झापा, कात्तिक २३ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी प्रथम झापा महिला गोल्डकपको उपाधी भिडन्त दुई विभागिय टिमबीच हुने भएको छ । भोलि हुने फाइनलमा एपिएफ क्लव र पुलिस क्लव प्रतिस्पर्धा गर्ने भएका हुन । हिजो भएको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेसंगै फाइनलमा पुलिससंगको भिडन्त पक्का गरेको हो । त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको छ ।
खेलको सुरुवातदेखि नै दुबै टोली आक्रमणमुखी खेलशैलीमा उत्रिएका थिए । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि खेल बराबरीको रफ्तारमा अघि बढ्यो । तर, ६३ औँ मिनेटमा आर्मीले अग्रता लिन सफल भयो । डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन ।
८१ औँ मिनेटमा एपिएफकी कप्तान अनिता बस्नेतले दिएको क्रसमा रश्मिकुमारी घिसिङको हेडर गोलपोस्टको दिशा चुक्यो । तर, इन्ज्युरी समयमा खेलमा नाटकीय मोड आयो । आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपिएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो । कप्तान अनिताको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १–१ बराबरीमा पुग्यो ।

निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो । टाइब्रेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोकिन । आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके, जबकी विमला चौधरी र सुस्मिता चौधरीको प्रहार एपिएफकी अञ्जना राना मगरले बचाइन ।
उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन । कार्तिक २४ अर्थात भोलि हुने फाइनलको विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।