मेचीनगर, माघ १० । फागुन २१ को चुनावका लागि राजनितिक दल तथा उम्मेद्वारहरु चुनावी प्रचारमा होमिएका छन । सबै उम्मेद्वार मतदाताको मन जितेर मत जित्न चाहन्छन । तर मतदाताको मन कसरी जितिन्छ भन्ने कुरामा राजनितिक दल र उम्मेद्वारले खासै गहिरिएर सोचेको देखिदैंन । अधिकाशं मतदाताहरुको चुनावी मुड फेरिएको छ । खास गरी चुनावी कार्यक्रमहरुमा नेताहरुले गर्ने लब्बेतानको भाषण र आत्म महिमा मतदाताहरुको रुचीको बिषय होइन ।
यसपालिको चुनावमा पनि दल तथा उम्मेद्वारहरु पुरानै शैलीका कार्यक्रम लिएर मतदाता समक्ष पुगिरहेका छन । प्रचारको सुरुवात नै दलहरुले पुरानै शैलीका कार्यक्रमबाट गरे देखि यसपालि पनि दल र तिनका उम्मेद्वारले प्रचारमा नयाँ शैली अपनाउने देखिएको छैन ।

‘प्रविधिको यति धेरै विकास भइसक्यो नेताहरु भने पुरानै सोचमा चुनाव प्रचार गरिरहेका छन,’ शान्तिनगरका एक मतदाताले भन्नुभयो, ‘आफ्ना पार्टीका मान्छे भेला गरेर एक दर्जन जति नेताले भाषण गर्दछन अनि फर्किन्छन ।’ ‘चुनावमा त उम्मेद्वारको कुरा पो सुन्ने होत’ वहाँले भन्नुभयो, ‘उम्मेद्वार भन्दा धेरै चैं अरु नै बोल्छन अनि दिक्क लाग्दो हुन्छ ।’
‘मान्छेको हात हातमा मोबाइल छ,’ चारआलीका एक मतदाता भन्नुहुन्छ, ‘संसारका कुरा त्यही मोबाइलमा आउँछ हाम्रा तिरका उम्मेद्वार चैं मान्छे भेला गरेर दिक्क लाग्दो भाषण गरेर हिडिराका छन ।’
पुराना पुस्ताका मतदाताहरुले नेताको भाषण सुन्ने गरेको भए पनि नयाँ पुस्ताका मतदाताले भाषणको कार्यक्रम दिक्क लाग्दो मान्ने गरेको ज्यामिरगढीका एक जेष्ठ मतदाता बताउनु हुन्छ । ‘हामी जस्तालाई त चुनाव भनेकै उम्मेद्वार र नेताको भाषण हो जस्तो लाग्छ,’ वहाँले भन्नुभयो, ‘अहिलेका केटाकेटीले त भाषण भने पछि सुन्नै मान्दैनन, मोबाइलमा नै दिन्छ भन्छन ।’
चोक चोकमा भएर भाषण गर्नु भन्दा समय तोकेर एउटा कोठामा बसेर फेसबुक लाइभमा बोल्दा धेरै मान्छेले सुन्ने गरेको काकरभिट्टाका नयाँ पुस्ताका एक मतदाताको बुझाई छ । ‘अहिले नेताको भाषण सुन्न को जान्छ,’ वहाँले भन्नुभयो, ‘हामी त जाँदैनौं, कोठामा बसेर फेसबुक लाइभ गर्नु नि धेरैले हेर्छन ।’

चुनाव प्रचार भनेको पुराना कुरा दोहोर्याउने मात्रै नभएर नयाँ योजना के के छ भनेर मतदातालाई सुनाउनु पर्ने बाहुनडाँगीका एक मतदाताले प्रतिकृया दिनु भएको छ । ‘अब पुरानो तरिकाले भोट मागेर हुँदैन,’ वहाँले भन्नुभयो, ‘उम्मेद्वार र पार्टीका नेताले पुराना कुरा सुनाएर कसले भोट दिन्छ, अब के गर्ने भन्ने कुरा चैं सुनाउँनु पर्यो ।’
धुलाबारी चोकमा मोबाइलमा चुनावको प्रचार हेरिरहनु भएकी एक युवा मतदाताको बुझाईमा आफ्नो कुरा सामाजिक सञ्जाल मार्फत राख्दा उम्मेद्वारलाई चिन्न सजिलो हुन्छ । ‘उम्मेद्वार कस्तो हो भन्ने कुरा उसले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा राख्यो भने थाहा भइहाल्छ नि,’ वहाँले भन्नुभयो, ‘अब त भाषण पनि सामाजिक सञ्जालमै गर्दा सजिलो र धेरैलाई सुनाउन पनि सकिन्छ ।’
मेचीनगरको एउटा चिया बगानमा काम गर्ने श्रमिकका अनुसार नेताको भाषण सुन्न जाँदा आफ्नो हाजिरा बन्द हुने भएकाले बेलुका मोबाइलमा हेर्दा सजिलो हुन्छ । ‘हामी त काममा जानु पर्छ, नेताको भाषण सुन्न काहाँ भ्याउनु र,’ वहाँले भन्नुभयो, ‘बेलुका मोबाइलमा आइहाल्छ नि त्यही हेर्न सजिलो हुन्छ ।’
यी झापा १ का प्रतिनिधि पात्रहरुको कुरा सुन्दा दल तथा उम्मेद्वारहरुले गरेको पुरानो प्रचार शैलीले अबको चुनाव प्रभावकारी नहुन पनि सक्ने संकेत गरेको छ । फागुन २१ को चुनाव प्रचारको सुरुवात मात्रै भएकाले दलहरु तथा उम्मेद्वारले चुनावी शैली प्रभावकारी बनाउलान भन्ने आशा गर्न सकिन्छ ।