धुलाबारी, कार्तिक २४ । नेकपा एमाले मेचीनगरले भोलि कार्तिक २५ गते मोटरसाइकल र्याली गर्ने भएको छ । संसद पुनस्थापनाको माग गर्दै मोटरसाईकल र्यालीको आयोजना गरीएको एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले जानकारी दिनु भयो ।
मोटरसाइकल र्यालीका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले भन्नुभयो, `लोकतन्त्र हरण भएको अवस्था छ, संसद विघटन गैरसंवैधानिक हो, त्यसैले संसद पुनस्थापना हुनु पर्छ भन्ने कुरामा एमाले अडिक छ ।´
`जेनजी पुस्ताले राखेको मागमा एमालेको समर्थन रहेको समेत बताउनु भयो । नेकपा एमाले जेनजी पुस्ताको मागको समर्थन गर्छ,´ पत्रकार सम्मेलनमा कार्कीले भन्नु भयो, `तर जेनजी आन्दोलनका नाममा भएको अपराधमा संलग्नहरूमाथी तत्काल कारबाहीको माग पनि गर्दछौं ।´
भोलि हुने मोटरसाइकल र्यालीमा दुई हजार ४० वटा मोटरसाईकल सहित नेता कार्यकर्ता सहभागि हुने र्याली धुलाबारी चोकबाट सुरू भई बजार हुदै होलिबेल स्कुलबाट पश्चिम हुदै माथिल्लो धाईजन चोक निस्केर चारआलीमा समापन गरिने अध्यक्ष कार्कीले बताउनु भयो ।
पत्रकार सम्मेलनमा एमाले नेता बिष्णु प्रसाई, हरिचरण बानिया, केन्द्रिय सदस्य तथा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, भिम खवास, अनेम संघ मेचीनगर अध्यक्ष जानुका ओली, एमाले क्षेत्रीय संयोजक कृष्ण कनाललगायतको उपस्थिति रहेको थियो ।
एमाले मेचीनगरका उपाध्यक्ष कञ्चन तामाङले स्वागत मन्तव्य गरेको पत्रकार सम्मेलन सचिव सागर ओलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
