झापा, जेठ २० । फ्रेन्चाइज क्रिकेटको सर्वाधिक लोकप्रिय प्रतियोगिताका रुपमा रहेको इन्डियन प्रिमियर लिग (आईपिएल) को १८ औं संस्करणको फाइनल खेल आज हुँदैछ । उपाधी भिडन्तमा आज राति ७ः४५ बजे पञ्जाब किङ्स र रोयल च्यालेन्जर बेँगलुरु खेल्दैछन । आज जुन टिमले उपाधी जिते पनि आईपिएलले नयाँ विजेता पाउने छ । अहिलेसम्म उपाधी जित्न नसकेका पञ्जाब र बेंगलुरुले आज फाइनलमा एक अर्का बिरुद्ध खेल्दैछन ।
कुल १० टिम सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट ४ मा मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, रोयल च्यालेन्जर बेँगलोर र गुजरात टाइटन्सले उपाधिका लागि प्लेअफको यात्रा तय गरेका थिए । अंक तालिकाको आधारमा पञ्जाब र बेँगलुरु क्वालिफायर १ मा भिडेका थिए, पञ्जाबलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै बेँगलुरु फाइनल पुग्ने पहिलो टोली बनेको थियो ।
फाइनल यात्राका लागि एलिमिनेटर १ मा गुजरात र मुम्बई बिच भिडन्त भएको थियो । उक्त खेलमा मुम्बईले गुजरातलाई २० रनले पराजित गर्दै क्वालिफायर २ मा आफूलाई सुरक्षित गरेको थियो । लिगको अंक पहिलो स्थानमा रहेको पञ्जाब क्वालिफायर १ मा बेँगलुरुसँग पराजित भए पनि क्वालिफायर २ मा इलिमिनेटर १ विजेतासँग पुनः भिड्न गर्ने मौकालाई सदुपयोग गर्दै मुम्बईलाई ५ विकेटले पराजित गर्दै पञ्जाबले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
क्वालिफायर १ मा निकै फितलो प्रदर्शन गरेको पञ्जाबले क्वालिफायर २ मा मुम्बईसँगको खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । मुम्बईले दिएको २०४ रनको लक्ष्य पाएको पञ्जाबले कप्तान श्रेयश ऐयरको उत्कृष्ट पारी (४१ बलमा ८७ रन) को मद्दतले १ ओभर बाँकी छँदै ५ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाएको थियो । पञ्जाबले मुम्बईको छैटौँ पटक उपाधि जित्ने सम्भावनालाई क्वालिफायर २ मा समाप्त पारेको थियो ।
आईपिएलको १८ औँ संस्करणसम्म आइपुग्दा फाइनल भिडन्त हुने दुवै टोलीले हालसम्म उपाधि हात पार्न सकेका छैनन । जुन टोलीले फाइनल जिते पनि उपाधि पहिलो हुनेछ । यसअघि सम्पन्न प्रतियोगिताबाट मुम्बई र चेन्नइ ५—५ पटक, कोलकाता नाइट राइडर्स ३, राजस्थान रोयल्स, डेक्कन चार्जर्स, गुजरात टाइटन्स र सनराइजर्स हैदरावादले १—१ पटक उपाधि चुमेका छन । यसअघि सम्पन्न १७ वटा संस्करणमा पञ्जाब ५ पटक लिग चरण पार गरी प्लेअफसम्म स्थान बनाउन सकेको छ । पन्जाब एक पटक (२०१४) मात्र फाइनलमा स्थान बनाउन सफल रहेको थियो । २०१४ मा बेँगलुरुमा भएको सातौँ संस्करणको प्रतियोगितामा पञ्जाबलाई कोलकाता नाइट राइडर्सले ३ विकेटले पराजित गर्दै उपाधि जित्नबाट रोकेको थियो ।
आईपिएलमा सर्वाधिक फ्यान फलोइङको तेश्रो स्थानमा रहेको र अभागी टोली भनेर चिनिने रोयल च्यालेन्जर बेँगलुरुले १८ औँ संस्करणसम्म आइपुग्दा ९ पटक प्लेअफ यात्रा तय गरेको छ । बेँगलुरु २००९, २०११ र २०१६ गरी ३ पटक फाइनलमा प्रवेश गरे पनि उपाधि भने जित्न सकेको छैन । २००९ मा डेक्कन चार्जर्ससँग ६ रनको झिनो अन्तरले पराजित भएको बेँगलुरु २०११ मा चेन्नइसँग ५६ रनको फराकिलो अन्तरले हार ब्यहोर्दै स्तब्ध भएको थियो । २०१६ मा पुनः फाइनल यात्रा तय गरे पनि सनराइजर्स हैदरावादसँग ८ रनको अन्तरले पराजित भएसँगै आईपिएल उपाधि विहीन बन्न पुगेको थियो ।
नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा मंगलबार नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुने फाइनल खेलमा दुई टोलीमध्ये जसले जित हासिल गरे पनि १८ औँ संस्करणको आईपिएलबाट थप एक टोलीले आईपिएल विजेताको ताज पहिरिँदै इतिहासमा नाम लेखाउने छ ।