काकरभिट्टा, पुष १० । नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट झापा १ मा प्रत्यक्ष तर्फको उम्मेद्वारका लागि पाँच जनाको नाम सिफारिस भएको छ । फागुन २१ को घोषित चुनावका लागि झापा क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फको उम्मेद्वारका रुपमा सविता भेटवाल भण्डारी, माधव अर्याल, चन्द्रा कार्की, अशेष घिमिरे र बिपी भट्टराईको नाम सिफारिस गरिएको नेपाली कम्प्युनिष्ट पार्टी झापाका इन्चार्ज पुष्प पोखरेलले बताउनु भयो ।
आज बसेको पार्टीको बैठकबाट झापाका सबै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरुको नाम सिफारिस गरिएको इन्चार्ज पोखरेलले सेतोपत्रलाई जानकारी दिनुभयो ।
झापा १ बाट प्रत्यक्ष तर्फ उम्मेद्वार सिफारिस हुनु भएका मेचीनगर ९ निवासी भण्डारी नेकपा एसकी केन्द्रीय सदस्य रहनु भएको थियो । वहाँ विद्यार्थीकालदेखि नै कम्प्युनिष्ट राजनितिमा सक्रिय हुनुहुन्छ । पञ्चायत बिरुद्धको आन्दोलनका क्रममा प्रहरी नियन्त्रणमा पर्नु भएकी भण्डारी सम्भवत देशमै सबैभन्दा कम उमेरमा जेल पर्नु भएको थियो ।
त्यस्तै उम्मेद्वार सिफारिस हुनु भएका अर्याल मेचीनगर ७ निवासी हुनुहुन्छ । नेकपा मओवादी केन्द्रको झापाका स्थापित नेता रहनु भएका अर्याल झापा १ को भुगोलमा कुशल संगठकका रुपमा परिचित हुनुहुन्छ ।
त्यसैगरी उम्मेद्वार सिफारिस हुनु भएकी कार्की जसपाकी नेता हुनुहुन्छ भने घिमिरे नेकपा एसका केन्द्रीय राजनितिमा स्थापित नेता हुनुहुन्छ । प्रत्यक्ष तर्फको उम्मेद्वारका रुपमा सिफारिस हुनु भएका भट्टराई नेकपा एसका झापा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।
नेकपाले झापा १ बाट समानुपातिक तर्फ मुकुलचन्द्रसिंह राजबंशी, कोविलाल मेचे, परशुराम शंकर, तारा राज ओली, उदय बराइली, तारा रुचाल र सुर्य बहादुर बि.क को नाम सिफारिस गरेको छ ।