झापा, भदौ ४ । झापाको मेचीनगर नगरपालिका कार्यालयले खर्च सम्बन्धी कार्यविधि २०८३ जारी गरेको छ । साउन २५ गते स्थानीय राजपत्रमा प्रकासित गरेको खर्च सम्बन्धी कार्यविधिले नगरका कर्मचारीहरुले पाउने इन्धन खर्चदेखि सञ्चार खर्चको समेत व्यवस्था गरेको छ । त्यस्तै नगरपालिका भित्र हुने तालिम तथा गोष्ठिहरुमा हुने खर्चलाई समेत कार्यविधिले नियमन गरेको छ । कार्यविधिले बैठक भत्ता सम्बन्धी मापदण्ड समेत तय गरेको छ ।
कार्यविधि अनुसार मेचीनगरका कर्मचारीहरुले पाउने इन्धनलाई कर्मचारीको तह र जिम्मेवारी अनुसार निर्धारण गरिएको छ । जस अनुसार प्रमुख प्रशासकिय अधिकृतका लागि चारपाँग्रे सवारी साधनमा मासिक ८० लिटर पेट्रोल वा डिजल नगरपालिकाले उपलब्ध गराउने छ । प्रमुख प्रशासकीय अधिकृतका लागि नगरपालिका क्षेत्रभन्दा बाहिर नगरकै कामका शिलशिलामा जानु परे थप इन्धन उपलब्ध गराईने कार्यविधिमा उल्लेख गरिएको छ ।
त्यस्तै अधिकृतस्तर दशौं र नवौंका लागि चारपाँग्रे सवारी साधन भए मासिक ३० लिटर पेट्रोल वा डिजल तथा दुई पाँग्रे सवारी साधन भए मासिक १५ लिटर पेट्रोल उपलब्ध हुनेछ । त्यस्तै प्रशासन तर्फ अधिकृत स्तर सातौं र आठौंका लागि दुई पाँग्रे सवारी साधन मात्रैका लागि मासिक १० लिटर पेट्रोल, प्राविधिक तर्फ अधिकृतस्तर सातौं र आठौंका लागि मासिक १५ लिटर पेट्रोल उपलब्ध हुनेछ ।
त्यसैगरी अधिकृतस्तर छैठौं, वडा सचिव र वडा स्वास्थ्य इकाई प्रमुखका लागि मासिक ८ लिटर पेट्रोल उपलब्ध हुनेछ भने इन्जिनियर छैठौंका लागि मासिक १२ लिटर पेट्रोल उपलब्ध हुनेछ ।मेचीनगरमा कार्यरत सहायकस्तर पाँचौं (प्राविधिक/वडा तथा अन्य प्राविधिक) का लागि मासिक ८ लिटर पेट्रोल उपलब्ध हुनेछ । त्यस्तै सहायकस्तर पाँचौं प्रशासनिक तर्फकालाई मासिक ५ लिटर पेट्रोल उपलब्ध हुनेछ । सहायकस्तर चौथोलाई मासिक ५ लिटर र अन्य श्रेणी विहिन कर्मचारीलाई मासिक ४ लिटर पेट्रोल नगरपालिकाले उपलब्ध गराउने खर्च कार्यविधिमा उल्लेख गरिएको छ ।
त्यसैगरी कार्यविधिले नगरका कर्मचारीहरुले माउने सञ्चार खर्च बापतको रकम समेत निर्धारण गरेको छ । जसअनुसार प्रमुख प्रशासकीय अधिकृतले सञ्चार खर्च बापत मासिक १३००।– अधिकृतस्तर दशौं र नवौंले मासिक १०००।– अधिकृतस्तर सातौं र आठौंले मासिक ७००।– शाखा प्रमुख र वडा सचिवले मासिक ५००।– सबइन्जिनियर र वडा प्राविधिकले मासिक २००।– सञ्चार खर्च पाउनेछन ।
कार्यविधिले नगरपालिकाले आयोजना गर्ने विभिन्न प्रकारका बैठकको भत्ता, यातायात खर्च, विभिन्न तालिम तथा गोष्ठीका सहजकर्ता र कार्यपत्र प्रस्तुतकर्ताहरुको समेत पारिश्रमिक रकम उल्लेख गरेको छ ।