झापा, भदौ १५ । झापाका आमा र छोरीले सृजना गरेको साहित्यिक कृति एक साथ सार्वजनिक भएको छ । झापा भद्रपुर निवासी आमा लता खरेल र छोरी सफलता फुयलको फरक फरक कृति शनिवार एक समारोहकाबीच लोकार्पण गरिएको हो ।
भद्रपुर पुस्तकालयको आयोजनामा गरिएको पुस्तक लोकार्पण कार्यक्रममा आमा लताको मुक्तक संग्रह ‘शिशिरको जुन’ र छोरी सफलताको कविता संग्रह ‘आभा’ एकसाथ सार्वजनिक गरिएको छ ।
वीरेन्द्र माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्य र भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको विशेष आतिथ्यमा दुवै कृति सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा साहित्यकार कृष्ण सुवेदी निराकार, लक्ष्मी रायमाझी, रोम अधिकारी, उमेश लुइँटेललगायतले ‘शिशिरको जून’ र ‘आभा’ का मुक्तक तथा कविता वाचन गरेका थिए । कार्यक्रममा लताको ‘शिशिरको जून’ माथि साहित्यकार चूडामणि वशिष्ठले समीक्षा प्रस्तुत गर्नु भएको थियो भने सफलताको ‘आभा’ माथि साहित्यकार नमुना निरौला दाहालले समीक्षा गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यिक व्यक्तित्वहरु कविराज न्यौपाने, केशव आचार्य, डा. रत्नमणि नेपाल, हरिप्रसाद अधिकारी ‘यात्री’, वीरेन्द्र माविका प्रधानाध्यापक खिलाराज कोइराला, दुर्गा मावि गरामनीका प्रधानाध्यापक लक्ष्मी सिवाकोटी, साहित्यकार निर्मला कोइराला, केसु विरही, बाबुराम पोखरेल, पत्रकार चन्द्र भण्डारीलगायतले कृतिका बारेमा चर्चा गर्दै जिल्लाकै पुरानो पुस्तकालयले पुर्नजिवन पाएसंगै स्थानीय साहित्यिक गतिविधिलाई थप ऊर्जा दिने धारणा राखेका थिए ।

पुस्तकालयका संयोजक चिन्तामणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बालकवि सफलताले स्वागत गर्नु भएको थियो भने साहित्यकार लीला अनमोल र शिक्षक तुलसी खरेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कवि तथा मुक्तककार लता खरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
