मेचीनगर, साउन ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरको पाँचौँ नगर अधिवेशन हिजो झापाको धुलाबारीमा सम्पन्न भएको छ । शनिवार पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठान(टाउन हल) मा सम्पन्न अधिवेशनले चन्द्र निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । राप्रपाका पुराना नेताका रुपमा परिचित निरौला मेचीनगर ७, जोरसिमल निवासी हुनुहुन्छ । नगरका पुर्व सचिवका रुपमा काम गरिसक्नु भएका निरौला २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका तर्फबाट मेचीनगर ७ को वडा अध्यक्षमा उम्मेद्वार रहनु भएको थियो ।
राप्रपा मेचीनगरको चार वर्षे कार्यकालका लागि निरौलाको अध्यक्षतामा २१ सदस्यीय नगर समिति चयन भएको हो । अधिवेशनले सूर्यबहादुर राई, राजननाथ वेडारी, कृष्णबहादुर खड्का, चन्द्रप्रसाद सुवेदी, पर्शुराम पराजुली, गिरीराज पौडेल, शारदा पराजुली, मनिता गिरी, धनमाया गौतम, अस्मिता खरेल, सन्तोष भट्टराईलाई नगरसदस्यको रुपमा चयन गरेको छ ।
त्यस्तै हुमनाथ बराल, भक्तिप्रसाद गौडतौला, लक्ष्मणकुमार लिम्बु, देविमाया शिवाकोटी, बासुदेव उप्रेती, कुशुम कटुवाल, गोविन्द न्यौपाने, खड्ग श्रेष्ठ र ईन्द्रबहादुर थापा पनि सदस्यमा चयन भएको निर्वाचित समितिका संयोजक टंक कटुवालले नाम घोषणा गर्नु भएको थियो ।

नवनिर्वाचित भएका सदस्यहरु मध्येबाट पार्टि विधान अनुसार एक बरीष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष र एक सहसचिव नगरसमितिको बैठकले मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष निरौलाले बताउनु भयो । निरौलाका अनुसार नगरसमितिको निर्वाचित संख्याको २५ प्रतिशत संख्या अध्यक्षले मानोनित गर्ने व्यवस्था छ ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नगर अधिवशेनमा केन्द्रीय सदस्यहरु खुश्बु ओली, नरेन्द्रकुमार खड्का लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । राप्रपा मेचीनगर अध्यक्ष सविना बजगाईको सभापतित्वमा सम्पन्न भएको नगरअधिवशेन पछि अध्यक्ष बजगाईले नवनिर्वाचित अध्यक्ष निरौलालाई माइन्यूट हस्तान्तरण गरेर कार्यभार सुम्पनु भएको थियो भने अध्यक्ष निरौलाले प्रतिबद्वता मन्तव्य व्यक्त गर्नु भएको थियो ।