झापा, चैत ११ । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष राजकुमार कार्की (राजु) ले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ ।
पाँचवटा वस्तुगत व्यवसायी संघको साझा समर्थनमा उहाँले देशभरीका उद्योगी व्यवसायीहरुको साझा संस्था तथा उद्योगी व्यवसायीहरुको भरोसाको केन्द्र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उमेद्वारी दिनुभएको हो ।
महासंघको यहि २८ र २९ गते ५७ औँ बार्षिक साधारण सभा हुँदैछ । जसले नेतृत्व चयन गर्नेछ । उक्त नेतृत्वका लागि केन्द्रीय सदस्य पदमा उहाँले उमेद्वारी दिनुभएको आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै अलैँची व्यवसायी महासंघले जानकारी गराएको हो ।
उहाँलाई पूर्वी क्षेत्रमा रहेका सात वटा वस्तुगत संघहरु मध्ये पाँच वटाको समर्थन रहेको जानकारी गराइएको छ । भेनियर, कुचो, सुपारी, अलैँची लगायतका वस्तुगत संघहरुको साझा प्रतिनिधित्व गर्दै उहाँले उमेद्वारी दिनुभएको पत्रकार सम्मेलन मार्फत अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो ।
‘यसभन्दा अघि नेतृत्वमा पुग्न प्रयास गरिएपनि हुन सकिरहेको थिएन, यसपल्ट भने उद्योग व्यवसायको क्षेत्रमा निरनतर संघर्षरत, उद्योगी व्यवसायीको क्षेत्रमा चट्टान झैँ उभिने साहसी व्यक्तित्वलाई उमेद्वार बनाएका छौँ ।’ उहाँले भन्नुभयो ‘हामी पक्कै सफल हुनेछौँ, सबैले साथ दिनुहुनेछ ।’
उमेद्वारी घोषणाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अलैँची व्यवसायी महासंघका पदाधिकारीहरु तथा सबै वस्तुगत संघहरुको प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।