मेचीनगर, पुष १६ । प्रदेश सभा सदस्य निर्वाचन २०७९ को चुनावी खर्च सार्वजनिक नगर्ने झापा १ का ९ जनाले यसपालिको निर्वाचनमा उम्मेद्वार हुन नपाउने भएका छन । यसरी चुनावी खर्च सार्वजनिक नगर्नेहरुमा झापा १ प्रदेश सभा क्षेत्र ‘क’ बाट निर्वाचित सांसद नेपाली काँग्रेसका गोपाल तामाङ सहित तत्कालिन नेकपा माओवादी केन्द्रका श्यामवीर लिम्बु, तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कल्याण खड्का, जसपा नेपालका ओम प्रकाश खापुङ्ग, जसपा नेपालकै मीरा कार्की, लोसपा नेपालका रमा मेचे, लोसपा नेपालकै गंगालाल राजबंशी, नेपाल संघीय समाजवादी पार्टीका प्रकाश राई र राष्ट्रिय जनमुक्ति पार्टीका नन्द कुमार लिम्बु रहेका छन ।
वहाँहरु सबै प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा उम्मेद्वार झापा १ को प्रदेश सभा क र ख बाट उम्मेद्वार रहनु भएको थियो र कसैले पनि चुनावी खर्च सार्वजनिक नगरेका कारण यस पटकको निर्वाचनमा वहाँहरुले उम्मेद्वार हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।
संघीय निर्वाचन कसुर र सजाय ऐनले आम्दानी र खर्चको विवरण नबुझाउने दल र उम्मेदवारलाई जरिवानाको व्यवस्था गरेको छ । ऐनको दफा दफा ३१ (२) मा भनिएको छ, ‘राजनीतिक दल वा उम्मेदवारले उपदफा (१) बमोजिमको आम्दानी र खर्चको विवरण सम्बन्धित सबैको जानकारीका लागि आयोगले तोकेबमोजिम सार्वजनिक गर्नुपर्नेछ ।’
त्यसरी सार्वजनिक नगर्नेको हकमा सोही दफाको उपदफा ३ मा भनिएको छ, ‘आयोगले उपदफा (१) बमोजिमको विवरण नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन आयोगसम्बन्धी प्रचलित संघीय कानुनबमोजिम जरिवाना गर्न सक्नेछ।’ तर संघीय निर्वाचन आयोग ऐनको दफा २६ मा मा आयोगले तोकेको जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल र उम्मेदवारलाई ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन सक्ने व्यवस्था छ ।
ऐनको दफा २६ को उपदफा (३) मा भनिएको छ, उपदफा (२) बमोजिम भएको जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा अयोग्य घोषित गर्न सक्नेछ ।’