग्य निर्वाचन मैदानमा स्वभाविक हुन्छ, तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्णत संयमित र परिपक्व रहनेछ,’ निर्देशिकामा भनिएको छ ।
‘चुनाव मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार नेपाली कांग्रेसका लागि दुश्मन होइनन,’ काँग्रेसको निर्वाचन निर्देशिकामा भनिएको छ, ‘चुनावी प्रतिस्पर्धा क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकुन भनेर हामीले हाम्रो व्यवहारबाट सन्देश प्रवाहित गर्नुछ ।’