कात्तिक १९, झापा । नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले आईसीसी टी २० विश्वकप एसिया छनोटको उपाधि जितेको छ । आज भएको खेलको सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए । तर पहिलो बलमै नेपालले कुशल भुर्तेललाई गुमायो । त्यसपछि आएका कुशल मल्लले २ चौका प्रहार गरेपनि नेपाललाई हारबाट बचाउन सकेनन् । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्यसहित मैदान उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८४ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।
अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा सन्दीप लामीछानेले २ विकेट र १ रन आउटसहित ३ विकेट लिएका थिए । तर अन्तिम बलमा २ रन चाहिएको अवस्थामा फैयाज बट रन आउट हुँदा खेल बराबरीमा रोकियो । ओमानका लागि ओपनर कश्यप प्रजापतिले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका उनी अविनाश बोहराको बलमा रोहित पौडेलबाट क्याच आउट भए । ओमानका अकिव इलियासले ३३ र जिसन मक्सुदले २६ रन बनाए ।
नेपालका लागि करण केसी र सन्दीप लामीछानेले समान २/२,सोमपाल कामी, गुल्सन झा, विवेक कुमार यादव, अभिनाश बोहरा, समान १/१ विकेट लिए ।
त्यसअघि नेपालले कप्तान रोहित पौडेल र गुल्सन झाको अर्धशतकीय पारीको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । खेलमा गुल्सनले टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाए । उनले २० बलमा ४ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
नेपालका कप्तान रोहित पौडेलले टी–२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाउने क्रममा ३६ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे । ओमानका लागि बलिङमा विलाल खानले ३, अकिव इलियासले २ र कप्तान जिसन मक्सुदले १ विकेट लिए ।