धुलाबारी, माघ १८ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी भित्र अब ६० र ४० को भागबण्डा नभएको बताउनु भएको छ । उपसभापति भए पछि पहिलो पटक गृह नगर धुलाबारीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विशेष महाधिवेशनले काँग्रेस भित्रको भागबण्डाको राजनिति बन्द गराएको बताउनु भयो ।
‘काँग्रेसमा अब ६० र ४० को अवस्था छैन,’ शर्माले भन्नुभयो, ‘काँग्रेस अब १०० भएको छ ।’ फागुन २१ को निर्वाचनमा काँग्रेस सतप्रतिशतसहित होमिएको समेत उपसभापति शर्माले बताउनु भयो ।
झापा १ को क्षेत्र स्तरिय बृहत कार्यकर्ता भेलामा बोल्दै शर्माले यस क्षेत्रका आम नागरिक यस अघि आफुलाई दिएको मतलाई आफुले विकासमा रुपान्तरण गरेका कारण रुख चिन्हमा मत हाल्न कुनै हिचकिचाहट हुनु नपर्ने बताउनु भयो । ‘२०७९ मा चुनाव जिते पछि हरेक महिना क्षेत्र आएको छु,’ शर्माले भन्नुभयो, ‘चुनाव जितेका मान्छे क्षेत्र आउँदैनन भनेर भ्रम छर्न खोजिएको छ ।’

झापा १ का काँग्रेसका उम्मेद्वार केशबराज पाण्डे यस क्षेत्रको सबै बिषयमा जानकार योग्य व्यक्ति भएकाले पनि रुख चिन्हमा मतदान गरेर पाण्डेलाई विजयी बनाउन शर्माले अपिल गर्नु भयो । ‘केशबराज पाण्डे योग्य व्यक्ति हुन,’ शर्माले भन्नुभयो, ‘वहाँ हामी सबैको प्रतिनिधि हो ।’
गगन थापालाई प्रधानमन्त्री बनाउने पाँच वटा कारण सहित शर्माले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । वहाँले भन्नुभयो, ‘पृष्ठभुमी, संस्कार, योगदान, योग्यता र भिजनका कारण गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गरिएको हो ।’

शर्माले निजि विद्यालयलाई गैर नाफमुलक बनाउने प्रावधान गलत भएको बताउँदै फागुन २१ गतेको निर्वाचन पछि बस्ने संसदले उक्त प्रावधानलाई हटाएर शिक्षा विद्येयक पारित गर्ने शर्माले दाबी गर्नु भयो । ‘निजि विद्यालयलाई गैर नाफामुलक बनाउने प्रस्ताव हटाउने हो,’ वहाँले भन्नुभयो, ‘अब बस्ने संसदले शिक्षा बिद्येयक पारित गर्ने बिषयको अगुवाई काँग्रेसले गर्छ ।’
धुलाबारीस्थीत टाउन हलमा सम्पन्न कार्यकर्ता भेलामा बोल्दै झापा १ का काँग्रेस उम्मेद्वार केशबराज पाण्डेले यस क्षेत्रका हरेक नागरिकका लागि समान रुपमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद गोपाल तामाङ, समानुपातिक उम्मेद्वारद्वय गोमा भट्टराई र राधा कार्की, काँग्रेस झापाका सभापति देउकुमार थेबे लगायतले काँग्रेसका उम्मेद्वारलाई विजयी बनाउन सबै काँग्रेस कार्यकर्ताले पाएको जिम्मेवारी पुरा गर्ने गरी प्रचार अभियानमा लाग्न आग्रह गर्नु भएको थियो ।