मेचीनगर, पुष ११ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेसंगै झापा १ मा वहाँको उत्तरराधिकारीका बारेमा चर्चा सुरु भएको छ । पछिल्लो तीन निर्वाचनमा उम्मेद्वार रहेर पछिल्लो पटक २०७९ को प्रतिनिधि सभा निर्वाचनमा विजयी हुनु भएका शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन बैठकमै आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने बताएसंगै काँग्रेसका तर्फबाट झापा १ मा आगामी उम्मेद्वार को बन्ने भन्ने बिषयले यतिबेला बिषेश चर्चा पाएको देखिन्छ ।
पुषको ९ गते बिहान आफ्नो क्षेत्र झापा १ का कार्यकर्ताहरुसंगको छलफलमा समेत शर्माले आगामी निर्वाचनको उम्मेद्वारका लागि तयार हुन आव्हान गर्नु भएको थियो । त्यसो त एक बर्ष अघि २०८१ पुष २१ गतेको धुलाबारीको एउटा कार्यक्रममा बोल्दै शर्माले भन्नु भएको थियो, ‘संधै म नै उम्मेद्वार हुनु पर्छ भन्ने छैन, आउने निर्वाचनमा म उम्मेद्वार नबन्न पनि सक्छु, साथीहरु तयारी गर्दै गर्नु होला ।’ उसबेला पनि शर्माको यो भनाईले आगामी निर्वाचनमा उम्मेद्वार शर्मा बाहेककै व्यक्ति बन्छ कि शर्माले ‘माइण्ड गेम’ खेलेका हुन भन्ने बिषयले चर्चा पाएकै थियो ।
तर अब परिस्थिति फेरिएको छ । शर्माले आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरिसक्नु भएको छ । अब भने झापा १ मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस भित्र उम्मेद्वारको खोजी सुरु भएको छ ।
झापा १ मा काँग्रेसका बाहिरबाट कुनै नेता आएर उम्मेद्वार बन्छन भन्ने अवस्था छैन । किन कि यहाँकै नेताहरुको व्यवस्थापन गर्न पेचिलो पर्ने अवस्थामा बाहिरबाट उम्मेद्वार ल्याउने सम्भव नहोला । तर यही भित्र पनि प्रतिनिधि सभा सदस्यको उम्मेद्वार को बन्ला त भन्ने अवस्थामा केही नामहरुका बारेमा चर्चा गर्न सकिन्छ ।
१) विमल आचार्य
विमल आचार्य नेपाली काँग्रेसका महासमिति सदस्य हुनुहुन्छ । वहाँ मेचीनगर नगरपालिकाको यस अघिको नगर प्रमुख समेत हुनुहुन्छ । झापा १ मा आगामी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेद्वारको दौडमा आचार्य पहिलो नम्बरमा देखिनु भएको छ ।
२) लोकराज ढकाल
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल नेपाली काँग्रेसका स्थापित नेता हुनुहुन्छ । मानविय सेवामा लामो समयदेखि काम गरिरहनु भएका विपद विज्ञ ढकाल झापा १ बाट आगामी प्रतिनिधि सभा सदस्यको उम्मेदवारको दौडमा दोस्रो नम्बरमा हुनुहुन्छ ।
३) केशवराज पाण्डे
नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे कुशल संगठकका रुपमा परिचित हुनुहुन्छ । विद्यार्थी कालदेखि नै राजनितिमा लाग्नु भएका पाण्डे काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला निकट मानिनु हुन्छ । झापा १ बाट आगामी निर्वाचनका लागि उम्मेद्वारको दौडमा पाण्डे तेस्रो नम्बरमा हुनुहुन्छ ।
४) इन्द्र बहादुर बुढाथोकी
नेपाली काँग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकी विद्यार्थी हुँदा देखि नै काँग्रेसको राजनितिमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । आफ्नो बचनमा चट्टानी अडान भएका बुढाथोकी काँग्रेस महामन्त्री शर्माका विश्वास पात्र मानिनु हुन्छ । आगामी निर्वाचनका लागि झापा १ मा उम्मेद्वारको दौडमा बुढाथोकी चौथो नम्बरमा हुनुहुन्छ ।
यति हुँदा हुँदै पनि एउटा बिषयमा भने केही फरक कोणबाट बुझ्न जरुरी छ । त्यो हो नाम सिफारिस गरिएका उम्मेद्वारका बारेमा । एक बर्ष अघि देखि नै अन्य नेताहरुलाई उम्मेद्वारको तयारी गर्नु भनिरहनु भएका विश्वप्रकाश शर्माको क्षेत्रबाट किन वहाँको एकल नाम उम्मेद्वारको रुपमा सिफारिस गरियो ? पार्टीको तर्फबाट केन्द्रलाई उम्मेद्वारको सिफारिस सूची पठाउने क्रममा शर्माकै विश्वास पात्रहरु रहेको क्षेत्रीय समितिले किन शर्माको एकल नाम पठायो ? किन अरु उम्मेद्वारका आकाँक्षीको नाम सिफारिसमा पारेन ?
यसले एउटा संकेत गर्न सक्छ । अन्य उम्मेद्वारको नाम समेत राखेर सिफारिस गर्दा सिफारिसमा नपरेका व्यक्तिलाई उम्मेद्वार बनाउन असहज हुन्छ । तर अब शर्माको एकल नाम सिफारिस गरिएको छ भने शर्मा उम्मेद्वार नबन्दा अन्य जो कोहीलाई पनि उम्मेद्वारको रुपमा पार्टी केन्द्रले टिकट दिएर चुनावी मैदानमा पठाउन सक्ने अवस्था बनेको छ । यस्तो अवस्थामा शर्माका विश्वास पात्र बुढाथोकीले नै उम्मेद्वारको टिकट पाउन सक्ने अवस्था पनि बन्ने देखिन्छ ।
यी माथिका नाम बाहेक पनि अन्य केही नाम उम्मेद्वारका रुपमा छन । तर वहाँहरु उम्मेद्वारको दौडमा तत्कालका लागि केही पछि नै देखिएकाले यहाँ चर्चा गरिएको छैन ।