मेचीनगर, माघ १४ । चुनावी प्रचार अभियानमा दल तथा उम्मेद्वारहरु मतदाताका अहिले घर दैलोसम्म पुगिरहेका छन । फागुन २१ गतेको मतदानका लागि आफुलाई उत्कृष्ट साबित गर्दै मत आफुतिर तान्न यतिबेला उम्मेद्वार सहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरु चुनावी मैदानमा छन ।
झापा १ पुर्वी नेपालको सिमाना क्षेत्र हो । भारतसंग सिमाना जोडिएको मेचीनगर नगरपालिकाको सबै १५ वटा वडाहरु, बुद्धशान्ति गाउँपालिकाको ४ वटा वडा र भद्रपुर नगरपालिकाको २ वटा वडा गरी २१ वटा वडा समेटिएको झापा १ मा एक लाख ३१ हजार ६७ जना मतदाता छन । जसमा ६५ हजार ८ सय ५८ पुरुष र ६५ हजार दुई सय ९ जना महिला मतदाता रहेका छन ।
फागुन २१ को चुनावका लागि विभिन्न दलबाट प्राध्यापक, इन्जिनियरदेखि कुसल संगठक र सफल सहकारीकर्मी चुनावी मैदानमा छन । नेपाली काँग्रेसबाट उम्मेद्वार रहनु भएका केशबराज पाण्डे मेचीनगर ७, इटाभट्टा निवासी हुनुहुन्छ । वहाँ नेपाली काँग्रेसको झापा उपसभापति हुनुहुन्छ । नेपाल विद्यार्थी संघबाट राजनिति सुरु गर्नु भएका पाण्डे बिर्तामोडस्थीत कनकाई क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका पुर्व अध्यक्ष हुनुहुन्छ । धार्मिक आस्थालाई मुखरित गर्ने पाण्डेलाई पार्टी भित्र कुशल संगठकका रुपमा चिनिन्छि भने वहाँ पुर्वी क्षेत्रका सफल व्यवशायी पनि हुनुहुन्छ । मेचीनगरको मेची उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहनु भएका पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य हुनुहुन्छ । वहाँ यस अघि २०७४ को प्रदेश सभा निर्वाचनमा झापा १ को प्रदेश क तर्फ काँग्रेसका तर्फबाट उम्मेद्वार रहनु भएको थियो ।

त्यस्तै नेकपा एमालेबाट उम्मेद्वार रहनु भएका रामचन्द्र उप्रेती कुशल सहकारीकर्मीका रुपमा देशव्यापी रुपमा परिचित नाम हो । नेकपा एमालेका पुराना नेताका रुपमा स्थापित भए पनि उप्रेती पछिल्लो समय पार्टी जिम्मेवारीमा सक्रिय रहनु भएको थिएन । नेपाल बहुउद्देशीय सहकारी संस्था (एनएमसी) का पुर्व अध्यक्ष रहनु भएका उप्रेती सहकारी अभियानका अगुवा हुनुहुन्छ । सयपत्री नेपाल नामक फर्निचर व्यवशाय समेत सञ्चालन गरिरहनु भएका उप्रेती मेचीनगर ६ काकरभिट्टा निवासी हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेद्वार रहनु भएका अशेष घिमिरे इन्जिनियर हुनुहुन्छ । इलेक्ट्रोनिक तथा कम्युनिकेशन इन्जिनियर रहनु भएका घिमिरेले अनेरास्वबीयुबाट राजनितिक यात्रा सुरु गर्नु भएको हो । ‘पैसा दिएर मत नकिन्ने’ घोषणा सहित चुनावी प्रचारमा निस्कनु भएका घिमिरे नेपाली कम्युनिष्ट आन्दोलनका बारेमा गहिरो दख्खल राख्ने युवा नेतामा पर्नु हुन्छ । विश्व कम्युनिष्ट आन्दोलनका बारेमा समेत स्पष्ट दृष्टिकोण राख्ने घिमिरे मेचीनगर १० धुलाबारी निवासी हुनुहुन्छ ।

झापा १ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेद्वार रहनु भएका हेमराज कार्की पेशाले प्राध्यापक हुनुहुन्छ । केही समय मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गराउनु भएका कार्कीले लामो समय काठमाण्डौका विभिन्न क्याम्पसमा प्राध्यापन गराउनु भयो । हाल मेचीनगरको बाहुनडाँगीस्थीत एउटा शिक्षण संस्थाको नेतृत्वमा बसेर काम गरिरहनु भएका अर्थशास्त्रका विज्ञ कार्की राप्रपाको केन्द्रीय विभागमा रहेर काम गरिरहनु भएको छ । नेपालको आर्थिक रुपान्तरणको स्पष्ट खाका कोर्न सक्ने क्षमता राख्नु हुने कार्की मेचीनगर ४ बाहुनडाँगी निवासी हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार निशा डाँगी पत्रकारिता बिषयमा स्नातकोत्तर हुनुहुन्छ । यस अघिको प्रतिनिधि सभामा समानुपातिकतर्फबाट सांसद रहनु भएकी डाँगी सबैभन्दा कान्छी सांसद हुनुहुन्थ्यो । २९ बर्षिया डाँगी यो पटक झापा १ को सबैभन्दा कम उमेरकी उम्मेद्वार रहनु भएको छ । रास्वपा नेतृ डाँगी भद्रपुर १ निवासी हुनुहुन्छ ।

पहिलो पटक निर्वाचनमा होमिएको श्रम संस्कृति पार्टीका उम्मेद्वार केवलराम राई झापा काकरभिट्टा निवासी हुनुहुन्छ । वहाँले नेपाली काँग्रेसको भातृ संगठन तरुण दलमा आबद्ध रहि राजनितिक यात्रा सुरु गर्नु भएको थियो । तरुण दल मेचीनगरको तत्कालिन अध्यक्ष रहनु भएका राई काँग्रेस परित्याग गरी पहिचानवादीको आन्दोलनमा जोडिनु भएको नेता हुनुहुन्छ । पछिल्लो समय श्रमसंस्कृति पार्टीको केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा रहनु भएका राई युवा पुस्तामा खारिएको व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।
मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ) का तर्फबाट उम्मेद्वार रहनु भएका सन्तोस तामाङ मेचीनगर २ निवासी हुनुहुन्छ । सामाजिक रुपमा सक्रिय युवा व्यक्तित्व तामाङ एमएनओलाई राजनितिक रुपमा स्थापित गराउने अभियानमा विगतदेखि संघर्ष गरिरहनु भएको छ ।
विभिन्न राजनितिक दलका उम्मेद्वारकोबीचमा फरक परिचय स्थापित गर्दै झापा १ मा स्वतन्त्र उम्मेद्वार गणेश कुमार खरेल पनि चुनावी अभियानमा हुनुहुन्छ । निडर र हक्की स्वभावका खरेल नेकपा एमालेको कार्यकर्ताको पृष्ठभुमिबाट उदाएको युवा नेता हुनुहुन्छ । फोहोरको डङ्गुरले तिरस्कारमा परेको काकरभिट्टास्थीत देवकोटा पार्कलाई आजको सुन्दर पार्कको रुपमा रुपान्तरण गर्ने अभियानको नेतृत्व गर्नु भएका खरेल वर्तमानमा पुर्वकै धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा रहेको पतालगंगा धार्मिक तथा सांस्कृतिक प्रवर्धन समितिको अध्यक्ष हुनुहुन्छ । खरेलले जिम्मेवारी सम्हाले पछि पतालगंगा क्षेत्रमा सुधारका थुप्रै प्रयास समेत थाल्नु भएको छ । क्यामेरा चुनाव चिन्ह लिएर मतदाता माझ पुगिरहनु भएका खरेल मेचीनगर ८ निवासी हुनुहुन्छ ।
झापा १ मा दुई स्वतन्त्र सहित १५ उम्मेद्वार चुनावी मैदानमा छन ।