मेचीनगर, कात्तिक १५ । प्रथम झापा महिला गोल्डकप कार्तिक १७ गतेदेखि हुने भएको छ । यस अघि कार्तिक आज १५ देखि सुरु हुने भनिएको गोल्डकप प्रतिकुल मौषमका कारण दुई दिन पछि सारिएको आयोजक समितिले जनाएको छ ।
यस अघि सार्वजनिक भएको खेल तालिका अनुसार नै दुई दिन पछि सारेर गोल्डकपका खेलहरु हुने झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार कार्तिक १७ गते उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ ।
त्यस्तै, दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ । झापा महिला गोल्डकपको तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।
चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल कात्तिक २२ गते हुनेछ । झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
यसैबीच, प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनुभयो । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।
गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ । शिवसताक्षी नगरपालिकाको दुधे रंगशालामा हुने गोल्डकपको विजेताले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ भने उपविजेताले नगद पाँच लाख पाउनेछ । त्यस्तै सर्बोत्कृष्ट खेलाडीले नगद एक लाख ५० हजार पाउने आयोजक समितिका अध्यक्ष थोप्राले जानकारी दिनुभयो ।
गोल्डकपको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन भने हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख खरेलले जानकारी दिनुभयो ।
झापा महिला गोल्डकपमा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबले खेल्दैछ । त्यस्तै भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब पनि गोल्डकपमा सहभागि हुने निश्चित भएको छ ।