मेचीनगर, वैशाख ८ । मेचीनगरका अधिकांश सामुदायिक विद्यालयले अविभावक सहयोगका नाममा विद्यार्थी भर्ना गर्दा चर्को शुल्क असुल्ने गरेको पाइएको छ । अंग्रेजी शिक्षाका लागी होस या विद्यालय सञ्चालनका लागी भन्दै सामुदायिक विद्यालयहरुले घुमाउरो तरिकाबाट (चोर बाटोबाट) शुल्क असुल्ने गरेको पाइएको हो ।
मुलुकको ‘अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७’ परिच्छेद २ को ५ नं बुँदामा माध्यमिक तहसम्मको शिक्षामा शुल्क लिन नपाइने भनेर लेखिएको छ । उक्त बुँदामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक वापतको रकम केहीपनि लिन नपाइने भनिएको छ । तर सामुदायकि विद्यालय भने वालशिक्षादेखी नै अविभावक सहयोग भन्दै रकम उठाउँदैछन् । कक्षा अनुसार फरकफरक चर्को शुल्क लिने गरेकाले अविभावकहरु पनि यसबारेमा असन्तुष्ट छन् ।
मेचीनगर ५ मा रहको बाल कल्याण माविले विद्यालय सञ्चालनका लागी अविभावकको सहयोग भन्दै कक्षा एक लाई दुई सय, कक्षा दुई लाई तिन सय, कक्षा तिन लाई चार सय गर्दै कक्षा १० लाई ११ सयसम्म शुल्क लिने गरेको खुलेको छ । आफ्नै विद्यालयमा कक्षा उतिर्ण गरेका विद्यार्थीलाई विद्यालयले शुल्क लिने गरेको पाइएको हो ।
यसबारेमा विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेसगँ बुझ्दा उहाँले भर्ना गर्दै खेरी अविभावकसगँ शुल्क लिने गरेको स्वीकार्नुभयो । ‘विद्यालय सञ्चालनका लागी मसलन्द भन्दै २५ हजार रकम मात्रै आउँछ, यतिले केहीपनि पुग्दैन, विद्यालयको निजि स्रोतबाट शिक्षक पाल्नुपरेको छ ।’ उहाँ भन्नुहुन्छ ‘विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नका लागी पनि रकम हुँदैन त्यसैले अविभावकबाट सहयोग लिएका हौँ ।’
उहाँका अनुसार विद्यालयमा मावि तहका एक जनाको मात्रै दरबन्दी छ । एकजना मावि शिक्षकलाई विद्यालयले नै तलब दिनुपर्ने अवस्था छ । जसका कारण विद्यालयले आन्तरिक स्रोत व्यवस्थापन गर्न नसकेर अविभावकसगँ सहयोग लिएको उहाँको दाबी छ । ‘विद्यालयको आयस्रोत छैन, त्यसैले सञ्चालनका लागी सहयोग लिएका हौँ ।’ उहाँ भन्नुहुन्छ ।
२०३१ सालमा स्थापना भएको यस विद्यालयमा ३ सय ५० विद्यार्थी अध्यनरत् छन् । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयबाट यसपाली ३२ जनाले एसईई परीक्षा दिएको विद्यालयको तथ्यांकले देखाएको छ ।
मेचीनगरको यस विद्यालयले मात्रै होइन अन्य पनि अधिकांश विद्यालयले शुल्क उठाउने गरेका छन् । मेचीनगर ६ मा रहेको काँकरभिट्टा माविले त झन अंग्रेजी शिक्षा भन्दै कक्षा ८ का विद्यार्थीबाट बार्षिक १३ हजारसम्म रकम लिने गरेको खुलेको छ । त्यसैगरी यस माविले कक्षा एक मा एक सय, दुईमा दुई सय, तिनमा तिन सय, चार र पाँचमा नौ सयसम्म लिने गरेको जनाइएको छ । यसैगरी कक्षा छ मा १२ सय, कक्षा ७ मा १५ सय, कक्षा ९ र १० मा १८ सय शुल्क लिने गरेको पाइएको हो ।
यसैगरी मेचीनगर ८ मा रहेको आदर्श माविले पनि विद्यालय सञ्चालनका लागी र अंग्रेजी शिक्षा पढाउने भन्दै भर्नाका क्रममा रकम लिने गरेको खुलेको छ । विद्यालयले अंग्रेजी माध्यमको शिक्षा भन्दै वालविकासदेखी कक्षा नौ मा अध्यन गर्ने विद्यार्थी मार्फत आठ हजारसम्म रकम लिने गरेको पाइएको हो ।
‘अंग्रेजी शिक्षाका लागी खर्च अत्यन्त धेरै छ त्यसकारण साना कक्षामा १५ सयदेखी नौ कक्षाकालाई आठ हजारसम्म रकम लिने गरेका छौँ ।’ विद्यालयका प्रधानाध्यापक कृष्ण पुरी भन्नुहुन्छ ‘विद्यालय व्यवस्थापन समिती, स्थानीय जनप्रतिनिधि, अविभावक, विद्यार्थी सबैको सहमतीमा नै शुल्क लिने गरेका हौँ, यसमा सबैको सहमती छ ।’
उहाँका अनुसार अंग्रेजी शिक्षाका लागी मात्रै हौइन विद्यालयले नेपाली माध्यमबाट अध्यन गर्ने विद्यार्थीलाई पनि शुल्क लिने गरेको छ । जसअनुसार कक्षा ६, ७ र ८ मा १ हजार लिने गरिएको छ भने ९ र १० लाई २ हजार शुल्क लिने गरिएको छ । ‘शुल्क लिने व्यवस्था भएपनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका अविभावकलाई भने अनिवार्य छैन ।’ उहाँ भन्नुहुन्छ ।
उता मेचीनगर २ मा रहेको मेची जनसाधरण माविले पनि अविभावकको सहयोगका रुपमा भर्नाका क्रममा शुल्क लिने गरेको प्रधानाध्यापक चन्द्रशेखर गुराँगाइ स्वीकार्नुहुन्छ । ‘विद्यालयका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, अविभावकहरु सबैको सहमतीमा नै निश्चित रकम लिने गरेका हौँ ।’ उहाँ भन्नुहुन्छ ‘सरकारले दिएको सीमित रकमले विद्यालय सञ्चालन गर्न नसकिने भएकाले शुल्क लिने गरेका हौँ ।’
यसैगरी सरकारले दिएको दरबन्दी अनुसार शिक्षक अभाव हुने र निजि स्रोतबाट शिक्षक राख्नुपर्ने भएकाले पनि अभिभावकहरू सँग सहयोग स्वरूप सामान्य रकम लिने गरेको धुलाबारी नमूना माविका प्रधानाध्यापक महेन्द्र विलास लुइटेल बताउनुहुन्छ । सरकारले माध्यमिक तहसम्म शिक्षामा कुनैपनि वाहनामा शुल्क लिन नपाइने भनेर भनेपनि विद्यालयहरु भने विद्यालय सञ्चालनका लागी भन्दै घुमाउरो तरिकाबाट अविभावकसगँ शुल्क उठाइरहेका छन् । जसलाई अनुगमन नियमन गर्ने निकाय भने मौन छ ।
यस विषयमा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी विद्यालय सञ्चालन गर्ने अवस्था नै नभएर केही रकम उठाउन विद्यालयहरु बाध्य भएको बताउनुहुन्छ ।
‘सरकारले निशुल्क शिक्षा भनेपनि विद्यालय सञ्चालन गर्ने खर्च कतैबाट उपलब्ध हुँदैन, विद्यालयमा फर्निचर बिग्रन्छन, खानेपानी, बिजुली बत्तीको बिलको कुरा हुन्छ, शौचालय सरसफाईको कुरा जोडिन्छ यी सबैलाई विद्यालयले धान्न नसक्ने भएर अविभावकसगँ सहयोग लिएका हुन् ।’ शिक्षा शाखा प्रमुख भण्डारी भन्नुहुन्छ ‘यी रकम पनि अत्यन्त धेरै लिन भने पाइँदैन र शुल्क तिर्न नसक्नेलाई निशुल्क शिक्षाको व्यवस्था गरिनुपर्छ, हामीले यस विषयमा निगरानी गरिरहेकै छौँ ।’