झापा, कार्तिक १८ । झापाको दुधेमा सुरु प्रथम झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस क्लव सानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसका तर्फबाट मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे । रेखाले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन । त्यस्तै, मिनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गरिन ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउबा भइन । उनले नगद १५ हजार र ट्रफी पाइन । उनलाई प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले ट्रफी प्रदान गरेका थिए । आजको खेल एपिएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिनुभयो । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन ।